वीरगञ्ज महानगरको नीति तथा कार्यक्रम सार्वजनिक

-



     सफल आवाज    
     असार ८ गते २०८१ मा प्रकाशित



वीरगञ्ज, ८ असार । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा ‘वैभव वीरगञ्ज’को परिकल्पनालाई साकार पार्ने योजना अघि सारेको छ ।

महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले १५औँ नगरसभाको अधिवेशनमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘वैभव वीरगञ्ज’ को परिकल्पनालाई साकार पार्न वीरगञ्जलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकसित गर्दै यहाँको ऐतिहासक तथा मौलिकतालाई ध्यानमा राखी नगरवासीको उत्कट चाहनाबमोजिम वीरगञ्जलाई सुन्दर, समुन्नत र समृद्ध बनाइने घोषणा गरे।

“वैभव वीरगञ्ज बनाउने अभियानबमोजिम यहाँ रहेका धार्मिक तथा पर्यटकीयस्थलहरु विन्दवासिनीमाई मन्दिर, पिपराको नर्सिङ मन्दिर र भुटनदेवी मन्दिर निर्माणको कार्य आगामी आवदेखि अगाडि बढाइनेछ”, नगरप्रमुख सिंहले भने, “महानगरका अन्य मठमन्दिरको आवश्यकताअनुसार पुनःनिर्माण र सौन्दर्यीकरण गर्ने कार्यलाई निरन्तरता दिइने छ ।”

महानगरको नीति तथा कार्यक्रममा पर्यटन प्रवद्र्धन र आन्तरिक आय वृद्धिका लागि वीरगञ्ज–१७ र १९ मा पर्ने कोनियामा रहेको सार्वजनिक जग्गामा आधुनिक हरित पार्कसहितको ताल निर्माण कार्य अघि बढाइने उल्लेख गरिएको छ । नगरप्रमुख सिंहले वीरगञ्ज घण्टाघर नजिकको खाली जग्गामा सार्वजनिक निजी साझेदारी र दातृ निकायसँगको समन्वयमा आधुनिक हरित पार्क निर्माणको कार्यलाई अगाडि बढाइने बताए ।

महानगरले आगामी आवमा सिर्सिया नदीको दायाँबायाँ नक्साबमोजिम खोला क्षेत्र छुट्याई दुवैतर्फ सडक निर्माण, वृक्षारोपणद्वारा हरियाली प्रवद्र्धन गरी सिर्सिया हरित करिडोर विकास कार्य अघि बढाउन सबै तहका सरकारसँग सहकार्य गर्ने नीति लिने भएको छ ।

आगामी आवको नीति तथा कार्यक्रममा स्वच्छ, सफा, हराभरा र सुन्दर वीरगञ्ज बनाउन महानगरले सुरु गरेको सरसफाइ अभियानलाई अझै कडाइका साथ लागू गरी जथाभावी फोहोर फाल्ने र फोहोर गर्ने व्यक्तिलाई जरिवाना तथा अन्य दण्ड सजाय गर्ने कार्यलाई निरन्तरता दिएको छ ।

“मुख्य सडकमा मात्रै नभई टोल–टोल र गल्ली–गल्ली सफाइ हुने गरी जनशक्ति परिचालन गर्नाका साथै सचेत बनाउने कार्यक्रम सञ्चालन गरिनेछ”, नगरप्रमुख सिंहले भने, “वीरगञ्जलाई थप स्वच्छ र सफा बनाउन ‘फोहोर गर्नेले नै सफा गर्दा लाग्ने खर्च’ दिनुपर्ने व्यवस्था लागू गरी फोहोर व्यवस्थापनलाई अझै बढी चुस्त बनाइने छ ।”