पश्चिमाञ्चल माविमा सौन्दर्य कलाको अध्यापन हुने, पढाई सकेको भोलिपल्टबाटै राेजगार बन्न सकिने

-



     सफल आवाज    
     जेठ २२ गते २०८१ मा प्रकाशित



पाेखरा, २२ जेठ । पाेखराकाे पश्चिमाञ्चल माविको एकहप्ते सेल्फ मेकअप (स्किन केयर) सम्बन्धी निशुल्क तालिम मंगलबार सम्पन्न गरेकाे छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले तालिम प्रदान गरेकाे हाे । तालिममा ५० जना विद्यार्थी सहभागी थिए ।

विद्यालयका प्राचार्य सरोज कोइरालाका अनुसार सौन्दर्यकलाको क्षेत्रमा पछिल्लो समय भविश्य खोज्ने धेरै युवायुवती छन । उनीहरुलाई सौन्दर्य कलाको क्षेत्रमा आकर्षण बढाउन विद्यालयको सामाजिक उत्तरदायित्व अन्तर्गत यो प्रशिक्षण दिइएको हो । पश्चिमाञ्चल माविले आगामि शैक्षिक सत्रदेखि कक्षा ११ मा सौन्दर्य तथा केश कला विषयको पढाइ सुरु गर्न थालेको पनि उनले बताए ।

‘पछिल्लो समय सौन्दर्य कलाको क्षेत्रमा भविश्य खोज्ने युवायुवती पर्याप्त छन । उनीहरुलाई यो क्षेत्रमा प्रवेशका लागि सहज बनाउन विद्यालयले निशुल्क तालिम दिएको हो,’ प्राचार्य कोइरालाले भने । उनका अनुसार सौन्दर्य कलाले युवायुवतीलाई स्वरोजगार बनाउन पनि सघाएको छ । ‘सौन्दर्य कलाको क्षेत्रमा सबैतिर माग बढेपछि पश्चिमाञ्चल माविले सरकारले तोकेको पाठ्यक्रम अध्यापन गराउनेगरि यो वर्षदेखि आधिकारिक रुपमा अध्यापन पनि गराउन थालेको छ,’ उनले भने ।

समापन अवसरमा सौन्दर्य कला संघकी केन्द्रीय अध्यक्ष कमला श्रेष्ठले विद्यार्थीलाई सहजै स्वरोजगार बनाउनका लागि सौन्दर्यकला क्षेत्र महत्वपूर्ण रहेको बताईन । श्रेष्ठले भनिन, ‘केहीवर्ष अघिसम्म सौन्दर्य कलासम्बन्धि पेशालाई समाजले खासै बुझेको थिएन । चाँसो पनि लिएको थिएन । तर, अहिले यो व्यावसायिक बनेको छ,’ श्रेष्ठले भनिन, ‘म पनि निकै नै मेहनत र परिश्रमका साथ यो क्षेत्रमा प्रवेश गरेकी हुँ । अहिले यो क्षेत्र व्यावसायिक बनेको छ ।’

सौन्दर्य कलाको माग अहिले नेपालमा मात्र नभई विदेशमा झनै बढी रहेको उनले बताईन । ‘अहिले तालिमको भरमा धेरै महिला र पुरुषले सौन्दर्य कलालाई व्यावसायिक बनाएका छन । तर, यसलाई शैक्षिक पाठयमक्रममार्फत समेट्दा अझै बढी प्रभावकारी हुनेछ,’ उनले भनिन । अहिले अमेरिका, अस्ट्रेलियामा गएका धेरै महिला ( पढ्न बाहेक)ले सौन्दर्य कलालाई मुख्य सीप बनाएको उनले बताईन ।

पोखराकै आइरिस हेयर एण्ड ब्युटी केयर प्रालि. सँगको सहकार्यमा विद्यालयले तालिम दिएको हो । पश्चिमाञ्चल माविमा सैद्धान्तिक र आइरिस हेयर एण्ड ब्युटी केयरमा प्रयोगात्मक अभ्यास हुनेछ । एकसाता अवधिको यो तालिमले सुरुवाती चरणको सेल्फ मेकअप सम्बन्धि ज्ञान दिलाएको आइरिस हेयर एण्ड ब्युटी केयर प्रालिकी संचालक सोनम गुरुङले बताईन ।विद्यालयका उच्च मावि संयोजक देव क्षेत्रीले एकसाताको तालिम पर्याप्त नभएपनि यही तालिमले विद्यार्थीलाई स्वरोजगार बन्न प्रेरणा दिने बताए ।

विद्यालयका अध्यक्ष प्राडा रामनाथ ओझाका अनुसार विद्यालयले आगामि शैक्षिक सत्रदेखि कक्षा ११ र १२ (प्लस टु) मा सौन्दर्य तथा केश कला विषयको पढाइ सुरु गर्न थालेको जानकारी दिए । उनले बढी भन्दा बढी प्रयोगात्मक शिक्षा दिएर विद्यार्थीलाई व्यावसायिकतामा धकेल्ने प्रयास गर्ने बताए । ‘अध्यापन सकेको भोलिपल्ट कमाउन सक्ने गरि सक्षम बनाउने प्रयास विद्यालयले गर्नेछ,’ ओझाले भने, ‘बेरोजगार बस्नुपर्ने अवस्था पक्कै आउँदैन । सीप र जाँगर एक कमाउन नसक्ने कोही हुँदैन ।’

विद्यालयकी सह प्राचार्य मिनुु श्रेष्ठ कुँवरले एसइइपछि अब कता जाने भनेर सोच्ने बेला भएका विद्यार्थीलाई भविश्य हेरेर अघि बढ्न सुझाव दिइन । विस २०४९ मा स्थापना भएको पश्चिमाञ्चल माध्यमिक विद्यालयमा हाल नर्सरीदेखि १२ कक्षासम्मका कक्षाहरू सञ्चालन भइरहेका छन् । हालसम्म कक्षा ११ र १२ मा व्यवस्थापन, होटल व्यवस्थापन, विज्ञान, मानविकी र कानुन विषयको अध्ययन अध्यापन हुँदै आइरहेको छ ।