बैंक डुब्छ वा डुब्दैन ? निक्षेपकर्ताहरु कसरी सुरक्षित छन् ?

-



     सफल आवाज    
     फागुन २० गते २०८० मा प्रकाशित



काठमाडौं, २० फागुन । अहिले नेपालमा केहि ब्यक्तिहरु फलानो बैंक डुब्छ भन्दै बिभिन्न मिडियामा बोलिरहेका भेटिन्छन् । केहिले बैंकिङ्ग तथा आर्थिक क्षेत्रभन्दा बाहिरका क्षेत्रका बिज्ञहरुले तथ्यभन्दा बाहिरका कुराहरु गरिदिनाले भ्रम पैदा हुनपुगी बैंकप्रति नकरात्मक बातावरण बन्न पुगेको छ ।

जसरी कुनै एकजना ईन्जिनियर वा पाईलटले आफू पढेलेखेको भयो भन्दैमा कुनै बिरामीलाई पेटको अपरेशन गर्नुपर्छ भनेर सल्लाह दिंदा गलत हुनसक्छ, त्यसरी नै एउटा क्षेत्रको बिज्ञले अर्थ क्षेत्रको बिश्लेषण गर्दा गलत सूचना प्रवाह हुन सक्छ । मानिस सबै क्षेत्रमा बिज्ञ हुंदैन र यो बिज्ञ शब्दसंग एउटा ठूलो जिम्मेवारी पनि जोडिएको हुनाले यसतर्फ सजग हुनुपर्छ ।

गत बर्ष अमेरिकाको सिलिकन भ्याली बैंक असफल भएको थियो । बैंकको असफलतापछि जे एन्थोनी कुकसनको अनुसन्धानमा बैंक असफल हुनुमा सामाजिक सञ्जालको ठूलो भूमिका रहेको निष्कर्ष निकालेका थिए । कुकसनको अनुसन्धानमा त्यतिबेला मानिसहरुले सिलिकन डुब्न लाग्यो भन्दै ट्विटर, फेसबुक जस्ता बिभिन्न सामाजिक सञ्जालहरुमा पोष्ट गरेका कारण बैंकले निक्षेपकर्ताहरुको बिश्वास गुमाएको बताएका छन् ।

के बैंक डुब्छ त ?

यसमा कुनै दुईमत छैन कि, बैंक पनि डुब्न सक्छ । बैंक डुब्दैन भन्न मिल्दैन र संसारमा बिभिन्न समयमा बिभिन्न बैंकहरु डुबेका उदाहरणहरु पाउन सकिन्छ । मानिस पनि मर्छ तर, अहिल्यै वा केहि समयमा मर्छ भनेर ठोकुवा गर्नको लागि या कुनै ठूलो दुर्घटना हुनुपर्छ या कुनै रोग लागेको जानकारी हुनुपर्छ । त्यसैगरी बैंक डुबिहाल्छ भन्नको लागि पनि त्यस्तै बिशेष कारणको बारेमा जानकारी हुनुपर्छ र बैंकको बिरामीको जानकारी राखिराख्ने डाक्टर भनेको नेपाल राष्ट्र बैंक हो जसले नियमित रुपमा बैंकहरुलाई जाँचिरहेको हुन्छ ।

यदि कुनै बैंक समस्यामा पर्न लागेको छ भन्ने नेपाल राष्ट्र बैंकलाई लाग्यो भने त्यसलाई सुधार गर्नको लागि सचेत वा निर्देशन बैंकलाई दिन्छ । जस्तै ः कुनै बैंकले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुंजीकोष पुर्याउन सकेन भने बैंकको अवस्थालाई मध्यनजर गरेर बैंकलाई शिघ्र सुधारात्मक कारवाही प्रक्रिया अगाडी बढाउँछ ।

बैंकका उच्च ब्यवस्थापनसंग छलफल गर्ने, पुंजीकोष पुर्याउन निर्देशन दिने, पुंजीकोष योजना माग्ने र सोही अनुसार कार्यान्यवन भए नभएको यकिन गर्ने, नयाँ शाखा बिस्तारमा रोक लगाउने, नगद तथा बोनश शेयरमा बितरणमा रोक लगाउने, सम्बन्धित संस्थाको सञ्चालक तथा उच्च ब्यवस्थापकको भत्ता, तलब तथा सुविधा बृद्धिमा रोक लगाउन हुनसक्छ ।

यस्तै थप निक्षेप स्विकार गर्न नदिने, नयाँ ब्यवसायिक क्रियाकलापमा रोक लगाउने, कर्जा बिस्तारमा रोक लगाउने, कर्मचारीको तलब बृद्धिमा रोक लगाउने लगायतका अन्य निर्देशनहरु दिनुको साथै नेपाल राष्ट्र बैंक आफैले बैंकको ब्यवस्थापन नियन्त्रणमा लिने आदि कदम चाल्न सक्छ ।

निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा बढि भयो शाखा बिस्तारमा रोक लगाउने, नेपाल राष्ट्र बैंकबाट प्रदान गरिन सुविधाहरु रोक्ने जस्ता कार्यहरु गर्नसक्छ तर, अहिले नेपालमा बैंकहरुको अवस्था बिग्रिएर ठूलो कारवाही गर्नुपर्ने अवस्था रहेको देखिंदैन ।

संसारभर बैंक डुब्नुका कारणहरु

संसारभर बैंक डुब्नुको मुख्य कारणहरुमा अधिक खराब कर्जा, संस्थागत सुशासनको कमि, राजनीतिक हस्तक्षेप, खराब ब्यवस्थापन, कर्जाका लगानीका क्षेत्रहरुमा बिविधिकरण नभई एकै क्षेत्रमा अधिक लगानी गर्नु, युद्ध तथा खराब आर्थिक बातावरण, जालसांजी आदि रहेको पाईन्छ तर, अहिले नेपालका बैंकहरुमा यस्ता कुनै कारणहरु रहेको पांईदैन किनभने नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तिय संस्थाहरुलाई एकदमै नजिकबाट नियमन र सुपरिवेक्षण गरिरहेको छ ।

के बैंक डुबेर निक्षेपकर्ताहरुको निक्षेप डुब्छ त?

बिक्रम सम्बत १९९३ मा नेपाल बैंकको स्थापना भएदेखि ८७ बर्षको अवधिसम्म बिभिन्न बैंक तथा बित्तिय संस्थाहरुमा समस्या आएको भएतापनि अहिलेसम्म निक्षेपकर्ताहरुको निक्षेप डुबेको छैन । ति सबै निक्षेपहरु निक्षेपकर्ताहरुलाई फिर्ता गर्न बैंक तथा बित्तिय संस्थाहरु सफल भएका छन् ।

अझै अहिले नेपालका बैंक तथा बित्तीय संस्थाहरुले ५ लाखसम्मको साना निक्षेपकर्ताहरुको निक्षेप सुरक्षण गराएको हुनाले साना निक्षेपकर्ताहरुको निक्षेप डुब्ने सम्भावना देखिंदैन भने नेपालमा बैंकहरुले प्रायजसो चल अचल सम्पत्ती सुरक्षण लिएर लगानी गरेकोले पनि तुलनात्मक रुपमा नेपालका बैंकहरु सुरक्षित मानिन्छन् ।

२०८० असारसम्म नेपालमा ५ करोड ११ लाख निक्षेप खाता रहेकोमा सो मध्ये ५ करोडसम्मको ४ करोड १३ लाख साना निक्षेपकर्ताहरुको निक्षेप खाताहरुको निक्षेप सुरक्षण गरिएको तथ्याङ्कले देखाउंछ जुन जम्मा निक्षेप खाताहरुको करिब ८१ प्रतिशत हो भने बांकी रहेका १९ प्रतिशत खाता भने केहि ठूला र संस्थागत निक्षेपहरुको सुरक्षण भएको छैन ।

बैंक डुब्यो भने के हुन्छ त?

यदि बैंक डुब्यो भने सर्वप्रथम बैंकले सम्पत्ती सुरक्षण राखेर कर्जा दिएका बैंकका साहुहरुलाई भुक्तानी गर्नुपर्छ । त्यसपछि कर्मचारीहरुको तलब, त्यसपछि कर अनि त्यसपछि निक्षेपकर्ताहरुको निक्षेप फिर्ता गर्ने दायित्व रहन्छ । निक्षेपकर्ताहरुको निक्षेप भुक्तानी भएपछि मात्र अन्य साहुहरु, प्रिफेरेन्स शेयर आदिको भुक्तानी गर्दै त्यसपछि भने सर्वसाधारण र संस्थापक शेयरधनीहरुले भुक्तानी पांउछन्। यो भुक्तानीको प्राथमिकताले पनि निक्षेपकर्ताहरुलाई सुरक्षित राख्ने प्रयास गरेको छ ।

अहिले जनवरी २०२४ को तथ्याङ्क अनुसार नेपालका बैंक तथा बित्तिय संस्थाहरुको कूल निक्षेप ६१३१ अर्ब, कूल कर्जा ५०८४ अर्ब रहेको छ भने शेयर पुंजीकोष ७१९ अर्ब रहेको छ जुन निक्षेपको ११.७३ प्रतिशत रहेको देखिन्छ । त्यसैगरि कर्जा नोक्सानी जोखिम बापत २१८ अर्ब अर्थात कूल कर्जाको ४.२९ प्रतिशत नोक्सानी ब्यवस्था गरिसकेको अवस्था रहेको छ । यो तथ्याङ्कले पनि निक्षेपकर्ताहरुले निक्षेप धेरै हदसम्म सुरक्षित रहेको बुझ्न कठिन छैन किनभने निक्षेपकर्ताहरुले निक्षेप फिर्ता नपाउंदासम्म शेयरधनीहरुले रकम फिर्ता पांउने सम्भावना रहंदैन ।

नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तिय संस्थाहरुको जोखिम न्यूनिकरण गर्ने उदेश्यले प्रत्येक बर्ष खुद मुनाफाको २० प्रतिशत रकम रिजर्भ फण्डमा अनिवार्य राख्नुपर्ने ब्यवस्था गरेको छ । यस्तो रकम शेयरधनीहरुलाई बितरण गर्न पाउदैन र यसै ब्यवस्थाले गर्दा अहिले बैंक तथा बित्तिय संस्थाहरुको जम्मा चुक्ता पुंजी ४३६ अर्ब रहेकोमा रिजर्भ र मुनाफामा २८३ अर्ब अर्थात चुक्ता पुंजीको झण्डै ६५ प्रतिशत रकम भईसकेको छ । यसले गर्दा पनि बैंक तथा बित्तिय संस्थालाई मजबुत बनाएको छ ।

बाणिज्य बैंकहरुको मात्र कुरा गर्ने हो भने चुक्ता पुंजी ३७८ अर्ब तथा रिजर्भ र मुनाफामा चुक्ता पुंजीको ७० प्रतिशत जति रकम २६५ अर्ब रकम रहेकोले अहिले बैंकहरुको मुनाफामा गिरावट आईरहंदा पनि पुंजीकोषकमा राम्रो रकम रहेको कारणले निक्षेपकर्ताहरुको हकहितको संरक्षणलाई ठूलो मद्धत गरिरहेको छ ।

यसरी बैंकको आन्तरिक लेखापरिक्षक, बाह्य लेखापरिक्षक, बैंकको लेखापरिक्षण समिति, जोखिम ब्यवस्थापन समिति तथा नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणबाट बैंकको सञ्चालनलाई सुक्ष्म तरिकाले नियमन र नियन्त्रण गर्ने हुनाले नेपालमा बैंक तथा बित्तिय संस्थाहरुलाई एकदमै पारदर्शिता मानिने क्षेत्र मानिएको हो ।

नेपाल राष्ट्र बैंकको अफसाईट र अनसाईट निरिक्षण मार्फत बैंकका गतिबिधिहरु नजिकबाट नियालिरहेर ग्राहकरुको निक्षेपलाई सुरक्षा गर्न निर्देशन अनुसार काम भईरहेको छ कि छैन भनेर बैंकहरुलाई निर्देशन दिने र दिएको निर्देशनको लागि समेत कार्यान्यवनको लागि सचेत गराउने भएकोले हालसम्म नेपालका बैंकहरु राम्रो कार्यसम्पाद गर्न सफल भएका छन् ।

सन १९९७–९८ मा एशियाका बैंकहरुमा संकट आंउदा होस् वा २००७–०८ को बिश्वब्यापि आर्थिक संकटमा होस् वा बिश्वब्यापि कोरोना माहामारीपछिको अवस्थामा होस् नेपालका बैंकहरुले यि सबै प्रतिकूल अवस्थाहरू पनि डटेरै सामना गरे र सवल पनि ठहरिए ।

सन २००० ताका ६० प्रतिशतभन्दा बढि निष्क्रिय रहेको नेपालका सरकारी स्वामित्वका बैंकहरु नेपाल बैंक लिमिटेड र राष्ट्रिय बैंकलाई बित्तिय सुधार कार्यक्रम लागु गरेर अहिले एकदमै सवल बैंकको रुपमा आफूलाई स्थापित गरेका छन् ।

कुनै एउटा बैंक बिग्रियो भने त्यो बैंक मात्र नभई समग्र देशको अर्थतन्त्रलाई पनि नकरात्मक असर पर्ने भएकोले तथ्य नै नबुझिकन भ्रामक प्रचार प्रसार गर्नु राम्रो हुंदैन ।

कुनै पनि बैंकको बारेमा चित्त बुझेन भने सम्बन्धित ग्राहक गुनासो सुनुवाई अधिकृत समक्ष कुरा राख्न सकिन्छ भने सम्बन्धित बैकबाट समाधान भएन वा चित्त बुझेन भने भने नेपाल राष्ट्र बैंकको गुनासो सुनुवाई ईकाईमा सम्पर्क गर्न सकिन्छ तर, अनावश्यक नकरात्मक हल्लाले अर्थतन्त्रलाई फाईदा गर्दैन, सामाजिक सञ्जालमा तथा मिडियामा राख्नुभन्दा पहिला एकपटक सोंचेर, बुझेर मात्रै राखियो भने अर्थतन्त्रलाई फाईदा हुन्छ तर, गलत सन्देश गयो भने भने ठूलो क्षति पनि हुनसक्छ ।–लेखक डा. बुद्धि मल्ल बैंकर हुन् ।