
काठमाडौं, १ मंसिर। नबिल बैंक लिमिटेड आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर दाखिला गर्ने बैंकका रूपमा नेपाल सरकारबाट सम्मानित भएको छ। बैंकले यो प्रतिष्ठित सम्मान नवौँ पटक प्राप्त गरेको हो।
राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार आन्तरिक राजस्व विभागद्वारा आयोजित एक विशेष समारोहका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकलाई सम्मानपत्र प्रदान गरे। बैंकको तर्फबाट सञ्चालक समितिको अध्यक्षता गरिरहेका निर्वाण कुमार चौधरीले उक्त सम्मान ग्रहण गरेका थिए।
नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ मा करिब ३ अर्ब रुपैयाँ आयकर बुझाएको थियो भने गत आर्थिक वर्ष २०८२/८३ मा सो रकम बढेर ३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। नवौँ पटक प्राप्त यस सम्मानले मुलुकको राजस्वमा बैंकको निरन्तर योगदान र जिम्मेवार व्यावसायिक अभ्यासप्रतिको प्रतिबद्धतालाई थप उजागर गरेको छ।
सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै चौधरीले यो उपलब्धि समग्र नबिल परिवारका लागि गर्वको विषय भएको बताए। उनले भने, “यस सम्मानले हाम्रा कर्मचारीहरूको योगदान र ग्राहकहरूले हामीप्रति देखाउनुभएको विश्वासलाई प्रतिबिम्बित गर्दछ। हामी करदाताका रूपमा आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिन्छौँ र नेपालको आर्थिक प्रगतिमा योगदान पुर्याउन निरन्तर प्रतिबद्ध छौँ।”
नेपाल सरकारले प्रत्येक वर्ष राष्ट्रिय कर दिवसका अवसरमा विभिन्न क्षेत्रबाट सर्वाधिक राजस्व योगदान गर्ने उत्कृष्ट करदाता तथा संस्थाहरूलाई सम्मान गर्दै आएको छ। बैंकले पारदर्शी व्यावसायिक अभ्यास, जिम्मेवार बैंकिङ र ग्राहकको विश्वासलाई आफ्नो दीर्घकालीन प्रगतिको मुख्य आधार मान्दै आएको जनाएको छ।
चार दशकभन्दा लामो बैंकिङ यात्रा तय गरेको नबिल बैंकले डिजिटल सेवाको विस्तारका लागि ‘एनबैंक’ सञ्चालनमा ल्याएको छ। हाल बैंकले देशभर रहेका २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटिएममार्फत करिब ३० लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




