तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र

-



     सफल आवाज    
     श्रावण १२ गते २०८१ मा प्रकाशित



दमौली (तनहुँ), १२ साउन । करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि लमजुङको कुन्छा जोड्ने सडकमा बल्ल कालोपत्र गर्न थालिएको छ ।

भानु–११ मानेचौका बजारदेखि आयुर्वेदचोकसम्म पहिलो चरणमा कालोपत्र गर्ने कार्य सुरु भएको हो । तीन दशक अगाडि ट्र्याक खुलेको उक्त सडकखण्डमा पहिलो चरणमा रु ९८ लाख बराबरको काम भइरहेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए।

आर्थिक वर्ष २०८०÷८१ मा विनियोजित उक्त बजेटबाट अहिले कालोपत्र गर्न थालिएको हो । यो सडकले तनहुँको भानुसँगै लमजुङको कुन्छालाई जोड्ने छ । नगरपालिकाले सो सडकखण्डलाई नगर गौरवको आयोजनाका रुपमा सूचीकृत गरेको छ ।

नगरपालिका, प्रदेश र सङ्घीय सरकारसँगको साझेदारीमा उक्त सडकको बाँकी खण्डमा पनि कालोपत्र गर्दैलैजाने प्रमुख त्रिपाठीले बताए।