यस पटक तायाः मचा नृत्य प्रतियोगिता पोखरा नयाँबजारमा भदौ ८ गते हुने

-



     सफल आवाज    
     असार २२ गते २०८१ मा प्रकाशित



पोखरा, २२ असार । नेवाः खलः कास्कीले गाईजात्रा पर्वको अपसरमा आयोजना गर्दै आएको तायाः मचा नृत्य प्रतियोगिता २०८१ भदौ ८ गते गरिने भएको छ ।

२५० वर्ष पूरानो इतिहास रहेको गाइजात्रा पर्वको अवसरमा निकालिने तायाः मचा नृत्य यसपटक पोखरा महानगरपालिका वडा नं ९ स्थिर नयाँबजारमा आयोजना गरिने भएको हो ।

नेवाः खलः कास्कीले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी भाद्र ८ गते गण्डकी प्रदेश संग्रहालय रोड, शिव गणेश मार्गमा बिहान ८ बजे प्रतियोगिता उद्घाटन हुने र प्रतियोगिता बिहान ९ बजेदेखि शुरु हुने प्रतियोगिताका संयोजक शम्भुलाल श्रेष्ठले बताए ।

गाईजात्राको उपलक्ष्यमा निकालिने तायाः मचा नृत्य धार्मिक मान्यताका हिसाबले पितृ उद्धार कार्य र सांस्कृतिक हसिाबले पोखराको पहिचानको रुपमा रहेको छ ।

पर्वहरुले सामाजिक एकता, सद्भाव, माया, प्रेम र भाईचाराको सन्देश प्रवाह गरेर समाजलाई एकतावद्ध गराउन महत्वपूर्ण हुने भएकोले मौलिक पर्वहरुको संरक्षण हुनुपर्नेमा संयोजक श्रेष्ठले जोड दिए ।

पोखरा पर्यटकिय राजधानी पनि भएकोले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनका लागि महत्वपूर्ण हुने र नयाँ पुस्तालाई यसको आकर्षण र निरन्तरताको बोध गराउनु रहेको उनले बताए ।

कार्यक्रम सम्पन्न गनएका लागि स्थानीय सरकार, पोखरा महानगरपालिका, विभिन्न वडाहरु, व्यावसायीक प्रतिष्ठान र मनकारी सहयोगदाताहरुको सहयोग रहेको बताईएको छ ।

गएको वर्षमा झैं यस वर्ष पनि प्रतियोगिताका लागि नगल पुरस्कारहरु मातापिता स्व.हेमप्रसाद र स्व.बालकुमारी श्रेष्ठको स्मृतिमा उहाँका छोराहरु पोखरा ३ निवासी रामकाजी श्रेष्ठ, रविन्द्र श्रेष्ठ, शंकर श्रेष्ठ र कविन्द्र श्रेष्ठबाट प्राप्त हुने भएको छ ।

प्रतियोगितामा महिला, पुरुष गरी विभिन्न टोलका ३६ समूहको टोलीले नृत्य देखाउने भएका छन् । यसपटक नेवाः खलः कास्कीले प्रतियोगिताको जिम्मेवारी नयाँबजार सांस्कृतिक समितिलाई दिएको छ ।

“संस्कृति र परम्पराको प्रवर्धन ः पहिचानको संरक्षण” नाराका साथ आयोजना हुने प्रतियोगिताका लागि टोलका नेवाः मिसा पुच नयाँजबार, ल्याम्ह पुच नयाँबजार र नेवाः कल्याणकारी गुठी नयाँबजार यसको तयारीमा जुटेको संयोजक श्रेष्ठले बताए ।