एनटिएचएमसिमा विद्यार्थीका लागि संचालित निःशुल्क तालिम सम्पन्न

-



     सफल आवाज    
     जेठ १४ गते २०८१ मा प्रकाशित



पोखरा, १४ जेठ । नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले १२ कक्षाको परिक्षा दिएर बसेका विद्यार्थीहरुको लागि संचालन गरेको ७ दिने निःशुल्क सिपमूलक तालिम सकिएको छ । तालिम जेठ ७ गतेदेखि जेठ १४ गतेसम्म संचालन गरिएकाे हाे ।

तालिममा देशका ६६ जिल्लाका ९२ वटा विद्यालयका २८० जना विद्यार्थीले सकृयतापूर्वक सहभागिता जनाएका र उनीहरु आफ्नो खुट्टामा उभिन सक्ने भएका कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले बताए ।

पोखरा १४ स्थित छिनेडाँडामा रहेको एनटिएचएमसि कलेज राष्ट्रिय रुपमा ब्राण्डिङ भएको छ । यसको चर्चा विदेशसम्म हुने गरेको छ, यसमा हामीलाई गर्व लागेको छ, रेग्मीले भने ।

तालिमको समापन समारोहमा विद्यार्थीले सुनाएको अनुभवबाट आफुहरु खुसि भएको उनले बताए । उनीहरुले राम्रो वातावरणमा पढ्न र सिक्न पाएको, खाजा, खानाको सुविधा र विद्यार्थीमैत्री अध्ययन पद्धतीले आफुहरु निकै उत्साहि भएको बताए । कलेजमा सिकाउँदै, पढाउदै गर्ने वातावरणप्रति उनीहरुले कलेजप्रति कृतज्ञता ज्ञापन गरे ।

कलेजले अहिले स्थापनाको २५ औं वर्षकाे अवसरमा वर्षभरि विभिन्न कार्यक्रम गरिरहेको छ । तिमध्येमा सामाजिक उत्तरदायीत्व अन्तर्गत विद्यार्थीलाई सिपमूलक दक्षता अभिबृद्धिको तालिम संचालन गरिएको हो, कार्यक्रमका प्रमुख व्यक्तित्व प्रिन्सिपल रेग्मीले भने ।

हामीले १ सय जनालाई तालिम दिने भनेकोमा देशभरका ३०२ जनाले अनलाइन फाराम भरेका र २८० जनाले सहभागिता जनाएको बताए । रेग्मीका अनुसार तालिममा सहभागि भएका विज्ञान संकाय, होटल म्यानेजमेन्ट संकाय र व्यवस्थापन संकायका विद्यार्थीहरुले कलेजमा अध्यापन गराईने बीबीए, बीबीए बीआई र बीएचएममा भर्ना गर्न सक्नेछन् ।

तालिममा सहभागि फुड एण्ड वेभरेज समूहबाट अनुपम रिजालले तालिम फलदायी भएको बताए । उनले हस्पिटालिटिसंगै डाईनिङ, एटिकेटकाे समेत तालिम लिन पाएकोमा कलेजप्रति आभार व्यक्त गरे ।

हाउस किपिङ समूहबाट बोल्दै निकिता लामाले भनिन्, मेरो पहिलो बुझाई सरसफाई मात्रै होला भन्ने थियो । तर यसका अलावा सावर सजावट, टावेल आर्ट, कोठाहरुको सफाई लगायतका ज्ञान हासिल गर्न पाएकोमा खुसि व्यक्त गरिन् । उनले घरमा पनि सिकेका कुराहरुलाई लागू गरिसकेको बताईन् ।

वारिष्टातर्फकी मञ्जु नेपालीले कफि भन्ने मात्रै बुझेकोमा तालिमबाट कफिका जातहरु, प्रकार, स्वाद, बनाउने विधि, मेसिन चलाउने ज्ञान पाएको बताईन् । उनले विश्वमा कफिका लागि प्रख्यात देश, नेपालमा उत्पादन र बजारिकरण, १४ प्रकारका कफि बनाउने सिप सिक्न पाएकोमा कलेजलाई आभार व्यक्त गरिन् ।

बेकरी समूहको तर्फबाट कृतिका पराजुलीले आफु बेकरीको सोखिन भएको बताईन् । तालिम लिएपछि आफैे बनाएर खान सक्ने, घरमा पनि बनाउन शुरु गरेको र भविष्यमा यो सिपले आत्मनिर्भर बन्न सघाउने बताईन् ।

कार्यक्रममा कलेजका भाईस प्रिन्सिपल राजकुमार कार्कीले कुनैपनि क्षेत्रमा जाँदा, सेवामा प्रवेश गर्दा र गरिरहँदा अनुशासनमा रहनु पर्ने, स्किल डेभलप भएको हुनुपर्ने र सकारात्मक प्रबृत्ति आवश्यक हुनेमा जोड दिए । उनले विद्यार्थीहरु लगनशिल भएर तालिममा सहभागि भएको, जोस, जाँगर र इच्छाशक्तिका साथ पढाईसंगै सिकाईमा दक्ष भएकाे कुरा प्रशंसायोग्य रहेको बताए ।

किचन समूहका सूचना रानाभाटले कुकिङ सोखको विषय भएको बताईन् । उनले आफुमा घरमा पकाउने सिप भएपनि विदेशी खाना बनाउने ज्ञान नभएकोमा तालिमबाट त्यो पूरा भएको बताईन् । अब म विभिन्न देशका खानाहरु बनाउन सक्ने भएँ, उनले भनिन्, खानका परिकारहरु पकाउन जान्ने भएँ, खाद्य सुरक्षा र स्वच्छता बारे ज्ञान हासिल भयो । यो कुरा अब म साथीभाई र परिवारमा पनि सेयर गर्छु ।

समापन समारोहमा तालिममा सहभागि भएका विद्यार्थीहरुलाई कलेजका प्रिन्सिपल प्रकाश रेग्मी, भाईस प्रिन्सिपल राज कुमार कार्कि, तालिमका विषयगत शिक्षकले प्रमाण पत्र प्रदान गरेका थिए । सो अवसरमा विद्यार्थीले बनाएको केक काटेर समापन समारोह सेल्ब्रेसन गरिएको थियो । कार्यक्रम संचालन प्रियंका थापा मगरले गरेकी थिईन् ।