
हङकङ, ४ असोज । सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको सङ्क्रमणकालीन सुरुआती वर्षमा नेतृत्व गरेका हङकङका पहिलो प्रमुख कार्यकारी तुङ ची–ह्वाको आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि समारोहमा चिनियाँ अधिकारी तथा हङकङका राजनीतिक नेताहरू सहभागी भएका थिए ।
सन् १९९७ मा बेलायतबाट चीनलाई हस्तान्तरण गरिएपछि हङकङमा आयोजना गरिएको यो तेस्रो राजकीय अन्त्येष्टि हो । सन् १९९७ देखि २००५ सम्म हङकङको प्रमुख कार्यकारी रहेका तुङको ८९ वर्षको उमेरमा सेप्टेम्बर ८ मा निधन भएको थियो । ढुवानी व्यवसायी तुङले आफ्नो करिब आठ वर्षे कार्यकालमा एसियाली वित्तीय सङ्कट, सार्स महामारी र व्यापक जनप्रदर्शनको सामना गर्नुभएको थियो । अन्त्येष्टिस्थल हङकङ फ्युनरल होम बाहिर फूलका माला राखिएका थिए ।
हङकङका सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेको भिडियोमा समारोहपछि चिनियाँ झन्डाले छोपिएको तुङको शव बाहिर ल्याइएको देखाइएको थियो । सञ्चारकर्मीलाई भने समारोहस्थलभित्र प्रवेश गर्न दिइएको थिएन । चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्यूरो सदस्य सी ताइफेङ, चीनको हङकङ तथा मकाउ मामिला कार्यालयका निर्देशक सिया बाओलोङ र हङकङका वर्तमान प्रमुख कार्यकारी जोन ली अन्त्येष्टि स्थलबाट सँगै बाहिरिनुभएको थियो ।
एक सहभागीका अनुसार समारोहमा करिब २०० जनालाई आमन्त्रण गरिएको थियो । अन्य व्यक्तिले हङकङका तीन स्थानमा बनाइएका श्रद्धाञ्जलीस्थलमा पुगेर तुङप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । तुङको निधनपछि चिनियाँ सरकारले उहाँलाई कम्युनिस्ट पार्टीका निकट मित्र तथा ‘एक देश, दुई प्रणाली’को कार्यान्वयनमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिका रूपमा चित्रण गरेको थियो । यही व्यवस्थाअन्तर्गत हङकङ र मकाउको शासन सञ्चालन हुँदै आएको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




