
ताइयुआन, ४ असोज । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट यी उपग्रहहरू प्रक्षेपण गरिएका हुन्। बेइजिङ समयअनुसार शनिबार साँझ ६ बजेर ५० मिनेटमा लङ मार्च–२डी वाहक रकेटमार्फत उपग्रहहरू प्रक्षेपण गरिएको थियो।
प्रक्षेपणपछि चारवटै उपग्रह निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको प्रक्षेपण केन्द्रले जनाएको छ। प्रक्षेपण गरिएका उपग्रहहरू पाइसाट–२ शृङ्खलाका १३ देखि १६ नम्बरका उपग्रह हुन्। यी सबै उपग्रहमा कृत्रिम एपर्चर राडार प्रविधि प्रयोग गरिएको छ। उक्त प्रविधिले पृथ्वीको सतहको तस्बिर तथा अन्य दूरसंवेदी तथ्याङ्क संकलन गर्न महत्वपूर्ण भूमिका खेल्छ। यी उपग्रहहरू बेइजिङस्थित निजी उपग्रह निर्माण कम्पनी ग्यालेक्सी स्पेसले विकास गरेको हो।
कम्पनीले विकास गरेका उपग्रहमा उच्च स्पष्टताका साथ पृथ्वीको सतह अवलोकन गर्न सक्ने उपकरणहरू जडान गरिएको बताइएको छ। उपग्रहका प्रमुख डिजाइनर तुआन स्याओका अनुसार नयाँ उपग्रहहरूमा उच्च स्पष्टताका उपकरणसँगै बुद्धिमान प्रशोधन प्रणाली पनि राखिएको छ।
यसका कारण उपग्रहले अन्तरिक्षमै संकलन गरेको दूरसंवेदी तथ्याङ्कलाई वास्तविक समयमा प्रशोधन गर्न सक्नेछ। सामान्यतया उपग्रहले पृथ्वीबाट तथ्याङ्क संकलन गरेपछि त्यसलाई प्रशोधनका लागि पृथ्वीमा पठाउने गर्छ। तर नयाँ प्रविधिका कारण यी उपग्रहले केही तथ्याङ्कलाई अन्तरिक्षमै प्रशोधन गर्न सक्ने भएकाले आवश्यक सूचना प्राप्त गर्ने प्रक्रियालाई थप प्रभावकारी बनाउन सकिने बताइएको छ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




