
जानकी (बाँके), २४ माघ। लुम्बिनी प्रदेशमै पहिलो अनलाइन माध्यमबाट सञ्चालन हुने ट्याक्सी तथा मोटरसाइकल सेवा ‘ई–ड्राइभ नेपाल’ले आजदेखि नेपालगञ्जमा औपचारिक रूपमा आफ्नो सेवा शुभारम्भ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्टले आज उक्त सेवाको शुभारम्भ गर्नुभएको हो ।
उक्त सेवा आजदेखि बाँके र बर्दियामा सुरु भएको हो । सो अवसरमा नगरप्रमुख बिष्टले भन्नुभयो, “प्रविधिमैत्री यस्ता सेवाले सहरको यातायात सेवालाई सहज बनाउनुका साथै नागरिकलाई सुरक्षित र भरपर्दो सेवा उपलब्ध गराउने विश्वास छ ।” नेपालगञ्जमा सुरु गरिएको विद्युतीय ट्याक्सी सेवाले आफ्नै देशमा काम गर्ने वातावरण सिर्जना गरेको उहाँले बताउनुभयो ।
अठार महिना अघि बुटवल–भैरहवा क्षेत्रबाट सुरु गरिएको ई–ड्राइभ सेवा अब बाँकेको प्रमुख सहर नेपालगञ्जमा विस्तार गरिएको ई–ड्राइभ लुम्बिनीका निर्देशक विजय भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार आजैदेखि बाँके र बर्दियामा एकसाथ ई–ड्राइभ नेपालको सेवा विस्तार भएको छ ।
निर्देशक भण्डारीले भन्नुभयो, “समयअनुसार सेवा प्रणाली प्रविधियुक्त डिजिटल बन्दै गइरहेको सन्दर्भमा ट्याक्सी सेवालाई पनि प्रविधिसँग जोडेर अनलाइन माध्यमबाट सुरक्षित, सहज र सुलभ सेवा प्रदान गर्ने उद्देश्यले नेपालगञ्जमा सेवा सञ्चालनमा ल्याएका हौँ ।”
कार्यक्रममा ई–ड्राइभ लुम्बिनीका अध्यक्ष राजकुमार गुप्ताले युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउने र रोजगारी सिर्जना गर्ने लक्ष्यसहित यो सेवा सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “युवालाई विदेश जान बाध्य पार्नुको सट्टा स्वदेशमै रोजगारी सिर्जना गर्ने हाम्रो उद्देश्य हो । आगामी दिनमा ई–ड्राइभ सेवालाई देशभर विस्तार गर्ने योजना बनाएका छौँ ।” हाल ई–ड्राइभ लुम्बिनीले रु सात करोडभन्दा बढी लगानी गरेको छ ।
हाल रुपन्देहीमा एक सय १० ट्याक्सी तथा पाँच सयभन्दा बढी मोटरसाइकल चालकमार्फत सेवा दिँदै आएको ई–ड्राइभले नेपालगञ्जमा प्रारम्भिक चरणमा १५ विद्युतीय ट्याक्सीमार्फत सेवा सुरु गरेको ई–ड्राइभ लुम्बिनीका निर्देशक भण्डारीले बताउनुभयो ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




