
क्यानडा । १९८० को दशकपछि पूर्वी एसिया र खाडी मुलुकहरूमा श्रमको माग तीव्र रूपमा बढ्न थालेपछि हजारौं नेपाली युवाहरू रोजगारीको खोजीमा विदेशिन थाले। नेपाल सरकारले सन् १९८५ मा वैदेशिक रोजगारसम्बन्धी कानुनी ढाँचा लागू गरेपछि श्रमिक विदेश पठाउने प्रक्रिया औपचारिक र व्यवस्थित बन्दै गयो।
सुरुका वर्षहरूमा पश्चिमी देशहरूमा नेपालीहरूको उपस्थिति अत्यन्त न्यून थियो। उदाहरणका लागि, अमेरिकी जनगणना ब्युरो (US Census Bureau) का अनुसार सन् १९९० मा अमेरिकामा नेपाली मूलका केवल २,६१६ व्यक्तिहरू थिए। त्यस्तै, क्यानाडाको Statistics Canada का अभिलेख अनुसार सन् १९९१ सम्म नेपालमा जन्मिएका करिब १२५ व्यक्तिहरू मात्र क्यानाडामा बसोबास गर्थे।
तर सन् १९९० मा नेपालमा प्रजातन्त्र पुनःस्थापना र त्यसपछि अमेरिकाले विस्तार गरेको Diversity Visa (DV) कार्यक्रमले नेपालीहरूको पश्चिमी देशतर्फको आप्रवासनमा ठूलो मोड ल्यायो। त्यसपछि उच्च शिक्षा, दक्षता र स्थायी बसोबासका अवसर खोज्दै नेपालीहरू अमेरिका, क्यानाडा, अष्ट्रेलिया र युरोपतर्फ आकर्षित हुन थाले। उनीहरूले त्यहाँ पुगेर भाषा र सीप सिके, श्रम बजारमा स्थापित भए, र क्रमशः आर्थिक रूपमा सुरक्षित जीवन निर्माण गरे।
आज, करिब चार दशकपछि, यही पुस्ता अवकाशको चरणमा प्रवेश गरिरहेको छ। पछिल्ला दशकहरूको तथ्यांकले नेपाली डायस्पोराको तीव्र विस्तारलाई स्पष्ट देखाउँछ। US Census Bureau को American Community Survey अनुसार अमेरिकामा नेपाली मूलका जनसंख्या सन् २०१० मा ५९,४९० बाट बढेर सन् २०२० मा २,१९,५०३ पुगेको छ।
अष्ट्रेलियाको Australian Bureau of Statistics अनुसार त्यहाँ नेपाली जन्मिएका व्यक्तिहरूको संख्या सन् २०१४ मा करिब ४२,९०० बाट बढेर सन् २०२१ सम्म १,३१,००० भन्दा माथि पुगेको छ, र पछिल्ला वर्षहरूमा यो संख्या अझ बढेको अनुमान छ। विश्वस्तरमा हेर्दा, अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM) र विश्व बैंक (World Bank) का विभिन्न अध्ययनहरू अनुसार विदेशमा बसोबास गर्ने नेपालीहरूको संख्या पछिल्ला वर्षहरूमा ७–८ लाखभन्दा बढी पुगेको मानिन्छ।
यी तथ्यांकहरूले केवल जनसंख्या वृद्धि मात्र देखाउँदैनन्; यसले एउटा पुस्ताको जीवनचक्रलाई पनि स्पष्ट पार्छ। सन् १९९० र २००० को दशकमा युवा उमेरमा विदेश गएका नेपालीहरू आज ५५ देखि ७० वर्षको उमेर समूहमा पुगेका छन्। करियर र कमाइको लामो यात्रापछि उनीहरू अब जीवनको अर्को महत्वपूर्ण निर्णयको मोडमा छन्, अवकाशपछि कहाँ बस्ने?
धेरैकाे उत्तर अझै पनि नेपाल
यो चाहना केवल भावनात्मक देखिए पनि यसको भित्र गहिरो आर्थिक सम्भावना लुकेको छ। हालको विश्लेषणमा हामीले मुख्य रूपमा चार देश क्यानाडा, अमेरिका, बेलायत र अष्ट्रेलियामा रहेका नेपालीहरूलाई केन्द्रमा राखेका छौं। यी देशहरूमा मात्रै करिब ३ देखि ३.५ लाख पहिलो पुस्ताका नेपालीहरू अवकाशको चरणमा छन्। तर यति मात्र होइन जापान, दक्षिण कोरिया, मध्यपूर्व, युरोपका अन्य देशहरू र विश्वका अन्य भागहरूमा पनि यस्तै अवस्थाका हजारौं नेपाली छन्। त्यसैले यहाँ प्रस्तुत गरिएको सम्भावना वास्तवमा न्यूनतम अनुमान मात्र हो।
विदेशमा बिताएको समयले यी व्यक्तिहरूलाई एउटा महत्त्वपूर्ण आर्थिक सुरक्षा दिएको छ पेन्सन। क्यानाडामा बसेका नेपालीहरूले Canada Pension Plan (CPP) र Old Age Security (OAS) मार्फत स्थिर मासिक आय पाउँछन्, जसलाई Registered Retirement Savings Plan (RRSP) र Tax-Free Savings Account (TFSA) जस्ता योजनाबाट थप बलियो बनाइएको हुन्छ।
अमेरिकामा Social Security, 401(k) र IRA योजनाहरू छन्। बेलायतमा State Pension र workplace pension छन् भने अष्ट्रेलियामा Superannuation प्रणालीले अवकाशपछिको जीवनलाई आर्थिक रूपमा सुरक्षित बनाउँछ। यी सबै प्रणालीहरूको एउटा साझा विशेषता छ अवकाशपछि पनि आम्दानी रोकिन्न, बरु स्थिर रूपमा आइरहन्छ।
अब यसको प्रत्यक्ष अर्थ नेपालका लागि के हुन सक्ला ?
यदि यी ३-३.५ लाख व्यक्तिहरूमध्ये केवल १० प्रतिशत करिब ३५,००० व्यक्ति (१७,५०० दम्पती) नेपाल फर्किए भने, प्रत्येक दम्पतीको औसत मासिक आय करिब USD ६,००० मान्दा, नेपालमा प्रत्येक महिना करिब USD १० करोडभन्दा बढी (१०५ मिलियन डलर) सिधै भित्रिन सक्छ। वार्षिक रूपमा यो रकम USD १.२ अर्बदेखि १.८ अर्बसम्म पुग्छ। यो रकम केवल बैंक खातामा थन्किने होइन । यो नेपालमै खर्च हुनेछ। जसले बजार, सेवा र स्थानीय अर्थतन्त्रलाई सिधै चलायमान बनाउनेछ।
यसको अर्को पाटो रोजगारीसँग अझ गहिरो रूपमा जोडिएको छ। अवकाशप्राप्त जीवन स्वतन्त्र भए पनि पूर्ण रूपमा आत्मनिर्भर हुँदैन, विशेषगरी उमेरसँगै दैनिक जीवनका कामहरूमा निरन्तर सहयोग आवश्यक पर्छ। तर यहाँ अर्को महत्वपूर्ण पक्ष पनि छ यी परिवारका छोराछोरीहरू प्रायः अझै पनि क्यानाडा, अमेरिका, बेलायत वा अष्ट्रेलियामै बसिरहेका हुन्छन्, त्यसैले नेपाल फर्किने अभिभावकहरूले आफ्नो दैनिक जीवन व्यवस्थित गर्न भरपर्दो स्थानीय सहयोग प्रणालीमा निर्भर हुनुपर्छ।

त्यसैले एउटा दम्पतीले सामान्यतया चालक, घरेलु सहयोगी, भान्से, र आवश्यक पर्दा नर्स वा केयरटेकर जस्ता सेवा प्रयोग गर्छ। सावधानीपूर्वक न्यूनतम अनुमान गर्दा पनि, एक दम्पतीले कम्तीमा तीनवटा प्रत्यक्ष रोजगारी सिर्जना गर्छ। यदि करिब १७,५०० दम्पती नेपाल फर्किए भने, यसले मात्रै कम्तीमा ५२,५०० प्रत्यक्ष रोजगारी सिर्जना गर्न सक्छ।
यसबाहेक स्वास्थ्य सेवा, यातायात, खुद्रा व्यापार, रेस्टुरेन्ट तथा आवास क्षेत्रमा उत्पन्न हुने अप्रत्यक्ष रोजगारी थप्दा यसको प्रभाव अझ व्यापक हुन्छ। यसरी हेर्दा, डायस्पोरा अवकाश केवल विदेशी मुद्रा भित्र्याउने माध्यम मात्र होइन, नेपालको सेवा–आधारित अर्थतन्त्रलाई विस्तार गर्ने शक्तिशाली इन्जिन बन्न सक्छ।
सम्भावना हुँदाहुँदै पनि किन यो प्रक्रिया स्वाभाविक रूपमा भइरहेको छैन ?
उत्तर व्यवहारिक चुनौतीहरूमा लुकेको छ। स्वास्थ्य सेवा सबैभन्दा ठूलो चिन्ता हो। विदेशमा वर्षौंसम्म उच्चस्तरीय स्वास्थ्य प्रणालीमा बसेका मानिसहरूका लागि नेपालमा त्यस्तै स्तरको सेवा पाउने विश्वास अझै पूर्ण रूपमा बनेको छैन। पूर्वाधार सडक, पानी, प्रदूषण र शहरी व्यवस्थापनले पनि जीवनको गुणस्तर निर्धारण गर्छ। तर सबैभन्दा ठूलो अवरोध आर्थिक नीतिसँग सम्बन्धित छ दोहोरो कर। नेपालसँग प्रमुख गन्तव्य देशहरूसँग Double Taxation Agreement (DTA) नहुनुले धेरैलाई अन्योलमा पारेको छ।
यसैबीच, विश्वका अन्य देशहरूले यो अवसरलाई सक्रिय रूपमा समातिरहेका छन्। पोर्चुगल, थाइल्याण्ड र मलेसियाले आफूलाई “retirement destination” का रूपमा विकास गरेका छन्। उनीहरूले कर छुट, विशेष भिसा र उच्चस्तरीय सेवा प्रदान गरेर विश्वभरका अवकाशप्राप्त नागरिकहरूलाई आकर्षित गरिरहेका छन्।
नेपाल तयार हुन्छ कि हुँदैन?
यदि नेपाल वास्तवमै यो अवसर समात्न चाहन्छ भने, केही आधारभूत नीतिगत निर्णयहरू अब ढिला नगरी लिनैपर्छ। सबैभन्दा पहिले, प्रमुख गन्तव्य देशहरूसँग दोहोरो कर सन्धि अनिवार्य छ। त्यसपछि, सरकारले अघि सारेको “Once Nepali, Always Nepali” भन्ने अवधारणालाई व्यवहारमा उतार्दै, प्रवासी नेपालीलाई बिना झन्झट नेपाल आउन बस्न पाउने व्यवस्था, नागरिक अधिकारको निरन्तरता र सम्पत्ति स्वामित्वमा सहजता सुनिश्चित गर्नुपर्छ।
यसै सन्दर्भमा, विशेष “डायस्पोरा रिटायरमेन्ट भिसा” को व्यवस्था ल्याउन सकिन्छ, जसले दीर्घकालीन बसोबास, स्वास्थ्य सेवा पहुँच र वित्तीय सहजता प्रदान गर्छ। यी नीतिहरूलाई योजनाबद्ध र सुरक्षित आवासीय क्षेत्र, आधुनिक स्वास्थ्य सेवा, र सहज बैंकिङ प्रणालीसँग जोड्न सकियो भने मात्र नेपाल वास्तवमै अवकाशप्राप्त प्रवासीहरूको आकर्षक गन्तव्य बन्न सक्छ।
दीर्घकालीन रूपमा हेर्दा, यसको प्रभाव अझ गहिरो हुनेछ। यदि वार्षिक रूपमा USD १.५ अर्ब बराबरको खर्च नेपालमा २० वर्षसम्म निरन्तर रह्यो भने, यसले USD ३० अर्बभन्दा बढी आर्थिक गतिविधि सिर्जना गर्न सक्छ। यस्तो स्थिर र पूर्वानुमान गर्न सकिने विदेशी मुद्रा प्रवाह नेपालजस्तो अर्थतन्त्रका लागि अत्यन्त मूल्यवान हुन्छ।
तर अन्ततः यो केवल आर्थिक विषय होइन। यो एउटा पुस्ताको घर फर्किने चाहनासँग जोडिएको विषय हो। उनीहरूले आफ्नो जीवनको सबैभन्दा उत्पादक समय विदेशमा बिताए, तर आफ्नो पहिचान र माटोको सम्बन्ध कहिल्यै टुट्न दिएनन्।
अब उनीहरू फर्किन चाहन्छन्। प्रश्न केवल यति हो—नेपालले उनीहरूलाई स्वागत गर्न तयार छ कि छैन? समय सीमित छ। निर्णय अहिले लिनुपर्छ। यदि हामीले यो अवसर समात्यौं भने डायस्पोराको अवकाश नेपालको विकास बन्न सक्नेछ
*तथ्यांक स्रोत: IOM नेपाल डायस्पोरा म्यापिङ २०२३–२४ | Australian Department of Home Affairs २०२४ | US Census Bureau | UK Office for National Statistics | The Nepali Diaspora’s Role in National Development, 2022* | Canda Revenue Agency, (CRA)








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




