
पाेखरा, २ मंसिर । गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा बुधबारदेखि सुरू भएकाे छ ।
तीन दिवसीय यस कार्यक्रम अन्तर्गत मंसिर २ गते बुधबार अस्पतालहरूकाे समिक्षा गरिएकाे छ । मंसिर ३ गते जनस्वास्थ्य तर्फ र मंसिर ४ गते आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा तर्फको समीक्षा रहने तालिका रहेकाे कार्यक्रम अधिकृत तथा फाेकल पर्सन बुद्धिसागर अधिकारीले जानकारी दिनुभयाे।
स्वास्थ्य मन्त्रालयका मन्त्री नन्द प्रसाद न्यौपानेको अध्यक्षतामा संचालन भएकाे कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेको प्रमुख आतिथ्यतामा भएकाे हाे ।
स्वास्थ्य संस्थाहरूलाई बलियो बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका अस्पतालमा सेवाग्राहीको चाप घटाउन स्थानीय तहका नगर अस्पताल, आधारभूत अस्पताल र स्वास्थ्य चौकीको सेवा तथा पूर्वाधार सुदृढीकरणमा लगानी बढाउनुपर्ने बताउनु भयाे ।
कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले स्थानीय तहका स्वास्थ्य संस्थाबाटै नागरिकले आवश्यक सेवा पाउने वातावरण बनाउनुपर्ने बताउनु भयाे । स्थानीय तहका स्वास्थ्य संस्था बलियो भए प्रदेश अस्पतालसम्म आउनुपर्ने बिरामीको संख्या घट्ने र प्रदेश सरकारले अस्पतालमा थप लगानी गर्नुपर्ने अवस्था पनि कम हुने उहाँको भनाइ थियो ।
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले स्थापना गरेको स्वास्थ्य कोषलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिएको बताउनु भयाे । प्रदेश अस्पतालहरूले व्यवस्थापन समितितर्फको आन्तरिक आम्दानीबाट बचत भएको कुल रकमको १५ प्रतिशत कोषमा जम्मा गर्ने र कमजोर आर्थिक अवस्था भएका अस्पताललाई त्यही कोषबाट सहयोग गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयाे । उक्त व्यवस्था प्रभावकारी देखिएको पनि उहाँले बताउनु भयाे ।
धेरै जनसंख्या भएका सहर केन्द्रित प्रदेश अस्पतालमा विशेषज्ञ तथा विशिष्टीकृत सेवा विस्तार गरी अस्पताललाई आफ्नै आम्दानीबाट सञ्चालन हुन सक्ने बनाउने सरकारको लक्ष्य रहेको बताउनु भयाे । अस्पतालको भौतिक पूर्वाधार विकासलाई पनि प्राथमिकतामा राखिएको उल्लेख गर्दै उहाँले लमजुङ, तनहुँ र स्याङ्जाका प्रदेश अस्पतालको पूर्वाधार निर्माणका लागि क्रमशः प्राथमिकताका आधारमा बजेट विनियोजन गरिएको जानकारी दिनुभयाे । यस वर्ष लमजुङ अस्पतालको भवन निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाउने गरी कार्यक्रम तय भएको उहाँको भनाइ थियो ।
डायलायसिस सेवा लिनुपर्ने बिरामीले पालो कुर्नुपर्ने अवस्थालाई कम गर्दै प्रतीक्षारत बिरामीको संख्या एक सयभन्दा तल राखिएको उनले बताउनु भयाे । त्यस्तै, क्यान्सर रोगको उपचार गर्नुपर्ने गण्डकी प्रदेशका बिरामीलाई एक लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने कार्यक्रम निरन्तर रहेको जानकारी दिनुभयाे ।
डायलायसिस र क्यान्सरका बिरामीको संख्या बढ्दै गएको देखिएकाले रोगको समयमै पहिचान र रोकथाममा ध्यान दिनुपर्नेमा उनले जोड दिनुभयाे । यसका लागि स्वास्थ्य मन्त्रालयलाई स्क्रिनिङ कार्यक्रम, स्वास्थ्य शिविर र जनचेतनामूलक गतिविधि विस्तार गर्न निर्देशन दिएको उहाँले बताउनु भयाे ।
मुख्यमन्त्री पाण्डेले स्वास्थ्य क्षेत्रका विद्यमान ऐन, नियम तथा कार्यविधिमा रहेका अस्पष्टता, एकआपसमा बाझिएका प्रावधान र संघीय तहको व्यवस्थाभन्दा कमजोर रहेका विषयलाई आवश्यकताअनुसार संशोधन गर्न पनि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिनुभयाे । प्रदेशको स्वास्थ्य सेवा प्रभावकारी बनाउन नीतिगत र कानुनी सुधारसँगै स्थानीय तहका स्वास्थ्य संस्थाको सुदृढीकरणलाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव आभा श्रेष्ठ कर्ण, नेपाल सरकार, स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सुवास प्याकुरेल, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभागबाट डा. फणिन्द्र बराल, डा. अमृत पोख्रेल लगायतका अतिथिको उपस्थिति रहेको छ।
कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालका निर्देशक र तथ्यांक शाखा प्रमुख, गण्डकी प्रदेश सरकार मातहतका १४ वटा प्रदेश अस्पतालका प्रमुख र योजना तथा तथ्यांक शाखा प्रमुख, गण्डकी प्रदेशमा रहेका मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज, पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका प्रमुख र तथ्यांक शाखा प्रमुखको सहभागिता रहेको छ ।
गण्डकीका १३ अस्पतालमा ९३३ शय्या सञ्चालन, १ हजार ७७५ जनशक्ति कार्यरत
गण्डकी प्रदेश सरकार मातहतका १३ अस्पतालमा ९३३ शय्या सञ्चालनमा रहेका छन् । अस्पतालहरूको आर्थिक वर्ष २०८२/८३ को प्रगति विवरणअनुसार प्रदेशका अस्पतालमा स्वीकृत ७५० शय्याभन्दा बढी अर्थात् ९३३ शय्या सञ्चालनमा रहेका हुन् ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार अस्पतालहरूमा कुल १ हजार ७७५ जना स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन् । तीमध्ये ३३३ जना स्थायी, ४७२ जना छात्रवृत्ति तथा कार्यक्रमअन्तर्गत, ५५८ जना अस्पताल व्यवस्थापन समितिमार्फत र ३०७ जना प्रदेश करार तथा अन्य व्यवस्थाबाट कार्यरत छन् ।
अस्पतालको स्तरोन्नतिअन्तर्गत धौलागिरि अस्पतालमा सबैभन्दा बढी १४० शय्या सञ्चालनमा छन् । मध्यविन्दु अस्पतालमा १५७, गोरखा अस्पतालमा ८७, लमजुङमा ८८, तनहुँमा ६८, पर्वतमा ६५, म्याग्दीमा ६५ र मातृशिशु मितेरी अस्पतालमा ५४ शय्या सञ्चालनमा रहेको विवरणमा उल्लेख छ ।
मध्यविन्दु अस्पतालमा सबैभन्दा बढी सेवाग्राही
आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका अस्पतालबाट सेवा लिने सेवाग्राहीमध्ये मध्यविन्दु अस्पतालमा सबैभन्दा बढी एक लाख ६ हजार ७३३ जना पुगेका छन् । गोरखा अस्पतालमा एक लाख १२ हजार ३३६ र लमजुङ अस्पतालमा एक लाख १५ हजार ३०८ जना सेवाग्राही रहेको विवरणमा उल्लेख छ ।
त्यस्तै धौलागिरि अस्पतालमा ७६ हजार ३८६, पर्वतमा ८० हजार ९८४, म्याग्दीमा ९२ हजार ८१२, तनहुँमा ९६ हजार २१३ र मातृशिशु मितेरी अस्पतालमा ६४ हजार २६३ जनाले सेवा लिएका छन् ।
२३ हजारभन्दा बढी शल्यक्रिया
प्रदेशका अस्पतालमा आर्थिक वर्ष २०८२/८३ मा विभिन्न प्रकृतिका शल्यक्रिया सेवा सञ्चालन भएका छन् । मध्यविन्दु अस्पतालमा सबैभन्दा बढी पाँच हजार १०१ वटा शल्यक्रिया भएका छन् । पर्वत अस्पतालमा दुई हजार ७०६, मातृशिशु मितेरी अस्पतालमा दुई हजार ६०९, आपपिपल अस्पतालमा एक हजार ८३४ र जनरल तथा सरुवा रोग अस्पतालमा एक हजार ८६६ शल्यक्रिया भएका छन् ।
गोरखा अस्पतालमा एक हजार ४९१, तनहुँमा एक हजार ३६६, धौलागिरिमा एक हजार २३, म्याग्दीमा ९४८ र लमजुङमा ९२१ शल्यक्रिया भएका छन् ।
गोरखा अस्पतालमा सबैभन्दा बढी बेरुजु
गण्डकी प्रदेश मातहतका अस्पतालमध्ये गोरखा अस्पतालमा सबैभन्दा बढी बेरुजु देखिएको छ । अस्पतालको कुल बेरुजु चार करोड ५७ लाख २१ हजार ४९१ रुपैयाँमध्ये दुई लाख ९५ हजार २३८ रुपैयाँ मात्रै फर्छ्यौट भएको छ । अझै चार करोड ५४ लाख २६ हजार २५३ रुपैयाँ बेरुजु बाँकी छ ।
मुस्ताङ अस्पतालमा चार करोड १७ लाख २७ हजार ३४४ रुपैयाँ र धौलागिरि अस्पतालमा तीन करोड १५ लाख ७० हजार १४९ रुपैयाँ बेरुजु बाँकी रहेको विवरणमा उल्लेख छ ।
यसैगरी मनाङ अस्पतालमा दुई करोड २१ लाख १० हजार १९३ रुपैयाँ, लमजुङमा एक करोड ३७ लाख एक हजार ३९९ रुपैयाँ र म्याग्दीमा ४१ लाख ९३ हजार ९८० रुपैयाँ बेरुजु बाँकी छ ।
बेरुजु फर्छ्यौटमा भने पर्वत अस्पतालले उत्कृष्ट प्रगति गरेको छ । अस्पतालको कुल दुई करोड ५४ लाख ४० हजार २८९ रुपैयाँ बेरुजुमध्ये ९९.७७ प्रतिशत फर्छ्यौट भएको छ । अब ५७ हजार ९९१ रुपैयाँ मात्रै बाँकी छ ।
त्यस्तै प्रदेश जनरल तथा सरुवा रोग अस्पतालले ९६.२८ प्रतिशत बेरुजु फर्छ्यौट गरेको छ । बुर्तिबाङ अस्पतालको बेरुजु शून्य रहेको छ भने मध्यविन्दु अस्पतालमा पछिल्लो पाँच वर्षदेखि नयाँ बेरुजु नथपिएको प्रतिवेदनमा उल्लेख छ ।
अस्पतालको आम्दानी १ अर्ब २९ करोड
प्रदेशका अस्पतालहरूको आर्थिक वर्ष २०८२/८३ को विवरणअनुसार कुल स्वीकृत बजेट एक अर्ब ३६ करोड २६ लाख रुपैयाँ रहेको छ । अस्पतालहरूको खुद आम्दानी एक अर्ब २९ करोड ११ लाख रुपैयाँ पुगेको छ । सो अवधिमा एक अर्ब १५ करोड ७८ लाख रुपैयाँ खर्च भएको छ भने दुई करोड ६२ लाख रुपैयाँभन्दा बढी मौज्दात रहेको विवरणमा उल्लेख छ ।
अस्पतालमा डिजिटल सेवा विस्तार
प्रदेशका अस्पतालहरूले सेवा प्रवाहलाई सहज बनाउन डिजिटल स्वास्थ्य कार्ड, क्यूआर भुक्तानी, क्यू व्यवस्थापन प्रणाली, टेलिमेडिसिन र विद्युतीय मेडिकल रेकर्ड (ईएमआर) लगायतका सेवा विस्तार गरेका छन् ।
तनहुँ अस्पतालमा क्यूआर भुक्तानी, डिजिटल हेल्थ कार्ड र क्यू व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याइएको छ । लमजुङ अस्पतालमा टेलिमेडिसिन तथा एकल चिराबाट गरिने ल्याप्रोस्कोपिक शल्यक्रिया सेवा सुरु गरिएको छ । गोरखा अस्पतालमा क्यूआर भुक्तानी र आईपीडी फार्मेसी सेवा विस्तार गरिएको छ ।
त्यस्तै धौलागिरि अस्पतालमा एनआईसीयू सेवा, मध्यविन्दु अस्पतालमा आईसीयू तथा हिप रिप्लेसमेन्ट शल्यक्रिया र अन्य अस्पतालमा पनि विभिन्न विशेषज्ञ तथा शल्यक्रिया सेवा विस्तार गरिएको मन्त्रालयको विवरणमा उल्लेख छ ।
जनशक्ति र पूर्वाधार मुख्य चुनौती
अस्पतालको सेवा विस्तारसँगै दक्ष जनशक्ति टिकाइराख्ने नीति, पर्याप्त पूर्वाधार, अस्पताल पुग्नुअघिको आपतकालीन सेवा, रिफरल प्रणाली, शैक्षिक कार्यक्रम तथा स्वास्थ्य बीमा भुक्तानीलाई प्रमुख चुनौतीका रूपमा औँल्याइएको छ ।
मन्त्रालयले आगामी प्राथमिकतामा अस्पतालको सेवा गुणस्तर मापन तथा सुधार, सेवा विस्तार र सुदृढीकरण, निश्चित अस्पताललाई रिफरल अस्पतालका रूपमा विकास, आधारभूत अस्पतालको सुदृढीकरण तथा स्वास्थ्य बीमा कार्यक्रम सबलीकरणलाई राखेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले २०८३ मंसिर २ गते सार्वजनिक गरेको अस्पतालहरूको प्रगति विवरणमा यी उपलब्धि, चुनौती र आगामी प्राथमिकता समेटिएका छन् ।
गण्डकीमा नसर्ने रोगका ९९ हजारभन्दा बढी नयाँ बिरामी
गण्डकी प्रदेशमा नसर्ने रोगका नयाँ बिरामीको संख्या ९९ हजारभन्दा बढी पुगेको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को स्वास्थ्य सूचकांकअनुसार एक वर्षमा नसर्ने रोगका ९९ हजार १०५ नयाँ बिरामी थपिएका हुन् ।
मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा यस्तो संख्या एक लाख तीन हजार ४१० थियो । अघिल्लो वर्षको तुलनामा नयाँ बिरामीको संख्या केही घटेको देखिए पनि नसर्ने रोगको भार अझै उच्च छ ।
प्रदेशमा उच्च रक्तचापका दुई लाख ३० हजार ६५, मधुमेहका ६७ हजार २५४, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग (सीओपीडी) का १८ हजार ९१ र मुटुसम्बन्धी रोगका दुई हजार ५१२ बिरामी रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यस्तै, आगलागी तथा अन्य कारणबाट हुने जलनका तीन हजार १५ जना बिरामी रहेका छन् ।
सडक दुर्घटनाका घाइते बढे
गण्डकी प्रदेशमा सडक दुर्घटनाबाट घाइते हुनेको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा सडक दुर्घटनामा परी ६ हजार ६९५ जना घाइते भएका छन् । अघिल्लो आर्थिक वर्षमा यस्तो संख्या पाँच हजार ३२६ थियो ।
जिल्लागत रूपमा तनहुँमा सबैभन्दा बढी एक हजार ८०५ जना घाइते भएका छन् । कास्कीमा ९२१, स्याङ्जामा ९०८, नवलपुरमा ९११, गोर्खामा ४८५ र पर्वतमा ३१८ जना घाइते भएका छन् ।
पशुबाट सर्ने रोगको जोखिम बढ्दो
पशुबाट मानिसमा सर्ने रोग नियन्त्रण कार्यक्रमअन्तर्गत जनावरको टोकाइका घटना पनि बढेका छन् । आर्थिक वर्ष २०८०/८१ मा १४ हजार ३०७ रहेको यस्तो संख्या २०८१/८२ मा १९ हजार २२ पुगेको थियो । आर्थिक वर्ष २०८२/८३ मा बढेर २२ हजार ६१८ पुगेको छ ।
यस्तै, मलेरियाका बिरामीको संख्या पनि बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा १६ जना, २०८१/८२ मा २९ जना र २०८२/८३ मा ३२ जनामा मलेरिया देखिएको छ । पछिल्लो वर्ष कास्कीमा १२, नवलपुरमा १०, तनहुँमा पाँच, गोर्खा र स्याङ्जामा दुई/दुई तथा लमजुङमा एक जनामा संक्रमण देखिएको छ ।
पुनःस्थापना सेवा लिनेको संख्या २५.८ प्रतिशतले वृद्धि
गण्डकी प्रदेशमा पुनःस्थापना सेवा लिने बिरामीको संख्या उल्लेख्य बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा ३६ हजार ८९८ जनाले पुनःस्थापना सेवा लिएका छन् । अघिल्लो वर्ष यस्तो सेवा लिनेको संख्या २९ हजार ३४१ थियो । एक वर्षमा सात हजार ५५७ अर्थात् २५.८ प्रतिशतले वृद्धि भएको हो ।
जिल्लागत रूपमा कास्कीमा सबैभन्दा बढी १४ हजार ९३१ जनाले सेवा लिएका छन् । नवलपुरमा चार हजार ७०४, लमजुङमा चार हजार २६४, गोर्खामा चार हजार १४१ र तनहुँमा तीन हजार ३७७ जनाले सेवा लिएका छन् ।
खोप कार्यक्रममा गण्डकी सबैभन्दा अगाडि
खोप कार्यक्रममा गण्डकी प्रदेशको उपलब्धि राम्रो देखिएको छ । सन् २०२४/२५ को नेपाल बहुसूचक सर्वेक्षण (एनएमआईसीएस) अनुसार गण्डकी प्रदेशमा खोपको उपलब्धि ९५.५ प्रतिशत रहेको छ । यो सबै प्रदेशमध्ये उच्च रहेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।
पोषण कार्यक्रमतर्फ शून्यदेखि ११ महिनासम्मका ८६.६ प्रतिशत बालबालिका वृद्धि अनुगमनका लागि दर्ता भएका छन् । शून्यदेखि २३ महिनासम्मका बालबालिकामा कम तौल हुने दर १.९६ प्रतिशत रहेको छ । गर्भवती महिलामध्ये १८ हजार ७११ जनाले १८० चक्की आइरन प्राप्त गरेका छन् ।
कुष्ठरोगको नयाँ बिरामी दर ३.३८
गण्डकी प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा कुष्ठरोगको नयाँ बिरामी पत्ता लाग्ने दर ३.३८ रहेको छ । जिल्लागत रूपमा लमजुङमा सबैभन्दा बढी ६.२६, स्याङ्जामा ४.७८ र नवलपुरमा ३.९० रहेको छ । कास्कीमा ३.२० र गोर्खामा १.७३ रहेको छ भने मनाङ र मुस्ताङमा नयाँ बिरामीको दर शून्य देखिएको छ ।
प्रदेशको कुल जनसंख्या दुई लाख ३९ लाख ७६ हजार ६६५ नभई २३ लाख ९७ हजार ६६५ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
स्वास्थ्य मन्त्रालयले २०८३ मंसिर २ गते सार्वजनिक गरेको प्रतिवेदनमा खोप, पोषण, मातृ तथा शिशु स्वास्थ्य, नसर्ने रोग, सरुवा रोग, सडक दुर्घटना तथा उपचारात्मक सेवासम्बन्धी विभिन्न सूचक समेटिएका छन् ।
समाचारका मुख्य तथ्यांक:
| सूचक | आर्थिक वर्ष २०८२/८३ |
|---|---|
| नसर्ने रोगका नयाँ बिरामी | ९९,१०५ |
| उच्च रक्तचाप | २,३०,०६५ |
| मधुमेह | ६७,२५४ |
| सडक दुर्घटनाका घाइते | ६,६९५ |
| जनावरको टोकाइ | २२,६१८ |
| मलेरिया | ३२ |
| पुनःस्थापना सेवा लिने | ३६,८९८ |
| खोप उपलब्धि | ९५.५% |
स्रोतः गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको आर्थिक वर्ष २०८२/८३ को मुख्य स्वास्थ्य सूचक प्रतिवेदन।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




