
चितवन, २४ असोज। मानव स्वास्थ्यका लागि अत्यावश्यक मानिने ‘अण्डा’को उत्पादन र खपत बढाउन सरोकारवालाहरूले जोड दिएका छन्।
विश्व अण्डा दिवसको अवसरमा नेपाल लेयर्स कुखुरापालक संघद्वारा शुक्रबार चितवनमा आयोजित बहस कार्यक्रममा बोल्दै सहभागीहरूले अण्डाको महत्त्व बुझाएर यसको उपभोग बढाउन निजी र सरकारी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका हुन्।
उत्पादन पुनः बढाउने लक्ष्य र किसानका माग
कार्यक्रममा नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले सरकारको साथ र सहयोग पाएमा किसानहरू उत्पादन बढाउन तयार रहेको बताउनुभयो। उहाँका अनुसार हाल नेपालमा दैनिक करिब ३८ लाख अण्डा उत्पादन भइरहेको छ। कोभिड-१९ महामारीअघिको अवस्था जस्तै दैनिक ६५ देखि ७० लाख अण्डा उत्पादन गर्ने नीति अनुरूप काम भइरहेको उहाँले जानकारी दिनुभयो।
अध्यक्ष पोखरेलले वैशाखदेखि भारतबाट अवैध रूपमा अण्डा भित्रिन रोकिएपछि नेपाली किसानले राहत महसुस गरेको बताउनुभयो। सरकारी विद्यालयका विद्यार्थीको दिवा खाजामा दैनिक अण्डा समावेश गरिए किसानका तर्फबाट प्रतिअण्डा रु. ५ छुट दिन तयार रहेको घोषणा समेत उहाँले गर्नुभयो। हाल बजारमा अण्डाको मूल्य प्रति क्यारेट (३० वटा) करिब रु. ६ सय पुगेको छ भने किसानको प्रतिअण्डा लागत मूल्य रु. १९.१२ पर्छ। विगतमा विस्थापित भएका किसानहरू संगठित भई बजारीकरण गरेकै कारण अहिले लागत मूल्य पाउने स्थिति बनेको उहाँको भनाइ थियो।
नेपालमा अण्डाको खपत अवस्था
पोषणविज्ञ डा. दिनेश गौतमका अनुसार अन्य देशको तुलनामा नेपालमा अण्डाको खपत निकै कम छ। विश्वमा प्रतिव्यक्ति वार्षिक सरदर १८५ वटा र एसियामा १८७ वटा अण्डा खपत हुने गरेको छ। नेपालमा भने प्रतिव्यक्ति वार्षिक ६९ वटा मात्रै अण्डा खपत हुन्छ, जुन विश्वको औसतभन्दा ११६ ले कम हो।
सन् २०१५ मा नेपालमा प्रतिव्यक्ति वार्षिक ६० अण्डा खपत हुने गरेकामा अहिले बढेर ६९ पुगेको (१५ प्रतिशत वृद्धि) भए पनि यो पर्याप्त नभएको डा. गौतमले बताउनुभयो। दक्षिण एसियाली छिमेकी भारतमा ११२, श्रीलंकामा १३२, र बंगलादेशमा १३७ अण्डा प्रतिव्यक्ति खपत हुने गर्दछ।
सरकारी पहल र स्वास्थ्य महत्त्व
कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा. रामानन्द तिवारीले अण्डाको खपत बढाउन सरकारी तवरबाट प्रवर्द्धनात्मक काम भइरहेको बताउनुभयो। उहाँले किसानलाई प्रोत्साहन गर्न जारी हुन लागेको कृषि ऐनमा किसानका सन्ततिलाई छात्रवृत्ति, कृषि ढुवानीका साधनलाई छुट्टै नम्बर र यातायातमा छुट जस्ता व्यवस्था समावेश गरी कृषि पेसालाई मर्यादित बनाइने जानकारी दिनुभयो।
त्यस्तै, वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले अण्डा उच्च गुणस्तरको प्रोटिनको सरल र सुलभ स्रोत भएको बताउनुभयो। एउटा अण्डामा करिब ६ ग्राम प्रोटिनका साथै भिटामिन ए, बी, डी, ई, फोलेट, फस्फोरस, सेलेनियम र जिंक जस्ता पोषक तत्व पाइने भएकाले दुई वर्ष पुगेका बालबालिकादेखि सबै उमेर समूहका लागि यो उपयोगी रहेको उहाँको भनाइ थियो।
युसेक अमेरिकन सोयका कन्ट्री मार्केट लिड डा. अशेष भट्टराई तथा अन्य सहभागीहरूले विद्यालयको पाठ्यक्रममै अण्डाको पोषणसम्बन्धी विषय समावेश गर्न र किसानले उचित लागत मूल्य पाउने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




