कुमुदिनी होम्समा नेपाली मौलिक ‘चर्या’ नृत्यको प्रशिक्षण सुरू

-



     सफल आवाज    
     वैशाख १४ गते २०८१ मा प्रकाशित



पोखरा, १४ वैशाख । कुमुदिनी होम्स माविमा चर्या नृत्यको प्रशिक्षण सुरू भएको छ । विद्यालयमा विद्यार्थीका लागि चर्या नृत्यको एक हप्ते प्रशिक्षण सुरु गरिएको संस्थापक अध्यक्ष अशोक पालिखेले बताएका छन् ।

विद्यालयले आफ्ना विद्यार्थीहरुका लागि अतिरिक्त कक्षाहरु पनि संचालन गर्दै आएको छ । यसैक्रममा यसपालि हामीले नेपालको प्रशिद्ध मौलिक शासत्रीय नृत्य चर्या शुरु गरेका छौं । यसमा कक्षा ५ देखि १० कक्षासम्मका ५२ जनाले प्रशिक्षण लिईरहेका उनले जानकारी दिए ।

बच्चाहरुमा आफ्नो संस्कृति प्रतिको मोह जगाउनु, भविष्यका लागि राम्रो हुने र संरक्षणका लागि फाइदा पुर्याउने पालिखेले बताए । चर्या मात्रै पनि होई अन्य नृत्यका कार्यक्रम र तालिमहरु पनि गर्ने सोचाईमा रहेको बताए । उनले भने, यो नयाँ वर्ष २०८१ मा आयोजना गरिएको पहिलो भएकाे र चर्या नृत्यकै लागि भनेर प्रसिद्ध प्रशिक्षक चन्द्रमान मुनिकार काठमाडौंबाटं बोलाइएको बताए ।

प्रशिक्षक मुनिकारले चर्या नृत्य एउटा फरक र सम्पदासंग जोडिएको नृत्य भएको बताए । विद्यार्थीलाई सिकाईयो भने यो घर घरमा जान्छ र संरक्षणमा सघाउ पुग्ने उनले बताए ।

अहिले म यसैको प्रवर्धनमा लागिरहेको छु । म काठमाडौं १९ नरदेवीको बासिन्दा हुँ । मैले मेरै घरलाई चर्यामय बनाएको छु । मेरो परिवार नै यसमा लागेको छ । उनले भने, एउटा तलामा संगीतको सिकाई, एउटामा चर्याको नृत्य प्रशिक्षण र वाद्यवादन तथा भेषभुषाको लागि छुट्याएकाे छु । यो जम्मै काम अहिले गर्नु भनेको पुस्तान्तरणका लागि हो ।

परापूर्व कालबाटै बौद्ध धर्मका बज्रयानी बज्राचार्य गुरुहरुले पूजाको कोठामा चर्या नाच्दै आएका भन्ने गरिएको छ । यो नृत्य साना बालबालिका, युवा र प्रौढसम्म लोकप्रिय रहेको छ ।

‘चर्या’काे नै प्रशिक्षण किन ?

हाम्रो संस्कार, संस्कृतिलाई आफैंमा सिमित गर्दा हराउने भएकोले यसलाई अहिले विश्व बजारमा पनि लगेर देखाउने गरिएको छ । यो नेपालको मौलिक शास्त्रीय नृत्य भएको र यसको गीत संस्कृतमा गाउने गरिन्छ । यसलाई परमार्थ सत्य आत्मसाथ गर्ने कावयरुपी संगीत साधनासंग पनि जोडिएको छ ।

संस्कृतविद् सत्यमोहन जोशीकाे पुस्तक “बःचाधंगु नेवाः खँग्वः धुकु” मा चर्याको बारेमा बयान गरिएको छ । चर्याकाे अर्थ नेवार समुदायमा बौद्ध महायानीहरुको गुह्य पूजा हुने समयमा गाईने धार्मिक शास्त्रीय गीत भनेर लेखिएको छ ।

चर्याका केहि निश्चित आधारभूत पदज्ञान र आसन हुन्छन् । तिनिहरुमा समपद, बज्रपद, मण्डलापद, त्रिभुपद, प्रत्यालिंधपद, आलिंधपद र नमामीपद गरी सात वटा रहेका छन् ।

चर्या नृत्यको मौलिक महत्व छ । यो नेपाली संस्कृतिको विशिष्ट नमूना र जिवित सम्पदा हो भन्ने गरिएको छ । चर्याको विशेषता भनेको यसकाे संसारका कुनै पनि नृत्यसंग मेल खाँदैन । यो रागबाट सुरू भएर श्वलोकमा पुगेर टुंगिन्छ । यो सांगीतिक रस अन्तर्गत नाच्ने नृत्य हाे ।