नेवाः खलः कास्कीको चर्या-धिमे बाजा नृत्य प्रशिक्षण सम्पन्न, महानगर साथमा छ : मेयर आचार्य

-



     सफल आवाज    
     वैशाख २९ गते २०८१ मा प्रकाशित



पोखरा, २९ वैशाख । नेवाः खल: कास्कीले आयोजना गरेको तीन हप्ते नेपाली मौलिक चर्या तथा धिमे बाजा नृत्य प्रशिक्षण आज समापन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अहिलेको पुस्ताले अब आउने पुस्ताका लागि आफ्नो कला, संस्कार, संस्कृति, रितिरिवाज र सभ्यतालाई जाेगाउदै हस्तान्तरण गर्न जरुरी भएको बताएका छन् ।

हाम्रो पुस्ताले अहिले सिकेको चर्या, नृत्य, धिमे बाजा नाच वा भैरव नृत्य वा अरू अबको सय वर्षसम्म जिवन्त रहने र त्यसका लागि संरक्षण, प्रवर्धनको पुस्ता तयार भईसकेकोमा गर्व लागेको बताए । मेयर आचार्यले मौलिक, कला, संस्कृतिको संरक्षण र प्रवर्धनका लागि महानगर सदैव साथमा रहेको प्रतिवद्धता व्यक्त गरे ।

पोखरा महानगरपालिका वडा नं २ का अध्यक्ष दिवशमान प्रधानाङ्गले नेवाः खलः कास्की कला, संस्कृतिको जगेर्नामा निरन्तर लागिरहेकोमा खुसि व्यक्त गरे । उनले भने, हामी मौलिक कला, संस्कृतिका प्रतिक हौं, भाषा, सभ्यता, संस्कार, संस्कृतिका धनि भएकोले यसको संरक्षणका लागि पनि चनाखो भईरहनु पर्ने बताए । महानगर र वडाको तर्फबाट सहयोग भईरहने उनको भनाई थियो ।

काठमाडौंबाट प्रशिक्षण दिन आएका चर्या नृत्यमा ४१ वर्ष काम गरिसकेका र यसैमा विद्यावारिधि गर्दैगरेका प्रशिक्षक चन्द्रमान मुनिकारले भने, म नेपाली भएको कारण, नेपाली, नेवारको छोरो भएको कारण, आफ्नो कला, संस्कृतिले धनि भएको कारण जापानमा बस्न मन लागेन । मलाई उतै बस, राम्रो कमाई हुन्छ, सिकाउने काम गर भनेर अफर नगरेका होईनन् तर मैले मानिन र देशकै कला, संस्कृति प्यारो लाग्यो, यसैमा लागे र पिएचडि यसैमा गर्दैछु ।

मुनिकारले नेपाली मौलिक कला, संस्कृति नै देखाएर पनि प्रशस्त कमाउन सकिने मेरो दावि छ, उनले भने । पोखरामा युवाको चासो चर्या नृत्य र धिमे बाजामा देखिएकोमा उनले खुसि व्यक्त गरे । उनले भने, अब सिकेकाहरुले गुणात्मक तथा संख्यात्मक दुबै पाटाहरुमा नयाँ उत्पादनमा जोड दिन आग्रह गरे ।

प्रशिक्षणमा ८० जनाको सहभागिता रहेको नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले बताए । सो अवसरमा मेयर आचार्यले चर्या नृत्य तथा धिमे बाजा नृत्यका प्रशिक्षर्थीलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले आफ्नाे पहिचान हराए हामी नै हराउने खतरा रहेकोले आफ्नो मौलिक संस्कार, संस्कृति, भाषा र कलाको लागि सबै जातजाति निरन्तर लागिरहनुको विकल्प नभएको बताए । उनले यसमा स्थानिय सरकारले बढी जोड दिनुपर्ने र अपनत्व लिएर अधिक मात्रामा संरक्षण, संवर्धनका लागि लगानी गर्नुपर्ने बताए ।

उसो त हामी पर्यटकीय क्षेत्रमा छौं । उनले भने, पर्यटनका लागि कुनै पनि देशको कला, प्रकृति र संस्कृति नै हुन् । यीनिहरुको संवर्धनले आर्थिक क्षेत्रमा पनि ठूलो टेवा पुग्दछ । अध्यक्ष पालिखेको अध्यक्षतामा भएको समापन कार्यक्रमको संचालन महासचिव श्रीकृष्ण कतिलाले गरेका थिए ।

कार्यक्रम हुनु अघि दिउसाे पोखरा चिप्लेढुंगास्थित मानवअधिकार चोकदेखि चर्या नृत्य, धिमे बाजा धिमे नाचसहित निकालिएको र्याली महेन्द्रपुल, तेर्सापट्टि हुँदै भैरव टोल हुँदै नेवा छेमा पुगेको थियो ।