आगो लघुकविता सदनको छैटौँ वार्षिकोत्सव सम्पन्न: ‘आगो रामायण’ र ई-बूक कृति विमोचित

-



     सफल आवाज    
     असाेज ६ गते २०८३ मा प्रकाशित



काठमाडौं, ६ असोज । आगो लघुकविता सदन (आलस) को छैटौँ वार्षिकोत्सव टोखा नगरपालिका–७ स्थित तिलिङ्गाटार माध्यमिक विद्यालयको मेयर सभाहलमा हालै विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।

आगो लघुकविता विधाका परिकल्पनाकार पूर्व प्रमुख सेनानी दीर्घबहादुर चन्दको सभापतित्व एवं वरिष्ठ साहित्यकार डा. शैलेन्दुप्रकाश नेपालको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो।

सो अवसरमा डा. ध्रुवप्रसाद गजुरेलद्वारा रचित “आगो रामायण (महाकाव्य/महाधुनी)”, ३५ जना साहित्यकारहरूको सहभागिता रहेको “अखण्ड ज्योति (आगो लघुकविता संयुक्त कृति) ई-बूक” र दामोदर ढकालद्वारा रचित “दामु-दिव्या (मुक्तागो दोहोरी)” को श्रव्य-दृश्यसहितको ई-बूक संयुक्त रूपमा विमोचन गरियो।

स्रष्टा तथा साधकहरूलाई विभिन्न उपाधि र सम्मान

आगो विधाको उन्नयनमा पुर्‍याएको योगदानको कदर गर्दै पूर्व सहायक रथी तेजप्रकाश वानियाँलाई “दीर्घ साधना सम्मान”का साथै “आगो ऋषि” उपाधि प्रदान गरियो। ५ हजार आगो (श्लोकागो, मुक्तागो र गजलागो) सम्मिलित ‘आगो रामायण’ महाकाव्य रचना गर्ने डा. ध्रुवप्रसाद गजुरेललाई “आगो ब्रह्मर्षि”को उपाधिद्वारा सम्मान गरियो।

त्यस्तै, रचना संख्याका आधारमा विभिन्न स्रष्टाहरूलाई मान-पदवी वितरण गरियो:

  • आगो देवर्षि (१,००० भन्दा बढी आगो रचना): हरिप्रसाद तिमल्सिना।
  • आगो महर्षि (५०० आगो रचना एवं विशेष कृति): शारदा ज्ञवाली ढकाल, केशव मडै (किर्सन), रामबहादुर पौडेल र दामोदर ढकाल ‘दीपक’।
  • आगो राजर्षि (२०० आगो रचना): चिनीमाया माझी, इन्दिरा ज्ञवाली, विष्णुबहादुर गुरुङ, पूर्व उपरथी डा. आशबहादुर तामाङ र वेदप्रसाद गौडेल।
  • आगो ऋषि (१०० आगो रचना): पुष्कर अथक रेग्मी, यशोदा गिरी, बिमला ढकाल ‘समीक्षा’, बाबुराम गौतम, चन्द्रा न्यौपाने, दुर्गा अधिकारी ‘भमरकोटे’, कर्ण दयाल ‘सोराडी’, गुणनिधि घिमिरे, ललिता भण्डारी, सुशिला ढकाल अधिकारी ‘श्री’, रामप्रसाद अधिकारी, लक्ष्मीप्रसाद मिश्र, डा. देवी पन्थी, निलनाथ आचार्य, लक्ष्मण अधिकारी, तुलसी पण्डित, कमला सिम्खडा, बिमला भण्डारी, सरला ओझा ‘सिर्जना’ र श्यामसुन्दर ढकाल।
  • आगो साधक: ७ वर्षीया बालिका प्रिन्सा फुयाँल र डा. सीता बिष्ट कार्की ‘सिबिका’।

यसैगरी मुक्तागो ब्याटलमा उत्कृष्ट अभिनय गरेकी अभिनेत्री रेनु पोखरेल दुलाललाई पनि सम्मानित गरियो।

आगो विधाको स्वरूप

५-५ अक्षरको दुई पंक्तिमा कुल १० अक्षरको अनुप्रासयुक्त लघुकवितालाई आगो भनिन्छ। यसै विधाअन्तर्गत मुक्तक शैलीको रचनालाई मुक्तागो, कम्तीमा तीन सेर भएको गजल शैलीलाई गजलागो र दुई-दुई आगो सम्मिलित चार पंक्तिको रचनालाई श्लोकागो भनिन्छ।

नयाँ कार्यसमिति चयन

वार्षिकोत्सवका क्रममा डा. ध्रुवप्रसाद गजुरेलको अध्यक्षतामा आगो लघुकविता सदनको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरियो। समितिको उपाध्यक्षमा वेदप्रसाद गौडेल ‘काइँलाबाजे’ र यशोदा गिरी, महासचिवमा दामोदर ढकाल ‘दीपक’ तथा कोषाध्यक्षमा बिमला भण्डारी चयन हुनुभएको छ।

सदस्यहरूमा चिनीमाया माझी, हरिप्रसाद तिमल्सिना, केशव मडै ‘किर्सन’, बाबुराम गौतम, रामबहादुर पौडेल, कर्ण दयाल ‘सोराडी’, गुणनिधि घिमिरे, लक्ष्मीप्रसाद मिश्र, निलनाथ आचार्य, लक्ष्मण अधिकारी, तुलसी पण्डित, राजेश गुरुङ र किशोर गुरुङ निर्वाचित हुनुभएको छ।

सुख शान्ति मिडियाका अध्यक्ष दामोदर ढकाल ‘दीपक’ले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा भोटेकोशी-रसुवा बाढीमा ज्यान गुमाएकाहरूप्रति १ मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। लक्ष्मीप्रसाद मिश्रको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जनप्रतिनिधि, विभिन्न साहित्यिक संस्थाका प्रतिनिधि एवं साहित्यकारहरूले शुभकामना व्यक्त गर्नुभएको थियो।