वाग्मती प्रदेश सरकारकाे बजेटमा भ्रमण वर्षलाई निरन्तरता, पर्यटन पूर्वाधारमा प्राथमिकता

-



     सफल आवाज    
     असार २ गते २०८१ मा प्रकाशित



मनहरी, २ असार । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटमा संस्कृति, पर्यटन तथा सहकारीका लागि २अर्ब ४६ करोड विनियोजन गरेको छ । शनिबार आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाद्वारा प्रस्तुत बजेटमा प्रदेश भ्रमण वर्ष २०२४ को निरन्तरतासहित प्रदेशभित्रका पर्यटकीय गन्तव्य तथा पर्यटन क्रियाकलापहरुको प्रवर्द्धन गरिने उल्लेख छ ।

उनले थप पर्यटकीय गन्तव्यको पहिचान गरिने र पर्यटकहरुको भ्रमणमा सहजीकरण गर्न ट्राभल बुक तयार गरिने बताए । बाह्य पर्यटकको सङ्ख्या वृद्धि गर्न छिमेकी मुलुकका प्रमुख सहरहरुमा पर्यटकलक्षित रोड सो, मेला, महोत्सवजस्ता कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । मन्त्री थपलियाले अन्तर प्रदेश समन्वयमा जनकपुर, लुम्बिनी, देवघाट र मुक्तिनाथ जोड्ने सांस्कृतिक सम्पदा परिपथ विकास गरिने बजेटमा उल्लेख गरेका छन ।

चितवनका सौराह, मेघौली, माडी र सिराइचुली जोडेर पर्यापर्यटन परिपथ निर्माण गरिने बजेट वक्तव्यमा उल्लेख छ । पाटन दरबार क्षेत्र, वसन्तपुर, कीर्तिपुर, भक्तपुर र चाँगुनारायण क्षेत्र जोडेर सम्पदा परिपथ र काठमाडौँको पशुपतिनाथ, डोलेश्वर, दत्तात्रय, सुवर्णेश्वर, अनन्त लिङ्गेश्वर, सन्तानेश्वर, महादेव पोखरी जोडेर शिव परिपथ विकास गरिने मन्त्री थपलियाले बताए । उनले चितवनको सौराह, मेघौली, गोलाघाट, भक्तपुरको नगरकोट, दोलखाको सैलुङ क्षेत्रलाई खुला चलचित्र छायाङ्कन क्षेत्रका रुपमा विकास गर्ने योजना प्रदेश सरकारको रहेको बताए।

वाग्मती प्रदेशका विभिन्न जात्रा तथा पर्वहरुको संरक्षण, संवद्र्धन र सञ्चालनका लागि अक्षयकोष स्थापना गर्न रु पाँच करोड विनियोजन गरेको जानकारी दिए । वाग्मती प्रदेशभित्र रहेका कला, संस्कृति, भाषा, लिपि, जातजाति, धर्म, बाजागाजा आदिका बारेमा अध्ययन अनुसन्धान गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

प्रदेश सरकारले नेपालको विभिन्न कालखण्डमा भएका राजनीतिक क्रान्ति र परिवर्तनको इतिहास प्रतिबिम्बित हुने क्रान्ति स्मृति सङ्ग्रहालय स्थापनाका लागि आवश्यक बजेट व्यवस्था गरेको जनाएको छ ।

वाग्मती प्रदेशलाई आकर्षक पर्यटक गन्तव्यका रुपमा विकास गरी पर्यटकको बसाइ अवधि लम्ब्याउन र प्रतिपर्यटक खर्च वृद्धि गर्न पर्यटन पूर्वाधार निर्माण तथा सुधार गरिने सरकारको योजना रहेको छ । मन्त्री थपलियाले भने, “हामीले प्रदेशसभाको प्रत्येक निर्वाचन क्षेत्रमा एक विशेष पर्यटकीय क्षेत्र पहिचान गरी एकीकृत पर्यटन विकास कार्यक्रम सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न बजेट व्यवस्था गरेका छौँ ।

प्रदेशभित्र रहेका मूर्त र अमूर्त संस्कृति, सम्पदा संरक्षण गर्न आवश्यक रहेकाले सरकारले नीति तर्जुमा गरी समुदायको सहभागितामा विभिन्न जातजाति, भाषा, साहित्य, दर्शन, संस्कृति, कला, पुराना बाजा, सङ्गीत, नाच र नाट्यलगायतका अमूर्त सांस्कृतिक सम्पदाको सूचीकरण, संरक्षण र प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिने मन्त्री थपलियाले बताए ।