
काठमाडाैं, २२ साउन । कान्छा छोरा प्रभातको जन्मदिन मनाउन आज मलाई आफ्नै जन्मभूमि चिचिलातिर लैजान मन लाग्यो। उसले पनि खाना खाने क्रममा मकालु हीरक पार्क जाने रहर सङ्केत गरेको थियो। आखिर भोलिदेखि त उसको स्कूल खुल्छ नै, त्यसैले ‘आजै गइहालौँ न त’ भन्ने भयो।
सङ्खुवासभा जिल्लाको सदरमुकाम खाँदबारीबाट उत्तरतिर अवस्थित छ— सानो तर मनमोहक गाउँपालिका चिचिला। उत्तर-दक्षिण राजमार्ग समातेर सवारी साधनमा जाने हो भने खाँदबारीबाट आधा घण्टामै आरामले चिचिला बजार पुगिन्छ। चिचिला बजारबाट मूल बाटो नछोडी ५ मिनेट जति अगाडि बढेपछि कप्ताने पोखरी आइपुग्छ। तत्कालीन कप्तानले ढुङ्गा काटेर बनाएको चौतारीसँग जोडिएकाले यसको नाम ‘कप्ताने पोखरी’ रहन गएको ऐतिहासिक भनाइ छ। यही पोखरीसँगै जोडिएको पश्चिमपट्टिको करिब १०० रोपनी जग्गामा अहिले बन्दैछ—मकालु हीरक पार्क।
अहो! आज मातृभूमिको मायाले तानिहाल्यो। दिउँसोको झण्डै १ बजे खाँदबारीबाट बाटो लागियो। ठ्याक्क साढे १ बजे पार्कको खेलमैदानमा गाडी रोकेर ओर्लियौँ। यसो माथितिर फर्केर हेर्दा मन फुरुङ्ग भयो— जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी। मलाई त मेरो जन्मभूमि साक्षात स्वर्गको टुक्रा जस्तै लाग्यो।
मेरो पहिलो नजर मैदानमा पर्यो। पहाडी भूभागमा पनि करिब २० रोपनी क्षेत्रफलमा फैलिएको त्यो विशाल मैदानले मनै लोभ्यायो। गिट्टीहरू थुपारिएकै अवस्थामा भए पनि ‘चीन-भारत मैत्रीपूर्ण फुटबल आयोजना गरिहालूँ कि’ जस्तो उमङ्ग जाग्यो। मनमा कल्पिएँ— अब त जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिताहरू यही मैदानमा गर्न पाए खेलाडीहरूले कति शीतल वातावरणमा खेल्न पाउँथे होला! निर्माणाधीन अवस्थामै रहेको यो हीरक रङ्गशाला भोलि कोशी प्रदेशस्तरीय रङ्गशाला बन्ने प्रशस्त सम्भावना बोकेर बसेको छ।
आँखाहरू बिस्तारै भित्तातर्फ उचालिए। त्यो हरियो पाखो देख्दा लाग्यो—यहाँ चियाबारी बनाउन पाए कति सुन्दर देखिन्थ्यो होला! काठका कलात्मक बुट्टादार टुँडालहरूले बनेका सुन्दर टहराहरू र थकाइ मेट्ने फलैँचाहरू हालिएका रहेछन्। भित्तामा नीलो टीनको छाना देख्दा नीलो आकाशमा नयनहरू उदाए झैँ आभास भयो। रेलिङले बारिएका सिमेन्टका दुईवटा सिँढीहरू आँखैअघि तैरिए। सिँढी सिद्धिने बित्तिकै एउटा सुनौलो मूर्तिको मुकुट र अनुहार दर्शन भयो। त्यत्रो तलबाट पनि शान्तिका अग्रदूत गौतम बुद्धको त्यो मुस्कानले मन सजिलै हरण गर्यो। हीरक पार्कको पूर्वी भागमा पूर्वतर्फ नै फर्काएर बुद्धको भव्य मूर्ति बनाइएको रहेछ।
हामी पैदलै उकालो लाग्यौँ। दायाँपट्टिबाट ३ मिनेट जति कच्ची बाटो घुमेर उकालो चढेपछि सिँढीहरूसम्म पुगियो। दुई-दुई खुड्किलाको अन्तरमा दायाँ-बायाँ रोपिएका धुपी र सल्लाका बोटहरू हुर्किसकेका रहेछन्। चाँप र गुराँसका बिरुवाहरू पनि सरिसकेछन्। अब ती मर्दैनन्, फक्रिनेछन्। आफ्नो वैंशमा यी बिरुवाहरू फुल्दा यो ठाउँ कस्तो देखिएला! आरामदायी खुड्किलाहरू चढिसकेपछि मात्र साक्षात रूपमा दृष्टिगोचर भयो— मकालु हीरक पार्क।
आँखै अगाडि मकालु हिमाल उभिए झैँ मकालुको सुन्दर प्रतिकृति! हीरक पार्कको केन्द्रीय आकर्षण नै यही रहेछ। वरिष्ठ स्रष्टा विक्रमश्रीले डिजाइन गरेको यो हिमाल बेसक्याम्पबाट मकालु हेरे जस्तै जीवन्त देखिन्छ, जसले ह्वात्तै जाडो बढेको अनुभूति गराउँछ। हिजो मात्र कलाकार कालाजी यस जीवन्त हिमाललाई मूर्तरूप दिएर बिदा भएका रहेछन्। स्रष्टा विक्रमश्रीलाई भेट्न पाएको भए म हजार सलाम गर्थेँ! सँगै गएका कान्छा छोरा इन्जिनियर प्रभातलाई भनेँ— “पोख्त इन्जिनियर र सच्चा कला भनेको त यो हो नि बाबु! कलाकार त ईश्वरका अंश हुन्, जसले बोल्लान् झैँ लाग्ने देवता पनि रचना गर्न सक्छन्।”
अझ अग्लो गौतम बुद्धको मूर्ति हेरेर म थप मोहित भएँ। त्यसै क्रममा मकालुको दक्षिण-पूर्वी मोहडामा एउटा ढोका देखियो। मैले नजिकै रहेका ठेकेदार पेमादोर्ची शेर्पालाई सोधेँ— “भतिज, यो शिव-पार्वती गुफाको परिकल्पना हो?” उनले मुस्कुराउँदै भने— “होइन काका, यो त प्रवेशद्वार हो। यहाँ भित्र सङ्ग्रहालय बन्दैछ।” नभन्दै भित्र पसेर हेर्दा त आकर्षक पिल्लरहरू राखेर बनाइएको झण्डै ८० वर्गमिटरको भव्य हल पो रहेछ! “अब यहाँभित्र अरुण उपत्यकाका प्राचीन वस्तुहरूको सङ्ग्रहालय बन्छ काका!” उनको कुरा सुन्दा मनमा सीमाहीन आनन्द छायो। म गद्गद् भएर बाहिर निस्किएँ।
गज्जबै-गज्जबको यो पार्कमा निर्माण सल्लाहकार लाक्पा भाइले अर्को रोचक कुरा थपे— “यो बनाइएको हिमालमा आरोहण पनि गर्न सकिन्छ।” साँच्चै घुमाएर देखाउँदा त आरोहणको सहजताका लागि क्लिपहरू पनि ठोकिएका रहेछन्! डोरी लगाएर पूर्वी मोहडाबाट चढ्ने र पश्चिमी मोहडाबाट ओर्लने व्यवस्था मिलाइएको रहेछ। अर्को अचम्म त के भने, यो प्रतिकृतिले प्राकृतिक मकालु हिमाललाई ठ्याक्कै त्यही रूप र आकारमा प्रतिविम्बित गर्छ। उत्तरपट्टिबाट हेर्दा प्राकृतिक मकालु हिमाल जसरी सग्लो देखिन्छ, यो पनि ठ्याक्कै त्यस्तै देखिने! सर्लक्कै बोकेर ल्याएर थपक्कै राखे जस्तै। ‘यो सक्कली हो कि नक्कली?’ छुट्याउनै धौ-धौ पर्ने!
बौद्ध मूर्तिको आधार (तल्लो भाग) भित्र एउटा विशेष कोठा रहेछ। त्यहाँ गएर ध्यान गर्दा परमशान्ति प्राप्त हुने वातानुकूलित (Air-conditioned) डिजाइन रहेछ। जीवनमा कतै विरक्ति चलेछ भने त्यहाँ गएर एक दिन ध्यानमा बिताउनुपर्ला भन्ने लाग्यो। नजिकै अर्को विशाल पत्थर खेम्पालुङ हिमाल जस्तै देखिन्थ्यो। त्यसलाई रेलिङ लगाएर माथिसम्म चढ्न मिल्ने गरी सजाउने र बौद्ध स्तूपको रूप दिने योजना रहेछ। अहो! यो पूर्ण रूपमा बनिसक्दा कस्तो होला? पार्कमा बाह्रैमासे फूलहरूका साथै चाँप र गुराँस फुलाउने योजना पनि सुनाइयो। परिपरी चाँप र गुराँस त हरिया भएर मुस्कुराइसकेका थिए। यो पार्क बनिसकेपछि एउटा विशाल कविगोष्ठी आयोजना गर्नुपर्ला, शैक्षिक भ्रमणमा विद्यार्थीहरू ल्याउनुपर्ला, अनि पिकनिक आउनुपर्ला— मेरो चञ्चल दिमागले धेरै कुरा सोच्यो।
पिकनिक स्पटको परिकल्पना पनि रहेछ। “अनि यी टहराहरू नि?” मेरो प्रश्न भुइँमा खस्न नपाउँदै पेमा दोर्चीले भने— “पिकनिक स्पटका लागि हो काका!” नजिकै एउटा भवन देखेर सोध्दा भतिजले भने— “त्यो प्राकृतिक सूचना केन्द्र हो।” ठेकेदार पेमाका अनुसार सङ्घ र स्थानीय सरकारको ६०/४० को लागत साझेदारीमा रु. ४ करोडको बजेटमा यो निर्माण भइरहेको रहेछ। रिदोर्ची शेर्पा, कर्माठिले शेर्पा, रिदोर्ची शेर्पा र फिरोओङ्जी शेर्पा गरी चार जना दानी महानुभावहरूले १०० रोपनी जग्गा निःशुल्क दान गरेको सुनेपछि श्रद्धाले शिर निहुरियो।
३ वर्षदेखि बनिरहेको यो पार्क अब एक वर्षभित्र सम्पन्न हुने पेमादोर्चीले जानकारी दिए। यस पार्कको उद्घाटन भने २०७२ सालमा चिचिलामा सम्पन्न “मकालु हीरक महोत्सव”का क्रममा प्रमुख अतिथि (तत्कालीन वसन्तपुर / वर्तमान पूर्व राष्ट्रपति) विद्यादेवी भण्डारीले गर्नुभएको थियो। त्यही ऐतिहासिक विरासतसँगै गाउँपालिकाको नाम ‘चिचिला’ रहन गयो र आज चिचिलालाई विश्वसामु चिनाउने सम्पदाका रूपमा मकालु हीरक पार्क आकार लिँदैछ।
अवलोकनपछि हामी कप्ताने पोखरीतर्फ लाग्यौँ। कप्तानेमा एउटा सुन्दर बाटुलो जलाशय छ। यसको वरिपरि रेलिङले बारिएको छ र टायल बिछ्याइएको पदमार्ग बनाइएको छ। रेलिङका खम्बाहरूमा गमला राखेर विभिन्न प्रजातिका फूलहरू रोपिएका छन्। पश्चिमपट्टि बीचमा सिंहदेवीको थान छ भने गेटमा दुईवटा सिंहका मूर्तिहरू छन्। वरपर हरिणका मूर्तिहरू सजिएका छन्। पदमार्ग बाहिर उत्तर-दक्षिण सिमसार फैलिएको छ। झ्याम्म परेका कटुसका अग्ला बुढा रुखहरूको जंगल भए पनि पोखरीमा एउटा पात पनि देखिँदैन। ‘चराहरूले पोखरीको पात टिपेर अन्तै लैजान्छन्’ भन्ने किंवदन्ती सत्य हो कि जस्तै लाग्यो।
सुस्ताउनका लागि सुन्दर टहराहरू छन् भने ओसिलो ठाउँमा लेकाली जडीबुटीहरू उम्रेका छन्। केही बेर घाम खुल्ने र लगत्तै हुस्सुले ढाकिहाल्ने दृश्य हेर्दा यो पोखरीमा पनि रौता पोखरी, सभापोखरी र साल्पा पोखरीमा जस्तै कुनै अलौकिक शक्ति लुकेको महसुस हुन्छ। पहिले-पहिले मानिसहरूलाई छोप्न उर्लेर बाटो सम्म आउँथ्यो भन्ने पुर्खाको भनाइ मानेर होस् या विशेष आस्थाका कारण, यस पोखरीमा अद्यापि मानिसहरू प्रवेश गर्दैनन्।
यति महान् सौन्दर्यको अवलोकनपछि यी योजनाहरूलाई सफल कार्यान्वयन गराउन खट्नुभएका चिचिला गाउँपालिका अध्यक्ष पासाङनूर्वू शेर्पाको घर पुगेर फर्कन मन लाग्यो। उहाँ घरमा हुनुहुन्न भन्ने थाहा हुँदाहुँदै पनि पाइला उतै मोडिए। त्यसपछि २०४७ सालमा स्थापित सिंह प्राथमिक विद्यालय (हुरुरु) को संस्थापक प्रधानाध्यापक भएकाले बाटो काटेर जान मन लागेन। त्यहाँ पुग्दा वर्तमान प्रअ शेर्पाले ३ जना विद्यार्थीहरूलाई पढाइरहनुभएको रहेछ। उहाँ त म आफैँले उबेला पढाएकी चेली पो निस्किनुभयो! त्यतिबेला अहिलेका पालिका अध्यक्ष र ती हेडमिसलाई मैले नै अक्षर चिन्न सिकाएको थिएँ। उनीहरू कक्षा २ मा पढ्दा अंग्रेजीमा बोलेर विदेशी पर्यटकको स्वागत गर्न र टेन्ट टाँगेबापत रकम सङ्कलन गर्न सक्ने बनेका थिए। त्यसरी उठेको सहयोग र देउसीभैलोको रकम जम्मा गरेर मैले तीनकोठे भवन बनाएको थिएँ। अहिले त एकपी दाइले दिएको जग्गामा उहाँकै अगुवाइमा विदेशी सहयोगबाट बनेको सुन्दर भवन ठडिएको छ। यो विद्यालय परिसर आफैँमा एउटा पर्यटकीय गन्तव्य जस्तै बनेको छ।
फर्कँदा कप्तानेको डिलबाट तल मत्स्यपोखरी हेर्ने मन थियो, तर बाक्लै हुस्सुले बाटोसम्म नदेखिने गरी छ्यो। चिसो हावासँगै शुम्बाभिरतिर पानीका कणहरूले मुसारेपछि बाटोमै पर्ने कुवापानीका वडा नं. ४ का वडाध्यक्ष बालकुमार तामाङलाई भेटेर आभार व्यक्त गर्न पनि पाइएन। अध्यक्ष पासाङनूर्वू शेर्पा र वडाध्यक्ष बालकुमार तामाङको इमानदार प्रयास र दृढ इच्छाशक्तिकै कारण आज यी भव्य कामहरू सम्भव भएका हुन्।
दिदिङपट्टिको धुवाँ छाँगा, नागदह, मत्स्यपोखरीपट्टिको मत्स्यपोखरी, जल्दाने पोखरी र हीरक पार्क लगायतका विकास निर्माणहरू गाउँपालिका टोलीको स्पष्ट मिसन, भिजन, लक्ष्य र रणनीतिकै प्रतिफल हो, जसले अपार जनविश्वास जितेको छ। घुम्न जाने हो भने तेह्रथुमको तीनजुरेको गुराँस, साल्पा पोखरी, काठमाडौँको बौद्ध, बेलबारीको सिमसार, मकालुको हिमाल, इलामको चियाबारी, पोखराको रङ्गशाला, चन्द्रागिरि, खिम्पालुङ र गोदावरीको विविधता— यी सबैको अनुभव एकै ठाउँमा लिन मन छ भने मकालु हीरक पार्क गए हुन्छ। अझ चिचिलाको समग्र रूप हेर्दा त तेह्रथुमको ह्यातुङ झरना र धरानको चिण्डो पार्कसम्म पनि धाउनुपर्दैन। सोच्दासोच्दै कुवापानीदेखि बैसाखेसम्म रुझाउने पानी चिचिला बजार पुग्दा त ओभानो भइसकेछ।
तपाईँ सङ्खुवासभाको खाँदबारी आइपुग्नुभयो? त्यसो हो भने एक पटक चिचिला पुगेर पक्कै फर्किनुहोस् ल!








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




