लाभांश पारित गर्न सुपर मादी हाइड्रोपावरले साधारण सभा बाेलायाे

-



     सफल आवाज    
     भाद्र १० गते २०८३ मा प्रकाशित



काठमाडौं, १० भदाै। सुपर मादी हाइड्रोपावर लिमिटेडले १७औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। आफ्ना सेयरधनीहरूका लागि घोषणा गरेको १५ प्रतिशत बोनस सेयर तथा हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्न साधारणसभा डाकिएकाे हाे ।

कम्पनी सञ्चालक समितिको निर्णयअनुसार उक्त साधारणसभा आगामी असोज १ गते काठमाडौंको बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा बिहान ११ बजे हुनेछ ।

यस्ता छन् मुख्य एजेण्डा

  • लाभांश प्रस्ताव: कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँको १५ प्रतिशत (३४ लाख ७२ हजार ८७५ कित्ता) बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, बोनस सेयरको कर प्रयोजनका लागि ०.७८९४७ प्रतिशत (रु १ करोड ८२ लाख ७८ हजार २८९) नगद लाभांशसमेत स्वीकृत गरिनेछ।
  • हकप्रद सेयर निष्कासन: बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजी २ अर्ब ६६ करोड २५ लाख ३७ हजार ५०० रुपैयाँको २:१ अनुपातमा (अर्थात् ५० प्रतिशत) १ करोड ३३ लाख १२ हजार ६८८ कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव सभामा लैजाने तय भएको छ।
  • पूँजी वृद्धि: बोनस र हकप्रद सेयर निष्कासनपश्चात् कम्पनीको अधिकृत तथा जारी पूँजी ३ अर्ब ९९ करोड ३८ लाख ६ हजार ३०० रुपैयाँ र चुक्ता पूँजी २ अर्ब ६६ करोड २५ लाख ३७ हजार ५०० रुपैयाँ पुर्‍याउने प्रस्ताव स्वीकृत गरिनेछ।
  • वित्तीय प्रतिवेदन: सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण छलफल गरी पारित गरिनुका साथै आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोकिनेछ।

बुक क्लोज र सेयरधनी योग्यता

साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ २३ गते सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने जनाएको छ। यसअनुसार भदौ २२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार भई आफ्नो नाममा सेयर कायम रहेका सेयरधनीहरू मात्रै साधारणसभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।