राष्ट्र बैंकले रु ३५ अर्बको ऋणपत्र जारी गर्दै, बैंक तथा वित्तीय संस्थाले मात्रै भाग लिन पाउने

-



     सफल आवाज    
     असार १६ गते २०८३ मा प्रकाशित



काठमाडौं, १६ असार । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले ३५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ क’ (NRB Bond 2084 ‘Ka’) जारी गर्ने भएको छ। बैंकले मिति २०८३ असार १६ गते बोलकबोल (Bidding) मार्फत उक्त ऋणपत्र निष्कासन गर्न लागेको हो।

१ वर्ष अवधिको यो ऋणपत्रको साँवा भुक्तानी २०८४ असार १६ गते हुनेछ भने यसको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

ऋणपत्रका मुख्य विशेषताहरू र सर्तहरू:

  • बोलकबोल र निष्कासन मिति: २०८३ असार १६ गते (मध्याह्न १२:०० बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत)।
  • ब्याजदर निर्धारण: सफ्टवेयरमार्फत बोलकबोलको माध्यमबाट एकल ब्याजदर (Single Rate) पद्धतिमा निर्धारण हुनेछ। बहुब्याजदरमा पनि बोल गर्न सकिनेछ।
  • लगानी सीमा: न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकम (३५ अर्ब) सम्म बोल गर्न सकिनेछ।
  • सहभागी हुन पाउने संस्थाहरू: राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू (काउण्टरपार्टी) मात्र यसमा सहभागी हुन पाउने छन्।

धितो र वैधानिक अनुपात सम्बन्धी व्यवस्था

यो ऋणपत्रलाई नेपाल राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। यस ऋणपत्रको स्वीकृत रकमलाई बैंकहरूले अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाउने छैनन्। तर, राष्ट्र बैंकको निर्देशनबमोजिम कायम राख्नुपर्ने वैधानिक तरलता अनुपात (SLR) र खुद तरल सम्पत्ति अनुपातमा भने यो रकम गणना गर्न पाइने सूचनामा उल्लेख छ।

पर्याप्त मौज्दात नभए हर्जाना र प्रतिबन्ध

ऋणपत्र निष्कासनको दिन काउण्टरपार्टीको खातामा पर्याप्त रकम नभएमा उक्त स्वीकृत बोल रद्द गरिनेछ। साथै, सो रकमको २.५० प्रतिशत हर्जाना लगाउनुका साथै ६ महिनासम्म खुला बजार कारोबार र ब्याजदर करिडोरका कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लगाइने कडा व्यवस्था राष्ट्र बैंकले गरेको छ।

समान ब्याजदर कबोल गर्नेहरूको रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएमा समानुपातिक (Pro-rata Basis) रूपमा बाँडफाँट गरिनेछ। स्वीकृत बोलपत्रअनुसार ऋणपत्र खरिद गर्ने संस्थाहरूलाई बैंकले खुला बजार कारोबारसम्बन्धी कार्यविधि बमोजिमको प्रमाणपत्र प्रदान गर्नेछ।