शिलान्यासको छ वर्षपछि नमूना सदरमुकाम निर्माण सुरु

-



     सफल आवाज    
     जेठ १९ गते २०८२ मा प्रकाशित



त्रिवेणी (नवलपरासी), १९ जेठ । शिलान्यासको छ वर्षपछि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माणले गति लिएको छ । विसं २०७६ वैशाख ७ गते जिल्लामा रहने सबै सरकारी कार्यालय एकै ठाउँमा निर्माण गर्ने गरी सदरमुकामको शिलान्यास गरिएको थियो ।

जिल्लाको कावासोती नगरपालिका–३, मा रहेको एक सय ८७ बिघा जग्गामा सदरमुकाम निर्माण गर्ने महत्वकाक्षी योजनाअघि सारिएको थियो । तर शिलान्यास भएको लामो समयसम्म काम अघि बढ्न सकेको थिएन । हाल आएर सदरमुकाम निर्माण ले गति लिएको छ ।

नमूना सदरमुकाम निर्माणस्थलमा हाल दुई वटा ठेक्काबाट अलगअलग कार्यालयका भवन निर्माणको काम अघि बढेको छ । पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयको भवन र अन्य दुई वटा कार्यालय रहने गरी एउटा एकीकृत भवन निर्माणको काम थालिएकोमा अहिले थप भवन निर्माणको काम सुरु गरिएको छ ।

चौधरी कष्ट्रक्सनले रु ३० करोड ६५ लाख छ हजार पाँच सय २७ को लागतमा जिल्ला प्रशासन कार्यालय र एउटा एकीकृत भवन निर्माणको काम गरिरहेको छ । विसं २०८३ पुस २१ सम्म निर्माण सम्पन्न गर्ने गरी कामअघि बढिरहँदा अहिले दोस्रो चरणमा भ्याटबाहेक रु तीन अर्ब ६१ करोडको लागतमा सदरमुकाम निर्माणस्थलमा थप काम अघि बढेको सघन सहरी तथा भवन निर्माण आयोजना, चितवनका प्रमुख झपटबहादुर थापाले बताए ।