राष्ट्रिय ललितकला प्रदर्शनी मङ्गलबारदेखि सुरु हुने

-



     सफल आवाज    
     जेठ १४ गते २०८१ मा प्रकाशित



काठमाडौं, १४ जेठ । गणतन्त्र दिवसका अवसरमा मङ्गलबारदेखि सुरु हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा यस पटक चार सय ८२ कलाकारका पाँच सय २२ कलाकृति प्रदर्शनीमा राखिने भएको छ ।

प्रदर्शनीमा कोसी प्रदेशबाट ४२ कलाकारका ४३, मधेस प्रदेशबाट ५७ कलाकारका ६१, बागमती प्रदेशबाट दुई सय ३३ कलाकारका दुई सय ६७, गण्डकी प्रदेशबाट ४२ कलाकारका ४६, लुम्बिनी प्रदेशबाट ७० कलाकारका ७०, कर्णाली प्रदेशबाट २३ कलाकारका २८ तथा सुदूरपश्चिम प्रदेशबाट ४२ कलाकारका ४३ कलाकृति राखिने प्रदर्शनी संयोजक एवं प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिए।

प्रदर्शनीको तयारी पूरा भएको उनले बताए। गत फागुन १७ गतेदेखि चैत १६ गतेसम्म भएको ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ बाट छानिएका कलाकृति यसपाली राष्ट्रिय प्रदर्शनीमा राखिने छ । प्रवद्र्धकका रुपमा नेपाल पर्यटन बोर्ड रहेको छ ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रदर्शनीले राज्यको सङ्घीय अवधारणाअनुसार सुरुमा प्रादेशिक ललितकला प्रदर्शनी–२०८० गरी त्यहाँबाट छानिएका कलाकृति राष्ट्रिय प्रदर्शनीमा समेटिएको तथा दुई चरणको छनोटले उत्कृष्ट कृति समावेश गर्न लागिएको बताए।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रदर्शनीमा देशका सातै प्रदेशबाट छानिएका उत्कृष्ट कलाकृति देख्न पाइने बताए । कला क्षेत्रको पुनर्जागरणका लागि प्रतिष्ठानले स्थानीय तहमै पुगेर काम गरिरहेको उनको भनाइ छ ।