गण्डकी कलेज अफ ईन्जिनियरिङ्गमा दशाैं सूचना प्रविधि मेला हुने

-



     सफल आवाज    
     जेठ १६ गते २०८१ मा प्रकाशित



पोखरा १६ जेठ। पाेखराकाे लामाचौरमा रहेकाे गण्डकी कलेज अफ ईन्जिनियरिङ्ग एण्ड साइन्सले यहि जेठ २४ र २५ गते “दशौंं जि.सि.ई.एस आईटी एक्स्पो २०८१” को आयोजना गर्ने भएको छ।

सूचना तथा प्रविधिको विकास, विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन तथा यस क्षेत्रमा क्रियाशिल शैक्षिक संस्था तथा विद्यार्थीहरूलाई राष्ट्रिय स्तरमा आफुलाई चिनाउन र पोखरालाई यसको केन्द्रविन्दु बनाउने उद्देश्यले याे एक्स्पाे गर्न लागिएकाे हाे ।

विद्यार्थीहरूको प्रतिभा तथा सिर्जनशिलतालाई हौसला प्रदान गरिनुका साथै Software Engineering, Computer Engineering / Information Technology को बारेमा सामान्य व्यक्तिलाई समेत जानकारी गराउने एक्स्पोको उदेश्य रहेको बताइएकाे छ । याे एक्स्पो गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्सको सूचना प्रविधिको प्रवर्धन गर्ने मुनाफा रहित अभियान पनि हाे।

एक्स्पोको पूर्वसन्ध्यामा जेठ २१ र २२ गते क्रमशः टेक्निकल टक कार्यक्रम र अन्तर विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगितामा साथै जेठ २३ गते बिहान खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिने बताइएकाे छ । एक्स्पोको औपचारिक उद्घाटन २४ गते बिहिबार बिहान ११ बजे र समापन जेठ २५ गते शुक्रबार दिउँसो २ बजे गरिनेछ ।

टेक्निकल टक कार्यक्रमको मुख्य श्रोत व्यक्तिको रुपमा इन्फो डेभलपर्स प्रा.लि.काठमाडौंका निर्देशक उमेश रघुवंशी रहने एक्स्पोका संयोजक ई. तारा बहादुर थापाले बताएका छन ।

२ दिन सम्म संचालन हुने यस सूचना प्रविधिको मेलामा Project Exhibition, Coding Competition, Career Fair, Gaming Competition, Fun Games, Food Stall का साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरुको पनि आयोजना गरिने एक्स्पोका अध्यक्ष विवेक भटराईले जानकारी दिएका छन।

कार्यक्रमका सबै विधाहरुमा विजेता विद्यालय तथा प्रोजेक्टहरुलाई जेठ २५ गते समापन दिनको औपचारिक कार्यक्रममा नगद पुरस्कार तथा ट्रफि वितरण गरिनेछ । सफ्टवयर तथा कम्प्यूटर इन्जिनियरिङ्ग २०१९ ब्याच तथा जि.सि.इ.एस आइटि क्लबका विद्यार्थीहरुको सहकार्यमा संचालन हुने यस सूचना प्रविधि मेलाको प्रदर्शन अवधि बिहान ९ बजे देखि बेलुका ५ बजे सम्म जारी रहने बताइएकाे छ ।

“दशौंं जि.सि.ई.एस आईटी एक्स्पो २०८१” मा पोखराका सम्पूर्ण विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुलाई यस कार्यक्रम अवलोकनका लागि कलेजले निमन्त्रणा समेत गरिसकेकाे गण्डकी कलेज अफ ईन्जिनियरिङ्ग एन्ड साइन्स लामाचौरका सहायक प्राचार्य अशोकराज पराजुलीले बताए।

नेपालकै पहिलो सामुदायिक सफ्टवयर इन्जिनियरिङ्ग कलेजको रुपमा स्थापित यस क्याम्पसमा हाल स्नातक तहमा सफ्टवयर इन्जिनियरिङ्ग साथै कम्प्यूटर इन्जिनियरिङ्ग र स्नातकोत्तर तहमा ईन्फरमेशन सिस्टम इन्जिनियरिङ्गको पढाई भईरहेको बताइएकाे छ ।