असोजमा करिब ६ अर्बकाे बिजुली बिक्री, बंगलादेशतर्फ ४० मेगावाट निर्यात हुँदै

-



     सफल आवाज    
     कार्तिक ८ गते २०८३ मा प्रकाशित



काठमाडौं, ८ कार्तिक । बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भए पनि नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ। गत वर्षको असोज र चालु आवको भदौको तुलनामा यस वर्ष असोजमा विद्युत् निर्यातबाट प्राप्त कारोबार रकममा उल्लेख्य वृद्धि भएको हो।

प्राधिकरणको विद्युत् प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र) को तथ्यांकअनुसार असोज महिनामा भारततर्फ कुल ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात भएको छ। यस अवधिमा भारतको हरियाणा र बिहार राज्यमा द्विपक्षीय सम्झौतामार्फत र बाँकी विद्युत् भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को ‘डे–अहेड’ तथा ‘रियल टाइम’ बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो।

निर्यात कारोबारमा वृद्धि

गत वर्ष २०८२ को असोजमा भारततर्फ ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँको विद्युत् निर्यात भएकोमा यस वर्षको असोजमा ९६ करोड २० लाख रुपैयाँले वृद्धि भएको छ। त्यस्तै, चालु आवको भदौ महिनाको (५ अर्ब ९ करोड २५ लाख रुपैयाँ) तुलनामा असोजको कारोबार रकम ८३ करोड २५ लाख रुपैयाँले बढेको छ।

चालु आवको पहिलो तीन महिना (साउन, भदौ र असोज) मा विद्युत् निर्यातबाट प्राधिकरणले कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार असोजमा भारततर्फ निर्यात गरिएको कुल विद्युत् परिमाणमध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी आइएक्समार्फत बिक्री गरिएको थियो।

बंगलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु

भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात गत शुक्रबार (कात्तिक ६ गते) साँझदेखि पुनः सुरु भएको छ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढी र त्रिशूलीको बाढीले बंगलादेश निर्यातका लागि स्वीकृति प्राप्त त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुर्याएपछि उक्त निर्यात रोकिएको थियो। बाढीका कारण हरियाणा राज्यतर्फको विद्युत् निर्यात पनि आंशिक रूपमा प्रभावित भएको थियो।

तर, भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट अन्य वैकल्पिक आयोजनाहरूबाट विद्युत् निर्यात गर्न अनुमति पाएपछि बंगलादेशतर्फको निर्यात पुनः सञ्चालनमा आएको हो। नयाँ व्यवस्था अनुसार अब त्रिशूली, देवीघाट र चिलिमेको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बंगलादेश तथा हरियाणातर्फ पठाइनेछ।

नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच २०८१ असोज १७ गते भएको ५ वर्षे सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत् बंगलादेशतर्फ निर्यात हुँदै आएको छ।

कुल विद्युत् निर्यात क्षमता १,१७९ मेगावाट पुग्यो

भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत् निर्यातका लागि नयाँ स्वीकृति प्राप्त भएसँगै अब नेपालको भारततर्फ विद्युत् निर्यात गर्न पाउने कुल स्वीकृत क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको छ।