‘नाडा अटो शो २०२४’ को रजिष्ट्रेशन आजदेखि खुल्ला

-



     सफल आवाज    
     जेठ ३१ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३१ जेठ । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले १६ औं संस्करणको ‘नाडा अटो शो २०२४’ आयाेजना गर्ने भएको छ ।

आगामी भदौ ११ देखि १६ गतेसम्म १६ औँ संस्करण ‘नाडा अटो शो २०२४’ आयोजना गर्ने नाडाले जनाएको छ । काठमाडौंको भृकुटी मण्डप प्रदर्शनीस्थलमा आयोजना हुने प्रदर्शनीको जेठ ३१ गतेदेखि असार ५ गतेसम्म स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला गरिएको छ । उक्त अटाे शाे मा सवारीसाधन, पार्टपुर्जा, बैक, वित्तिय सेवा लगायतकाे प्रदर्शनी रहने बताइएकाे छ ।

प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्याधिक माग भएकाले विगतका संस्करणहरु जस्तै यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने छ ।

प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको नाडाले जनाएकाे छ ।

अर्थतन्त्रमा राजस्व सङ्कलन र रोजगारी सिर्जनाका लागि विशेष योगदान पुर्याउदै आइरहेको अटाे क्षेत्रका उद्योगी, व्यापारी, कर्मचारी एवं आम उपभोक्तालाई याे अटो शो बाट नयाँ प्रविधिको साक्षात्कार गराउने विश्वास गरिएको संयोजक अनुपकुमार बरालले बताएका छन ।