नाडाको नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण र सपथ ग्रहण सम्पन्न

-



     सफल आवाज    
     फागुन २९ गते २०८२ मा प्रकाशित



काठमाडौं, २९ फागुन । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीलाई आफ्नो पदभार विधिवत रूपमा हस्तान्तरण गरेका छन् ।

सो अवसरमा निवर्तमान अध्यक्ष चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले नाडाको संस्थागत विकास तथा अटोमोबाइल क्षेत्रको उन्नयनमा उहाँको नेतृत्व महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै आफ्नो कार्यकालमा नाडाको उद्देश्य, विधान तथा मूल्य मान्यताहरू अनुरूप संस्थालाई अझ सशक्त, सक्रिय तथा प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले सम्पूर्ण सदस्य व्यवसायीहरूको हित संरक्षण, अटोमोबाइल क्षेत्रको विकास तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै अघि बढ्ने धारणा व्यक्त गरे।

उक्त बैठककै क्रममा नाडाका नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नाडा विधान २०७८ को दफा २०.१ को ‘ङ’ बमोजिम महेश पाल, दीपककुमार अग्रवाल तथा राजेश गिरीलाई नाडाको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरे। उनले मनोनित सदस्यहरूलाई स्वागत गर्दै संस्थाको आगामी गतिविधिहरूमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे।

नाडाको केन्द्रीय कार्यसमितिले निकट भविष्यमै पदाधिकारीहरूको चयनका लागि निर्वाचन प्रक्रिया सम्पन्न गर्ने निर्णय समेत गरेको छ। आगामी दिनहरूमा नाडाले अटोमोबाइल क्षेत्रको समग्र विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा नीतिगत सहकार्यलाई थप सुदृढ गर्दै अघि बढ्ने विश्वास व्यक्त गरिएकाे छ।