मंसिर १० देखि कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ खुल्दै

-



     सफल आवाज    
     कार्तिक ३० गते २०८३ मा प्रकाशित



काठमाडौं, ३० कात्तिक । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले आगामी मंसिर १० गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कसका लागि कति कित्ता ?

  • आयोजना प्रभावित स्थानीयका लागि: कम्पनीले आफ्नो जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड रुपैयाँ बराबरको (प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका) ८ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र अर्थात् काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं. ७ का स्थानीय बासिन्दाहरूका लागि निष्काशन गर्नेछ।
  • वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि: सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ९० लाख रुपैयाँ बराबरको ९० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिनेछ।

आवेदन सीमा र समयावधि यस आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतम सीमा भने स्थानीय बासिन्दाका लागि १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ७ हजार कित्ता तोकिएको छ।

  • वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि: मंसिर १५ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि मंसिर २४ गतेसम्म लम्बिनेछ।
  • स्थानीय बासिन्दाका लागि: निष्काशन बन्द छिटोमा मंसिर २४ गते र ढिलोमा पुस १३ गते हुनेछ।

कहाँबाट र कसरी दिने आवेदन ? कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले मुक्तिनाथ विकास बैंक र सिन्धु विकास बैंकका बनेपा तथा पाँचखाल शाखा कार्यालयहरूबाट दरखास्त फारमबापत २ रुपैयाँ शुल्क बुझाई आवेदन दिन सक्नेछन्।

त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि-आस्बा (C-ASBA) सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीको वित्तीय अवस्था र रेटिङ्ग आईपीओ निष्काशनका लागि गराइएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी प्लस’ (CARE-NP BB+) इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको प्रक्षेपित वित्तीय विवरणअनुसार साधारण लगानी फिर्ता हुने अवधि (Payback Period) ४.५० वर्ष र डिस्काउण्ट लगानी फिर्ता हुने अवधि ५.७१ वर्ष रहेको छ। यस्तै, कम्पनीको खुद वर्तमान मूल्य (NPV) १ अर्ब ५९ करोड ९८ लाख ६६ हजार ७५८ रुपैयाँ र आन्तरिक प्रतिफल दर (IRR) २४.२७ प्रतिशत रहेको छ।