लेखक ‘उदय’का पुस्तक ‘जीवन सुदर्शन र जिन्दगीका अदृश्य किरण’ पोखरामा लोकार्पण

-



     सफल आवाज    
     असार ११ गते २०८३ मा प्रकाशित



पोखरा, ११ असार । लेखक कृष्ण क्षेत्री उदयका दुई पुस्तक जीवन सुदर्शन र जिन्दगीका अदृश्य किरण बिहिबार पोखरामा लोकार्पण गरिएको छ ।

धार्मिक, आध्यात्मिक र दार्शनिक तथा समाज, सम्बन्ध, उत्तरदायित्व, समालोचना र प्रेरणालाई केन्द्रमा राखेर लेखिएको पुस्तकको एक समारोहबीच पुतलीबजार प्रज्ञा प्रतिष्ठानका कुलपति दुर्गा बहादुर शाह ‘बाबा’ले लोकार्पण गर्नुभएको हो ।

पुस्तक लोकार्पणको विशेष विशेषता रहेको थियो । लेखक उदयका बुबा सुबेदार देवीलाल क्षेत्रीको ८४औं जन्मोत्सवको तिथिको अवसरमा माता शुभकुमारी क्षेत्रीको उपस्थितिमा पुस्तकको लोकार्पण गरिएको हो ।

सो अवसरमा प्रमुख अतिथि कुलपति बाबाले सन्तान जस्ता प्यारा दुई कृतिहरु प्रकाशन गरेकोमा वधाई दिदैं शरिर मरेर गएपनि कृतिहरु अजम्बरी भईरहने बताउनु भयो । उहाँले लेखक कृष्ण कतै जाँदा, हिड्दा वा कुराकानी गर्दा पनि नयाँ नयाँ कुरा ल्याउने र सोचको विकास गर्ने मान्छे भएको बताउनु भयो ।

मानवीय जीवन दर्शन, आत्मज्ञान र सकारात्मक जीवनशैलीका विविध आयामहरूलाई समेटेर तयार पारिएका ती पुस्तकहरूको बारेमा बोल्दै लेखक उदयले मानव जीवनमा स्पष्ट उद्देश्यको महत्वमाथि विशेष जोड दिनुभयो। उद्देश्यविहीन जीवन दिशाहीन हुन्छ, जब हामी आफ्नो जीवनको लक्ष्य पत्ता लगाउँछौँ, तब मात्र हाम्रो यात्रा सार्थक बन्छ, उहाँले भन्नुभयो।

केवल लक्ष्य राख्नुभन्दा पनि सानासाना कदमहरू चालेर नियमित रूपमा काम गर्नु नै असल जीवनको प्रमुख पक्ष भएको उहाँको तर्क थियो। मानिस कति वर्ष बाँच्यो भन्नेभन्दा पनि कसरी बाँच्यो भन्ने कुराले बढी महत्व राख्ने उल्लेख गर्दै उहाँले पुस्तकमा आफ्ना भोगाइ, अध्ययन र अनुभवबाट प्राप्त ज्ञानलाई इमानदारीपूर्वक समेटेको जानकारी दिनुभयो।

समारोहमा बोल्दै लेखकले वर्तमान समयमा मानिसहरू अतीतको पश्चात्ताप र भविष्यको चिन्तामा रुमल्लिरहेको चर्चा गर्दै वर्तमान क्षणलाई पूर्ण रूपमा सदुपयोग गर्न सके मात्र जीवनको सौन्दर्य महसुस गर्न सकिने बताउनुभयो। समाजमा आपसी सम्बन्ध, प्रेम, करुणा र निःस्वार्थ सेवाभावको खडेरी पर्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले थप्नुभयो, मानव जीवनको साँचो सार अरूको सेवामा छ, जसले मानिसलाई आन्तरिक शान्ति र सन्तोष प्रदान गर्छू।

त्यसैगरी, आफ्नो अर्को कृति जिन्दगीका अदृश्य किरण लगायतका पुस्तकहरूमा सफलता र आत्मज्ञानको परिभाषालाई फरक ढंगले प्रस्तुत गरिएको उहाँले उल्लेख गर्नुभयो। सफलता र सुख(दुःखलाई हेर्ने मानवीय दृष्टिकोण नै मुख्य रहेको चर्चा गर्दै उहाँले जीवन जिउनुको पहिलो र महत्वपूर्ण चरण भनेको आत्मज्ञानको खोजी हुनुपर्ने धारणा राख्नुभयो। आफ्नो गुण र दोष दुवैलाई स्वीकार गरेर मात्र आत्मविकास सम्भव हुने र जीवनमा इच्छा, जिम्मेवारी, काम र आरामबिच सन्तुलन कायम राख्न जरुरी रहेको उहाँको भनाइ थियो।

समारोहको अन्त्यमा लेखक उदयले सम्पूर्ण पाठक वर्गलाई स्वस्थ र मस्त रहन शुभकामना दिँदै आफ्ना कृतिहरूले पाठकलाई सकारात्मक जीवन जिउने प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो। विमोचित कृतिहरूले नेपाली समाजमा जीवन दर्शन र आत्म(सुधारको क्षेत्रमा नयाँ इँटा थप्ने अपेक्षा गरिएको छ।

यसअघि कार्यक्रमका सहभागिलाई संस्थाका सचिव राजकुमार क्षेत्रीले स्वागत गर्नुभएको थियो । लेखकको परिचय विजय पौडेलले प्रस्तुत गर्नुभएको थियो ।

समारोहमा समालोचकद्वय कल्याण पन्त र असफल गौतमले पुस्तकको समिक्षा प्रस्तुत गर्नुभएको थियो । बागे पोखरा सामुदायिक मिलन चौतारीका अध्यक्ष नरहरी पनेरुको अध्यक्षतामा भएको कार्यक्रमकाे संचालन लोकराज लामिछानेले गर्नुभएको थियो ।