दैलेख : पीडा र परिवर्तनको आशा

-



     -विष्णु गुरुङ (एकता)    
     कार्तिक १५ गते २०८३ मा प्रकाशित



काठमाडाैं, १५ कार्तिक । कहिलेकाहीँ यात्रा केवल गन्तव्यसम्म पुग्नका लागि मात्र होइन, समाज र मानिसहरूलाई नजिकबाट बुझ्न तथा जीवनका नयाँ पाठ सिक्नका लागि पनि हुन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियानअन्तर्गत गण्डकी प्रदेशबाट कर्णालीको दैलेखसम्मको मेरो यात्रा यस्तै एउटा अविस्मरणीय अनुभूति बन्यो। यस क्रममा जनताका आशा, अपेक्षा र दैनिक जीवनका वास्तविक समस्यालाई नजिकबाट नियाल्ने, आत्मीय सम्बन्ध स्थापित गर्ने र आफ्नो राजनीतिक जिम्मेवारीलाई थप गम्भीरताका साथ महसुस गर्ने अवसर प्राप्त भयो।

यात्राको सुरुवात : नयाँ भूगोल, नयाँ जिम्मेवारी

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सञ्चालित ‘हामी आउँदैछौँ’ अभियानअन्तर्गत म (केन्द्रीय सदस्य), माननीय डा. ओजस्वी शेरचन र कर्णाली प्रदेश सभापति मदन खड्कालाई दैलेख जिल्लाको जिम्मेवारी सुम्पिएको थियो। पार्टीका साथीहरूबीच आत्मीयता र अपनत्व अभिवृद्धि गर्ने, पार्टीको विधान, वाचापत्र तथा ‘क्यान्डिडेट क्लब’ का विषयमा जानकारी गराउने र जनताका गुनासा, समस्या एवं सुझाव सङ्कलन गर्नु यस अभियानको मुख्य उद्देश्य थियो।

२०८३ असोज २० देखि २७ गतेसम्म सञ्चालन हुने अभियानका लागि असोज २० गते म आफ्ना श्रीमान्लाई सहयात्री बनाएर बसयात्रामा निस्किएँ। भोलिपल्ट बिहान सुर्खेत पुग्दा सहकर्मी कर्णाली प्रदेश सदस्य खगिसरा बुढा र शेरबहादुर रावतले बसपार्कमा स्वागत गर्नुभयो। तत्पश्चात् कर्णाली प्रदेश पार्टी कार्यालय पुगी प्रदेश सभापति लगायतका साथीहरूसँग बसेर आगामी कार्ययोजना तयार पार्यौँ। नयाँ ठाउँमा अभियान सञ्चालन गर्दा आवास व्यवस्थापनमा केही कठिनाइ भए पनि स्पष्ट उद्देश्य र दृढ सङ्कल्पका अगाडि चुनौतीहरू गौण बने।

डुङ्गेश्वरबाट सुरु भएको आत्मीयता

असोज २२ गते बिहान डाँडाकाँडा र उकाली-ओराली छिचोल्दै हामी दैलेखको डुङ्गेश्वर बजारतर्फ लाग्यौँ। दुई गाउँपालिकाको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा डुङ्गेश्वर गाउँपालिकाका सभापति तुलसी आचार्य, गुराँस गाउँपालिकाका सभापति, कर्णाली प्रदेश सभापति मदन खड्का, दैलेख जिल्ला सभापति बखत भण्डारी लगायत थुप्रै साथीहरूको उपस्थिति थियो।

कार्यक्रममा मैले पार्टीको विधान, वाचापत्र र क्यान्डिडेट क्लबका विषयमा छलफल गराएँ। अन्तरक्रियाका क्रममा एक जना स्थानीय युवाले आफ्नो बाध्यता पोखे—“हामीले तीन किलोमिटरको बाटोमा गाडी चढ्दा समेत १,५०० रुपैयाँ भाडा तिर्नुपर्छ, यो बाध्यता कहिलेसम्म ?” यस्ता अनेकौँ प्रश्न र गुनासाहरू मैले टिपोट गरेँ। पहिलो दिनकै भेटघाटले दैलेखका साथीहरूसँग आत्मीय सम्बन्धको सुन्दर सुरुवात गरायो।

दैलेख बजार : विकासका सम्भावना र स्वास्थ्य सेवाको प्रश्न

असोज २३ गते हामी दैलेख बजारस्थित एनके होटलमा बस्यौँ। साँझपख दैलेख अस्पतालको अवलोकन गर्ने अवसर मिल्यो। नयाँ भवन निर्माण सुरु भएको ६ वर्ष बितिसक्दा पनि ठेकेदारको लापरबाहीका कारण काम अघि बढ्न नसकेको र निर्माणाधीन संरचनासमेत जीर्ण बन्दै गएको देख्दा मन खिन्न भयो। स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले स्वास्थ्य संस्थाहरू जनताको भरोसाको केन्द्र बन्नुपर्छ, चिन्ताको कारण होइन।

दैलेख बजारको नगर समन्वय भवनमा आयोजित कार्यक्रम नारायण नगरपालिकाका सभापति प्रेमबहादुर थापा, भगवतीमाई गाउँपालिकाका सभापति रमेश सलामी मगर, नौमुले गाउँपालिकाका सभापति लालबहादुर घर्ती, महाबु गाउँपालिकाका सचिव विनोदकुमार हमाल, जिल्ला सभापति बखत भण्डारी र जिल्ला सचिव रमेश केसीको संयोजनमा सम्पन्न भयो। अस्वस्थताका कारण प्रदेश सभापति र व्यक्तिगत कारणले डा. ओजस्वी शेरचन उपस्थित हुन नसकेपछि केन्द्रीय प्रतिनिधिको रूपमा मैले एक्लै जिम्मेवारी सम्हालेँ।

करिब तीन घण्टा चलेको गहन छलफलमा स्थानीयले आक्रोश र पीडा पोखे—“हाम्रो गाउँमा बनिरहेको अस्पतालको भवन कहिले पूरा हुन्छ ? के हामीलाई सहज उपचार पाउने र सम्मानपूर्वक बाँच्न पाउने अधिकार छैन ?” मेरो बुझाइमा राजनीति केवल भाषण वा सङ्गठन विस्तार मात्र होइन, जनताका वास्तविक समस्या सुनेर तिनको समाधानका लागि इमानदार आवाज उठाउनु पनि हो।

जम्बुकाँधको यात्रा : चार घण्टा पैदल हिँडेका साथीहरूको उत्साह

असोज २४ गते हामी चामुण्डाबिन्द्रासैनी नगरपालिका पार्टी कार्यालय हुँदै जम्बुकाँध पुग्यौँ। कार्यक्रममा चामुण्डाबिन्द्रासैनीका सभापति निरकबहादुर शाही, आठबीसका सभापति लक्ष्मण कार्की लगायत ठाँटीकाँध गाउँपालिकाका साथीहरूको सहभागिता थियो।

त्यहाँ केही साथीहरू चार घण्टा पैदल हिँडेर कार्यक्रममा सहभागी हुन आउनुभएको दृश्यले मलाई गहिरोसँग छोयो। परिवर्तनको चाहना केवल सहरका सभाहरूमा मात्र होइन, दुर्गम बस्तीका उकाली-ओरालीहरूमा पनि उत्ति नै जीवन्त छ भन्ने यसले पुष्टि गर्यो। युवाहरूले सडक र स्वास्थ्यको दुरावस्थाबारे प्रश्न गर्दै भने—“गर्भवती महिलालाई डोकोमा बोकेर घण्टौँ हिँड्नुपर्ने र समयमा गाडी पनि नपाइने पीडा हामीले कहिलेसम्म सहने ?”

दुल्लु : आत्मीय आतिथ्य र साझा सङ्कल्प

असोज २५ गते दुल्लु बजारमा आयोजित संयुक्त कार्यक्रममा दुल्लु नगरपालिकाका सभापति जगत सुनार, भैरवी गाउँपालिकाका सभापति गोविन्द रिजाल लगायत साथीहरूको उत्साहजनक उपस्थिति थियो। साथीहरूले देखाउनुभएको आत्मीयता र उत्कृष्ट व्यवस्थापनले हामीलाई आफ्नै घरको जस्तै अनुभूति गरायो।

दैलेखको बसाइले मलाई सिकाएको महत्त्वपूर्ण पाठ के हो भने— सङ्गठन बनाउन केवल संरचना भएर पुग्दैन, मानिसहरूबीच विश्वास, आत्मीयता र साझा उद्देश्य निर्माण हुनुपर्छ। पार्टीको वास्तविक शक्ति इमानदार कार्यकर्ता र जनतासँगको जीवन्त सम्बन्धमा निहित हुन्छ।

जनताको आवाज बोकेर फर्किंदा

गण्डकीदेखि कर्णालीको दैलेखसम्मको यो यात्रा जनताका समस्या र आशालाई नजिकबाट बुझ्ने अवसर बन्यो। सङ्कलित विवरणहरू अभियान संयोजक निशा डाँगीज्यूलाई पठाउनुका साथै महामन्त्री विपिन आचार्यज्यूलाई साक्षात बुझाएको छु।

राजनीति पदका लागि मात्र नभई नागरिकको आवाज उठाउने जिम्मेवारी हो भन्ने विश्वास यस यात्राले अझ बलियो बनाएको छ। अभियान सकिए पनि जनताका मुद्दा नेतृत्वसम्म पुर्‍याउने र समाधानका लागि पहल गर्ने हाम्रो यात्रा निरन्तर जारी रहनेछ।

विस्तृत विवरण यहाँ छ:-