मुक्तिनाथ विकास बैंकले अटोवेजसँगकाे सहकार्यमा बुल मेशिन खरिदमा ८० प्रतिशतसम्म कर्जा दिने

-



     सफल आवाज    
     असाेज ८ गते २०८३ मा प्रकाशित



काठमाडौं, ८ असाेज। नेपालको निर्माण क्षेत्रलाई प्रविधिमैत्री र सशक्त बनाउने उद्देश्यले मुक्तिनाथ विकास बैंक लिमिटेड र निर्माण उपकरण बुल मेसिनको आधिकारिक वितरक अटोवेज प्रा.लि.बीच सहज कर्जा उपलब्ध गराउनेसम्बन्धी महत्त्वपूर्ण सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका तर्फबाट गण्डकी रिजन प्रमुख बाबुराम ढकाल र अटोवेज प्रा.लि.का तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेलले हस्ताक्षर गरेका छन।

निर्माण व्यवसायी तथा ग्राहकहरूलाई आवश्यक आधुनिक निर्माण उपकरण खरिदमा वित्तीय पहुँच सहज बनाउन दुवै संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

सम्झौता अनुसार ग्राहकले खरिद गर्ने बुल मेसिनलाई नै प्राथमिक धितोका रूपमा राखी डिलरको बिल (इन्भ्वाइस) मूल्यको ५० प्रतिशतसम्म कर्जा उपलब्ध हुनेछ।

बैंकले स्वीकार गर्ने थप स्थिर सम्पत्ति (घर/जग्गा) धितोका रूपमा ग्राहकले प्रस्तुत गरेमा बैंकको कर्जा नीति अनुसार इन्भ्वाइस मूल्यको ८० प्रतिशतसम्म वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन्।

यो सहकार्यले देशको भौतिक पूर्वाधार निर्माणमा संलग्न व्यवसायीहरूलाई उपकरण खरिद गर्न सहज हुनुका साथै उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्न ठूलो मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।

मुक्तिनाथ विकास बैंकले यसअघि पनि आवास, अटो, कृषि तथा साना र मझौला उद्योग लगायतका क्षेत्रमा सर्वसुलभ र प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधाहरू प्रवाह गर्दै आएको छ।