बाढीबाट प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह

-



     सफल आवाज    
     असाेज ६ गते २०८३ मा प्रकाशित



काठमाडौं, ६ असाेज । हालै भोटेकोसी क्षेत्रमा आएको बाढी तथा डुबानका कारण अटोमोबाइल क्षेत्रमा पुगेको ठूलो क्षतिप्रति नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रभावित सदस्य तथा व्यवसायीहरूलाई आवश्यक सहजीकरण र राहतका लागि पहल सुरु भइसकेको जानकारी दिएका हुन्।

बाढीका कारण भन्सार नाका तथा विभिन्न स्थानमा आयातित सवारीसाधन क्षति हुनुका साथै हराएको र व्यवसायीका गोदाम, कार्यालय, उपकरण तथा अन्य व्यावसायिक सम्पत्तिमा समेत ठूलो नोक्सानी पुगेको नाडाले जनाएको छ।

यस कठिन परिस्थितिमा नाडाले आफ्ना प्रभावित सदस्यहरूलाई आफ्नो क्षतिको यथार्थ र प्रमाणित विवरण यथाशीघ्र नाडा सचिवालयमा उपलब्ध गराउन अनुरोध गरेको छ।

व्यवसायीहरूलाई निम्न विवरण खुलाई बुझाउन आग्रह गरिएको छ:

  • क्षति भएका तथा हराएका/सम्पर्कविहीन सवारीसाधनको संख्या, प्रकार र पहिचान
  • सवारीसाधन रहेको स्थान तथा सम्बन्धित भन्सार नाकाको विवरण
  • गोदाम, कार्यालय तथा अन्य भौतिक संरचनामा भएको क्षतिको विवरण
  • बीमा गरिएको सम्पत्ति, बीमा दाबीका लागि आवश्यक कागजात र बैंक ऋणको विवरण
  • अन्य प्रत्यक्ष व्यावसायिक क्षतिको विवरण

प्राप्त विवरणका आधारमा नाडाले बीमा दाबी प्रक्रियालाई शीघ्र र सहज बनाउन बीमा कम्पनीहरूसँग, भन्सारमा रहेका क्षतिग्रस्त वा हराएका गाडीको पहिचानका लागि भन्सार कार्यालयसँग र ऋण पुनर्संरचना तथा भुक्तानी अवधि पुनरावलोकनका लागि बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वय गर्ने योजना बनाएको छ।

त्यस्तै, सरकार तथा सरोकारवाला निकायसमक्ष समग्र क्षतिको विवरण प्रस्तुत गरी राहत, नीतिगत सम्बोधन र सहजीकरणका लागि आवश्यकता अनुसार ‘समन्वय तथा सहजीकरण समिति’ गठन गरी अघि बढ्ने नाडाले जनाएको छ।