सांघाई अटो एक्स्पोमा सहभागी हुने टाेलीलाई बिदाई

-



     सफल आवाज    
     श्रावण १७ गते २०८३ मा प्रकाशित



पोखरा, १७ साउन । चीनको सांघाईमा आयोजना हुने अन्तर्राष्ट्रिय अटो एक्स्पो तथा तालिम कार्यक्रममा सहभागी हुन नेपालबाट ३० जना अटो मेकानिक्सको टोली चीन प्रस्थान गर्ने भएको छ।

‘एपेस सोर्सिङ एण्ड म्याचिङ कन्फरेन्स–२०२६’ को निमन्त्रणामा नेपाल अटो मेकानिक्स व्यवसायी महासंघको नेतृत्वमा जान लागेको उक्त टोलीमा पोखराका २२ जनासहित देशभरका ३० जना मेकानिक्सहरू रहेका छन्।

सोमबार चीनतर्फ उड्ने उक्त टोलीलाई आइतबार पोखरामा एक विशेष कार्यक्रमका बिच बिदाइ गरिएको छ। गण्डकी अटो मेकानिकल्स एसोसिएसनका कार्यवाहक अध्यक्ष नवराज सुनार, पूर्व अध्यक्ष सनतकुमार भट्टराई, सल्लाहकारहरू सानुमान जलारी र सल्लाहकार कृष्णबहादुर थापालगायतले भ्रमण टोलीलाई खादा तथा माला लगाएर शुभकामनासहित बिदाइ गरे।

११ दिने भ्रमणमा आधुनिक प्रविधि र मर्मतसम्भारको तालिम

कुल ११ दिनको भ्रमण तालिका रहेको यस कार्यक्रममा टोलीले सांघाई एक्स्पोमा अटोमोबाइल क्षेत्रमा आएका आधुनिक परिवर्तन, नयाँ प्रविधि, उपकरण र पार्टपुर्जाको अवलोकन गर्नेछ। साथै, अटो क्षेत्रमा आएको परिवर्तन अनुसार मर्मतसम्भार सम्बन्धी व्यावहारिक तालिमसमेत लिनेछ।

महासंघका वरिष्ठ उपाध्यक्ष कुलबहादुर नेपालीका अनुसार तालिमलाई थप प्रभावकारी बनाउन ३० जनाको टोलीलाई ५ फरक-फरक विधामा (प्रतिकोण ६ जनाका दरले) विभाजन गरिएको छ। जसअन्तर्गत:

  • इभी (इलेक्ट्रिक भेइकल) वायरिङ
  • इन्जिन
  • पाट्र्स र पम्प इन्जिन
  • टर्बो
  • बडी मेकानिक

वरिष्ठ उपाध्यक्ष नेपालीले मेकानिक्सहरूको पूर्वअनुभव र दक्षताका आधारमा सम्बन्धित विषयमै विशेषज्ञता हासिल गर्ने गरी टोली विभाजन गरिएको जानकारी दिए।

छेन्दुको अटो कारखाना र सेवा केन्द्रको अध्ययन भ्रमण

गण्डकी अटो मेकानिक्स एसोसिएसनका अध्यक्ष विष्णुप्रसाद अधिकारीका अनुसार टोलीले छेन्दुस्थित ‘एसआरएम’ गाडी उत्पादक कारखानाका साथै चीनका व्यवस्थित अटो सेवा केन्द्र (अटोल्यान्ड) को समेत अध्ययन भ्रमण गर्नेछ।

इलेक्ट्रिक गाडी (इभी) को प्रविधिमा तीव्र विकास भइरहेको सन्दर्भमा यो तालिम अत्यन्तै महत्वपूर्ण हुने अध्यक्ष अधिकारीले बताए। “हामीले हालसम्म आफ्नै अनुभवका आधारमा मर्मतसम्भार गर्दै आएका थियौँ, तर यो उच्चस्तरीय तालिमपछि अझ दक्ष भएर सेवा दिन सक्नेछौँ,” उनले भने।

८० देशका १७ सय कम्पनीको सहभागिता

विश्वका ८० देशका प्रतिनिधि र १ हजार ७ सय गाडी उत्पादक कम्पनीहरूको सहभागिता रहने यस एक्स्पोमा आयोजकले नेपालसहित ५० देशका सहभागीहरूका लागि खाने, बस्ने र तालिमको खर्च व्यहोर्नेछ। यद्यपि, आउने-जाने हवाई भाडा भने सहभागी स्वयंले व्यहोर्ने छन्। जसअनुसार प्रतिव्यक्ति २ लाख रुपैयाँभन्दा बढी खर्च सहभागीहरू आफैँले जुटाएका छन्। तालिमका लागि पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारसँग सहयोगको अपिल गरिए पनि कुनै सहयोग प्राप्त नभएको अध्यक्ष अधिकारीले बताए।

बिदाइ कार्यक्रममा बोल्दै कार्यवाहक अध्यक्ष नवराज सुनार र सल्लाहकार कृष्णबहादुर थापाले यस भ्रमणलाई केवल अवलोकनमा सीमित नराखी आधुनिक ज्ञान, सीप र प्रविधि आर्जन गरेर नेपालको अटोमेकानिकल क्षेत्रलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आग्रह गरे।

उक्त बिदाइ कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सूर्य सिकारुले गरेका थिए।