पोखरामा सीएफमोटोको थ्रीएस आउटलेट सञ्चालनमा

-



     सफल आवाज    
     असाेज १० गते २०८३ मा प्रकाशित



पोखरा, १० असाेज। प्रिमियम मोटरसाइकल ब्रान्ड सीएफमोटोले पोखराको बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको ३एस (सेल्स, सर्भिस एन्ड स्पेयर पार्ट्स) आउटलेट सञ्चालनमा ल्याएको छ ।

ऋषि ट्रेड सेन्टर (आरटीसी)को आधिकारिक वितरणमा रहेको सीएफमोटोको नयाँ आउटलेट हिमालय अटो नेक्सस प्रालिले शनिबारदेखि सञ्चालनमा ल्याएको हो ।

बुद्धचोकमा रहेको सोरूम र शिवचोकमा रहेको सर्भिस सेन्टरको उद्घाटन पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले गरिन् । उद्घाटन समारोहमा  पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसियसन (वाडा) का अध्यक्ष दीपेन्द्र कोइराला, पोखरा उद्योग वाणिज्य संघका सदस्य केशव ढकाल लगायतको विशेष आतिथ्यता थियो । उद्घाटनका क्रममा कम्पनीले आठ थान मोटरसाइकल ग्राहकलाई हस्तान्तरण गरेको जनाएको छ ।

आरटीसीका महाप्रबन्धक उज्ज्वल जोशीका अनुसार उद्घाटनको अवसरमा सीएफमोटोका मोटरसाइकल खरिद गर्ने ग्राहकलाई २० हजार रुपैयाँसम्म नगद छुटका साथै निःशुल्क हेल्मेट र ह्यान्डगार्ड उपलब्ध गराइएको छ । ‘उद्घाटन अवसरमा ग्राहकलाई विशेष अफर दिएका छौं,’ उनले भने, ‘२५० ड्युअलमा पाँच वर्षको इन्जिन वारेन्टी र फाइनान्सबाट मोटरसाइकल खरिद गर्दा न्यूनतम ४० प्रतिशत भुक्तानीमा बाइक लिन सकिने व्यवस्था गरेका छौं ।’

नयाँ आउटलेटबाट सीएफमोटोका मोटरसाइकल बिक्रीसँगै नियमित सर्भिसिङ, प्राविधिक जाँच, जेन्युइन स्पेयर पार्ट्स, टेस्ट राइड र बिक्रीपछिको सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ । पोखरा, हिमाली तथा उच्च पहाडी क्षेत्रमा मोटरसाइकल यात्रा गर्ने ग्राहकलाई बिक्रीपछिको सेवा र प्राविधिक सहयोग सहज बनाउने उद्देश्यले ३एस आउटलेट सञ्चालनमा ल्याइएको हो ।

आरटीसीका सेल्स हेड विभव कार्कीका अनुसार पोखरा प्रिमियम तथा एड्भेन्चर मोटरसाइकलका लागि विस्तार हुँदै गएको बजार हो । ‘पोखरा गण्डकीको प्रमुख व्यावसायिक र पर्यटन केन्द्र मात्र होइन, हिमाली तथा उच्च पहाडी गन्तव्यतर्फ जाने मोटरसाइकल यात्राका लागि पनि महत्त्वपूर्ण प्रवेशद्वार हो,’ कार्कीले भने, ‘त्यसैले यहाँ बिक्रीसँगै सर्भिस र जेन्युइन स्पेयर पार्ट्सको सुविधा दिनु आवश्यक देखेर ३एस आउटलेट सञ्चालनमा ल्याएका हौं ।’

सीएफमोटोका नेपालमा २५० ड्युअल ईएफआई, ४५० एमटी, ४५० सीएल–सी, ४५० सीएल–सी बोबर र ४५० एसआर–एसलगायत मोडल बिक्री हुँदै आएका छन् । कम्पनीले विशेषगरी एड्भेन्चर तथा प्रिमियम मोटरसाइकल सेग्मेन्टमा आफ्नो बजार विस्तार गरिरहेको जनाएको छ ।

हिमालय अटो नेक्सस प्रालिका सञ्चालक महेश श्रेष्ठले पोखरा तथा गण्डकी प्रदेशका ग्राहकलाई बिक्रीसँगै सेवा र प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्य रहेको बताए । उक्त सोरूमबाटै निकट भविष्यमै जिहो ब्रान्डको इलेक्ट्रिक स्कुटरको पनि बिक्री सुरू गर्ने उनले जानकारी दिए । कम्पनीले आगामी दिनमा देशका प्रमुख सहरमा बिक्री, सर्भिस र स्पेयर पार्ट्सको नेटवर्क विस्तार गर्ने जनाएको छ ।