पूँजी वृद्धि र लगानीकर्ता जुटाउन द सेन्चुरियन होटलले नेक्सजेन म्यानेजमेन्टसँग गर्याे सम्झौता

-



     सफल आवाज    
     जेठ ३१ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ३१ जेठ । बिराटनगरकाे द सेन्चुरियन होटल र नेक्सजेन म्यानेजमेन्ट बीच पूँजी वृद्धि, लगानीकर्ता जुटाउने र होटल संचालन सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापत्रमा सेन्चुरीयन होटलको तर्फबाट अध्यक्ष मोतिलाल दुगड र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराइले हस्ताक्षर गरेका हुन ।

विराटनगर धरानरोड स्थित शहरको केन्द्रविन्दुमा द सेन्चुरियन होटलको १० तल्ले भवन निर्माण सम्पन्न भैसकेको छ। भवनमा व्यवसायिक प्रयोजनका पसलहरू, सभा सम्मेलन, विवाह व्रतबन्धको लागि बैंकेट हल समेत उपलब्ध हुनेछन। सोहि भवनको चार तल्ला देखि माथि पाँचतारे स्तरको १ सय ४६ कोठाको र्याडिसन विराटनगर होटल संचालन हुनेछ।

होटल संचालनको लागि अन्तर्राष्ट्रिय ब्राण्ड र्याडिसन होटल ग्रुपसँग जुलाइ २०२२ मा सम्झौता भैसकेको छ। नेपालका प्रतिष्ठित उद्योगपति तथा पूर्व मन्त्री मोतिलाल दुगडको नेतृत्वमा सेन्चुरी ग्रुप अफ कम्पनी अन्तर्गत यो पाँच तारे होटल संचालन हुनेछ ।

होटललाइ पाँच तारे तथा अन्तर्राष्ट्रिय स्तरको बनाउन र अन्य थप आवश्यक निर्माण र साजसज्जाको लागि थप पूँजी आवश्यक पर्ने भएकाेले साे का लागि कम्पनीको पूँजी वृद्धि गर्न, थप संस्थापक लगानीकर्ता ल्याउन तथा अन्य आवश्यक व्यवस्था गर्न नेक्सजेन म्यानेजमेन्टसंग सम्झौता गरिएको बताइएकाे छ।

सोहि सिलसिलामा कम्पनीको पूँजी वृद्धि गर्न र सर्वसाधारणलाइ शेयर निष्काशनको प्रावधान सहित लिमिटेड कम्पनीमा परिणत गर्ने प्रकृया समेत अगाडि बढाइएकाे छ।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स पूर्व बैंकरहरू समेतको लगानीमा स्थापित सम्पत्ति ब्यवस्थापन र व्यवसायिक परामर्शदाता कम्पनी हो। यसले ठुला तथा मझौला उद्योग व्यवसायको स्थापना, संचालन व्यवस्थापनमा परामर्श सेवा दिदै आएको छ।

यसले भर्खरै सम्पन्न अन्तराष्ट्रिय लगानी सम्मेलनमा नेपालमा विभिन्न उद्योग व्यवसायमा ६ अर्ब लगानी भित्र्याउने गरी कोरियन कम्पनी एमएविसि इन्भेष्टमेन्ट ग्रुपसँग सम्झौता समेत गरिसकेको छ ।