
पोखरा, २४ भदौ । एस आइ इ सी कास्कीको आयोजनामा अंग्रेजी भाषा सीप प्रतियोगिता बुधबार विद्या निकेतन माध्यमिक विद्यालय, पोखरामा उत्साहपूर्ण तथा शैक्षिक वातावरणमा सम्पन्न भएको छ। प्रतियोगितामा एस आइ इ सी अन्तर्गतका विभिन्न विद्यालयका विद्यार्थी तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप संयोजक कृष्णराज खनालले गर्नुभएको थियो। कार्यक्रममा प्रतियोगिता संयोजक धीरेन्द्र कार्की, बेथानी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण अधिकारीलगायत एस आइ इ सी अन्तर्गतका विभिन्न विद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
प्रतियोगितामा अंग्रेजी भाषा विशेषज्ञ पिताम्बर पौडेलले विशेषज्ञको भूमिका निर्वाह गर्नुभएको थियो। उहाँले प्रतियोगिताका विभिन्न चरणको सञ्चालन, मूल्याङ्कन तथा आवश्यक सहजीकरण गर्नुभएको थियो। प्रतियोगिताले विद्यार्थीहरूको श्रवण, वाचन, पठन, लेखन तथा समग्र सञ्चारात्मक अंग्रेजी भाषा क्षमताको मूल्याङ्कन गर्ने अवसर प्रदान गरेको थियो।
प्रतियोगितामा भानुभक्त माध्यमिक विद्यालयका गौरव पराजुलीले प्रथम स्थान, विद्या निकेतन माध्यमिक विद्यालयकी सृष्टि आचार्यले द्वितीय स्थान तथा गोल्डेन नेचर बोर्डिङ स्कुलका विद्यार्थीले तृतीय स्थान हासिल गर्न सफल भए। त्यसैगरी विन्ध्येश्वरी बोर्डिङ स्कुलकी मेहुली मन्ना, बेथानी बोर्डिङ स्कुलकी ऐश्वर्या गुरुङ र शिशु कल्याण बोर्डिङ स्कुलकी सुप्रिया सुनारले सान्त्वना पुरस्कार प्राप्त गरे।
विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई एस आइ इ सी अन्तर्गतका विभिन्न विद्यालयका प्रतिनिधिहरू तथा कार्यक्रम संयोजक धीरेन्द्र कार्कीले ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभयो। पुरस्कार वितरण कार्यक्रममा कार्यक्रम संयोजक कार्कीले विजेता तथा सम्पूर्ण सहभागी विद्यार्थीहरूलाई बधाई दिँदै आगामी दिनमा पनि भाषा सिकाइप्रति निरन्तर सक्रिय र सिर्जनशील रहन शुभकामना व्यक्त गर्नुभयो।
यसै अवसरमा प्रतियोगिताका अंग्रेजी भाषा विशेषज्ञ पिताम्बर पौडेललाई कार्यक्रम संयोजक धीरेन्द्र कार्की तथा बेथानी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण अधिकारीले मायाको चिनो प्रदान गरी सम्मान गर्नुभयो।
एस आइ इ सी द्वारा आयोजित यस प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो अंग्रेजी भाषा दक्षता प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै आत्मविश्वास, सञ्चार क्षमता, सिर्जनात्मकता, प्रतिस्पर्धात्मक भावना तथा सहकार्यात्मक सिकाइ संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
यस्ता शैक्षिक कार्यक्रमहरूले विद्यालय तहमा अंग्रेजी भाषा सिकाइलाई थप व्यावहारिक, विद्यार्थीकेन्द्रित र परिणाममुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




