
पोखरा, १० असोज। गण्डकी प्रदेश सभाले हालसम्म ९० भन्दा बढी कानुन निर्माण गरिसकेको छ। तीमध्ये सालबसाली कानुन हटाउँदा हाल ७० भन्दा बढी कानुन कायम रहेका छन्।
अहिले प्रदेश सरकारले ती कानुनहरूको कार्यान्वयन अवस्थाबारे अध्ययन र मूल्याङ्कन गरिरहेको छ। संसदीय पत्रकार मञ्चले युएनडिपी संसद सहयोग परियोजनासँगको सहकार्यमा शनिबार पोखराका दुई फरक स्थानमा सामाजिक अध्ययन विषयका शिक्षकहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।
यो वर्षमात्रै मञ्चले यस्ता ३ वटा कार्यक्रम सञ्चालन गरिसकेको मञ्चका पूर्वअध्यक्ष एवं कार्यक्रम संयोजक भरत कोइरालाले जानकारी दिए। पोखराका विभिन्न विद्यालयका ६० भन्दा बढी शिक्षकहरूको सहभागिता रहेको उक्त कार्यक्रममा ६० प्रतिशतभन्दा बढी महिला शिक्षकहरू सहभागी थिए।
कार्यक्रममा गण्डकी प्रदेश सभाकी उपसभामुख बिनाकुमारी थापाले प्रदेश सभा र प्रदेश संरचना नै संघीयताको सबैभन्दा महत्त्वपूर्ण स्तम्भ भएको बताइन्। ‘जनताको सबैभन्दा नजिकको सरकार बनेर अहिले काम भइरहेको छ,’ भद्रकाली माविमा आयोजित कार्यक्रममा उनले भनिन्, ‘सामाजिक अध्ययन विषयका शिक्षकहरूले विद्यार्थीमार्फत प्रदेशको महत्त्व र भूमिकाबारे सिङ्गो समाजलाई बुझाउन ठूलो सहयोग पुर्याउन सक्छन्।’
कक्षा कोठामा संविधानका धारा, दफा र ऐनका जटिल प्रावधानहरू घोकाउनुभन्दा विद्यार्थीलाई स्वयं सहभागी गराएर र साना समूहहरू निर्माण गरी सिकाउन सके सिकाइ बढी प्रभावकारी हुने धारणा विषयविज्ञ दिनेश अर्यालले राखे। ‘विद्यार्थीलाई सिद्धान्तभन्दा पनि व्यवहारिक र प्रयोगात्मक तरिकाले सिकाउन सकियो भने उनीहरूले संघीयताको औचित्य सजिलै बुझ्न सक्छन्,’ अर्यालले भने। दीपसागर होटलमा सञ्चालित कार्यक्रममा गण्डकी प्रदेश सभाका सचिव गोविन्द पौडेलले प्रदेश सभाका कामकारबाही र कानुन निर्माण प्रक्रियाबारे प्रकाश पारेका थिए।
प्रदेश सभाले आफ्नो एकल अधिकारका साथै साझा अधिकारका सूचीमा रहेका कानुनहरू पनि तर्जुमा गरिरहेको जानकारी पौडेलले दिए। ‘हामीले औषधि तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती सम्बन्धी ऐन र स्थानीय मदिराको ब्रान्डिङ सम्बन्धी ऐन निर्माण गरिसकेका छौँ,’ पौडेलले भने, ‘अहिले प्रदेश सरकारले तिनको नियमावली बनाउने काम गरिरहेको छ।’ कानुन बनाउनु मात्रै पर्याप्त नहुने भन्दै तिनको कार्यान्वयन कत्तिको प्रभावकारी भएको छ भनेर प्रदेश सभाले उत्तरविधायकी परीक्षणको काम थालेको र विभिन्न मन्त्रालयहरूसँग विस्तृत विवरण माग गरिएको पौडेलले बताए।
कार्यक्रममा मुख्य न्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले नेपालको संविधान, संघीय संरचना, प्रदेश सभाको काम, कर्तव्य, अधिकार र यसका सामु रहेका चुनौतीहरूबारे सहजीकरण गरेका थिए। अभिमुखीकरणका सहभागी शिक्षकहरूले संघीयता र प्रदेश संरचनाको प्रभावकारिता तथा नागरिक चेतना अभिवृद्धिका लागि विद्यालय तहबाटै सही र प्रष्ट जानकारी दिनुपर्नेमा जोड दिएका छन्।
कुण्डहर स्कूलका शिक्षक टेकबहादुर थापाले दृष्टिविहीन तथा श्रवण दृष्टिविहीन विद्यार्थीका लागि चित्र र ग्राफिक्स बढी प्रयोग गर्दा अध्यापनमा कठिनाइ हुने गरेको अनुभव सुनाए। ‘दृष्टिविहीन विद्यार्थीका लागि आवश्यक पाठ्यसामग्री र ब्रेइल लिपिमा पुस्तकहरू सहजै उपलब्ध नहुँदा उनीहरूको सिकाइ सोचेजस्तो प्रभावकारी हुन सकेको छैन,’ थापाले भने। अमरज्योति स्कूलका प्रधानाध्यापक विमलबहादुर बरालले स्थानीय तहले जस्तै प्रदेश स्तरमा पनि छुट्टै पाठ्यक्रम बनाएर विद्यालयहरूमा लागू गर्नुपर्ने सुझाव दिए।
त्यसैगरी, रत्न पाण्डे माविका शिक्षक डिलीराम बरालले मूल पाठ्यक्रममै परिमार्जन गरेर प्रदेशका काम, कर्तव्य र अधिकारलाई विस्तृत रूपमा समेट्नुपर्ने बताए। कक्षा कोठामा नियमित अध्यापन गराउँदै आए पनि प्रदेश सभा र प्रदेश सरकारका गतिविधिबारे गहिरो जानकारी यस कार्यक्रमबाट प्राप्त भएको भद्रकाली माविकी शिक्षिका देवका खनालले बताइन्। ‘प्राप्त जानकारीलाई अब विद्यार्थीले सजिलै बुझ्ने गरी कक्षा कोठामा प्रस्तुत गर्नेछु,’ खनालले भनिन्।
शीतला स्कूलका प्रधानाध्यापक देवेन्द्रराज परियारले पठनपाठनलाई थप सहज बनाउन यस्ता अभिमुखीकरण कार्यक्रमले ठूलो सहयोग पुर्याएको बताए। ‘शिक्षकहरूले परम्परागत रूपमा अध्यापन गराउँदै आएकोमा यस्ता कार्यक्रमले संघीयताबारे विद्यार्थीलाई बुझाउन अझ सहज बनाएको छ,’ परियारले भने। महेंद्र माविका शिक्षक बोधराज पौडेलले संघीयता र प्रदेश सरकारका फाइदा तथा चुनौतीबारे स्पष्ट हुने मौका मिलेको बताउँदै पाठ्यपुस्तक बाहेकका विषयवस्तु कसरी सहजीकरण गर्ने भन्ने उपयोगी जानकारी पाएको उल्लेख गरे।
ज्ञानभूमि माविकी शिक्षिका निर्मला महानन्दले विद्यार्थीको सहभागिता बढाएर शिक्षण गर्न यस्तै कार्यक्रमहरूले प्रेरित गर्ने बताइन्। यस किसिमका अभिमुखीकरणको वास्तविक प्रभावकारिता कक्षा कोठामा देखिनुपर्ने र आयोजक संस्थाले यसको नियमित अनुगमन गर्नुपर्ने भद्रकाली माविका शिक्षक राजेन्द्र भण्डारीले जोड दिए।
कार्यक्रममा अमरसिंह माविमा सामाजिक अध्ययन पढाउने शिक्षक उदयराज पोखरेल लगायत अपाङ्गता भएका शिक्षकहरूको पनि सक्रिय सहभागिता थियो। संसदीय पत्रकार मञ्चका अध्यक्ष बिसन क्षेत्रीले कार्यक्रमको औचित्य र विषयवस्तुमाथि प्रकाश पारेका थिए।









नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




