वैदेशिक सहायताको उपयोग र खर्च क्षमता बढाउन अर्थमन्त्री वाग्लेको जोड

-



     सफल आवाज    
     भाद्र ४ गते २०८३ मा प्रकाशित



काठमाडौं, ४ भदौ। उपलब्ध वैदेशिक सहायताको प्रभावकारी उपयोग गर्दै मुलुकको खर्च क्षमता बढाउनुपर्नेमा अर्थमन्त्री स्वर्णिम वाग्लेले जोड दिनुभएको छ। सार्वजनिक लेखा समितिको आजको बैठकमा बोल्दै उहाँले अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त हुने अनुदान घट्दो क्रममा रहेको र सोचेअनुरूप खर्च हुन नसकेको वास्तविकता प्रस्तुत गर्नुभयो।

चालु बजेटमा रु २ खर्ब ४७ अर्ब वैदेशिक ऋण र रु ६२ अर्ब अनुदान प्राप्त हुने प्रक्षेपण गरिए पनि अनुदानको वास्तविक प्राप्ति रु १० देखि १५ अर्बमा मात्र सीमित हुने स्थिति रहेको अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो।

नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहेकाले आगामी दिनमा विश्व बैंक र एसियाली विकास बैंक जस्ता निकायबाट विगतमा जस्तै सहुलियतपूर्ण ऋण पाउन कठिन हुने उहाँको भनाइ थियो। बितेका ५० वर्षमा नेपालले ठूलो मात्रामा सहुलियतपूर्ण ऋण पाएको भए पनि खरिद प्रक्रियाको जटिलता, प्रशासनिक ढिलासुस्ती र कमजोर खर्च क्षमताका कारण त्यसको सही उपयोग हुन नसकेको उहाँले उल्लेख गर्नुभयो।

बैठकमा प्रस्तुत अन्य प्रमुख विषय:

  • महालेखापरीक्षक तोयम राय: वैदेशिक सहायतामा सञ्चालित परियोजनाहरूको बजेट समयमै खर्च हुने उपयुक्त वातावरण बनाउनुपर्नेमा जोड।
  • सहसचिव विष्णु ज्ञवाली (महालेखा नियन्त्रक कार्यालय): हाल वैदेशिक सहायताअन्तर्गत कूल रु १४ अर्ब ९२ करोड लागतका १५२ वटा आयोजना सञ्चालनमा रहेको जानकारी।