
काठमाडौं, २ मंसिर । नेपालमा वैकल्पिक लगानीका क्षेत्र विस्तार गर्ने उद्देश्यसहित वैकल्पिक लगानी कोष नियमावली, २०८३ को मस्यौदा तयार गरिएको छ । नेपाल धितोपत्र बोर्डले २०७५ सालमा जारी गरेको विशिष्टीकृत लगानी कोष नियमावलीलाई परिमार्जन गर्दै नयाँ नाम र विस्तारित व्यवस्थासहित मस्यौदा तयार गरेको हो ।
नयाँ मस्यौदाले प्राइभेट इक्विटी, भेन्चर क्यापिटललगायतका वैकल्पिक लगानी कोषलाई अन्तर्राष्ट्रिय अभ्यासअनुसार संस्थागत स्वरूप दिने र लगानीकर्ता संरक्षणका लागि नियामकीय आधार तयार गर्ने लक्ष्य राखेको छ । यसले स्टार्टअप, साना तथा मझौला उद्यम, पूर्वाधार, ऋण वित्तपोषण र सामाजिक प्रभावका क्षेत्रमा लगानी विस्तार गर्ने बाटो खोल्ने अपेक्षा गरिएको छ ।
मस्यौदाअनुसार वैकल्पिक लगानी कोष कम्पनी, ट्रष्ट वा लिमिटेड लायबिलिटी पार्टनरसिप (एलएलपी) संरचनामा स्थापना गर्न सकिनेछ । कोषलाई जोखिम र लगानीको प्रकृतिका आधारमा तीन श्रेणीमा वर्गीकरण गर्ने प्रस्ताव गरिएको छ । यसअन्तर्गत प्राइभेट इक्विटी, भेन्चर क्यापिटल, हेज फन्डसँगै एन्जल फन्ड, एसएमई फन्ड, सामाजिक प्रभाव फन्ड, पूर्वाधार फन्ड, ऋण फन्ड तथा फन्ड अफ फन्ड्सजस्ता लगानी संरचनालाई समेटिएको छ ।
कोष व्यवस्थापकको न्यूनतम चुक्ता पुँजी पाँच करोड रुपैयाँ हुनुपर्ने प्रस्ताव गरिएको छ । हालको नियमावलीमा यस्तो पुँजी दुई करोड रुपैयाँ रहेको थियो । नयाँ व्यवस्थाअनुसार कोष व्यवस्थापकले संस्था स्थापना गर्नुअघि बोर्डबाट पूर्वस्वीकृति लिनुपर्ने र आवश्यक पूर्वाधारको स्थलगत निरीक्षणसमेत हुने व्यवस्था प्रस्ताव गरिएको छ ।
मस्यौदामा कोषको न्यूनतम आकार १५ करोड रुपैयाँ तोकिएको छ भने कोष व्यवस्थापकले कम्तीमा दुई प्रतिशत लगानी गर्नुपर्नेछ । एउटा कोषमा अधिकतम २०० जना इकाइधनी रहन सक्नेछन् । कोष बन्दमुखी (क्लोज्ड इन्डेड) हुने र सामान्यतया प्रतिइकाइधनी न्यूनतम ५० लाख रुपैयाँ लगानी गर्नुपर्ने प्रस्ताव छ । तर भेन्चर क्यापिटल, एसएमई, सामाजिक प्रभाव तथा एन्जल फन्डमा न्यूनतम लगानी २५ लाख रुपैयाँ कायम गर्ने व्यवस्था मस्यौदामा समेटिएको छ ।
लगानीकर्ताले एकमुष्ट रकम बुझाउनुपर्ने परम्परागत व्यवस्थाको सट्टा लगानी प्रतिबद्धता (क्यापिटल कमिटमेन्ट) जनाउन सक्ने र कोषलाई आवश्यक पर्दा चरणबद्ध रूपमा रकम माग गर्न सक्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ । कोषले पहिलो क्लोज १२ महिनाभित्र र अन्तिम क्लोज २४ महिनाभित्र हासिल गर्नुपर्नेछ ।
कोषको अवधि पाँचदेखि १५ वर्षसम्म हुने प्रस्ताव छ । एउटा कम्पनी वा क्षेत्रमा कोषको कुल लगानीयोग्य रकमको अधिकतम २५ प्रतिशतसम्म लगानी गर्न सकिने व्यवस्था गरिएको छ । कोष व्यवस्थापक र इकाइधनीले समान सर्तमा सहलगानी गर्न सक्ने तथा स्वार्थको द्वन्द्व र अनुचित क्रस होल्डिङ रोक्ने प्रावधानसमेत मस्यौदामा राखिएको छ ।
विदेशी लगानी आकर्षित गर्न विदेशी कोष तथा कोष व्यवस्थापकले नेपालमा सहायक कम्पनी स्थापना गरी वा स्थानीय अनुमतिप्राप्त कोष व्यवस्थापकमाफर्त कोष सञ्चालन गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । विदेशी लगानीकर्ताले पनि वैकल्पिक लगानी कोषका इकाइ खरिद गर्न सक्नेछन् । बोर्डको आवश्यक स्वीकृति र लेखाङ्कनपछि लगानी तथा मुनाफा फिर्ता लैजान सकिने व्यवस्था पनि मस्यौदामा समेटिएको छ ।
लगानीकर्ता संरक्षणका लागि लगानीकर्ताको पहिचान, आर्थिक क्षमता, जोखिम वहन क्षमता र लगानी अनुभव परीक्षण गर्नुपर्ने प्रस्ताव छ । इकाइधनीको दायित्व आफूले खरिद गरेको इकाइसम्म मात्र सीमित हुने, मतदान, नाफा प्राप्ति तथा लगानीसम्बन्धी जानकारी पाउने अधिकार सुनिश्चित गर्ने व्यवस्था गरिएको छ । प्रत्येक कोषका लागि छुट्टै लगानी समिति गठन गर्नुपर्ने र कोष व्यवस्थापकले इकाइधनीप्रति विश्वासमा आधारित कानुनी दायित्व निर्वाह गर्नुपर्नेछ ।
त्यस्तै, कोषको सम्पत्ति व्यवस्थापकको सम्पत्तिबाट अलग राख्नुपर्ने, प्रत्येक कोषको छुट्टाछुट्टै बैंक खाता तथा लेखा राख्नुपर्ने र वर्षमा कम्तीमा एकपटक स्वतन्त्र मूल्यांकनकर्ताबाट लगानीको मूल्यांकन गराउनुपर्ने प्रस्ताव गरिएको छ । कोष र कोष व्यवस्थापकको छुट्टाछुट्टै लेखापरीक्षण गर्नुपर्ने व्यवस्था पनि छ ।
नयाँ मस्यौदाले बोर्डको नियमन तथा निरीक्षणलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ । कोषको आकार, जोखिम, लगानी रणनीति र लगानीकर्ताको प्रकृतिका आधारमा विशेष निरीक्षण गर्न सकिने तथा प्रत्येक आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र लेखापरीक्षण भएको वित्तीय विवरण र वार्षिक प्रतिवेदन बोर्डमा पेस गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
समग्रमा नयाँ मस्यौदाले परम्परागत प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा सीमित वैकल्पिक लगानीको दायरा विस्तार गर्दै पूर्वाधार, ऋण वित्तपोषण, स्टार्टअप तथा उद्यमशीलतासम्म लगानीका अवसर फराकिलो बनाउने लक्ष्य लिएको देखिन्छ । यो हाल मस्यौदाका रूपमा रहेको प्रस्ताव हो; अन्तिम नियमावली जारी भएपछि मात्र यसको व्यवस्था कार्यान्वयनमा आउनेछ ।
वैकल्पिक लगानी कोष नियमावली, २०८३ को मस्यौदा








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




