भदौ २२ गतेदेखि बेनी हाइड्रोपावरको आईपीओ खुल्दै

-



     सफल आवाज    
     भाद्र ९ गते २०८३ मा प्रकाशित



काठमाडौं, ९ भदाै । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आउँदो भदौ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रथम चरणको आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर जारी गर्न लागेको हो।

आईपीओसम्बन्धी मुख्य विवरण:

  • सर्वसाधारणका लागि शेयर संख्या: ८ लाख ६३ हजार २०० कित्ता (प्रतिकित्ता रु. १०० अंकित)
  • आवेदन दिन सकिने कित्ता: न्यूनतम १० कित्तादेखि अधिकतम १०,००० कित्तासम्म
  • निष्काशन बन्द हुने मिति: छिटोमा भदौ २५ गते र ढिलोमा असोज ५ गते
  • बिक्री प्रबन्धक: एनएमबि क्यापिटल लिमिटेड

कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये आयोजना प्रभावित स्थानीयका लागि १० लाख ४० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४ हजार कित्ता शेयर निष्काशन गरी बाँडफाँट भइसकेको छ।

त्यस्तै, कर्मचारीका लागि २० हजार ८०० कित्ता र सामूहिक लगानी कोषका लागि ५२ हजार कित्ता शेयर छुट्याएर बाँडफाँट गरिएको छ।

आयोजना तथा वित्तीय स्थिति:

  • आयोजना: १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत आयोजना
  • कुल अनुमानित लागत: रु. ३ अर्ब ८५ करोड ५१ लाख ७५ हजार २७
  • प्रतिमेगावाट लागत: रु. १९ करोड ४७ लाख ५ हजार ८०९
  • अनुमतिपत्र बाँकी अवधि: २४ वर्ष
  • लगानी फिर्ता हुने अवधि: साधारण (५.७८ वर्ष), डिस्काउण्टेड (८.१५ वर्ष)
  • इक्रा नेपाल रेटिङ: कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको छ ।)

आवेदन कसरी दिने ?

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि-आस्बा (C-ASBA) सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ (Mero Share) अनलाइन प्रणालीमार्फत सहजै आवेदन भर्न सकिनेछ।