
काठमाडौं, २ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार तथा रणनीतिकारका रूपमा चिनिएका कुमार बेन (कुमार व्यञ्जनकार) विरुद्ध झुट्टा प्रमाण बनाएको आरोपमा प्रहरीमा जाहेरी दरखास्त परेको छ ।
अछामको चौरपाटी गाउँपालिका–४ निवासी विजय शाहले मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–४ अन्तर्गत दफा ६९ बमोजिम अनुसन्धान तथा कारबाहीको माग गर्दै जाहेरी दिएको देखिन्छ ।
जाहेरीमा अनुसन्धानका क्रममा रहेका इनाम सापकोटाको मोबाइल फोन कुमार बेनको नियन्त्रणमा रहेको र त्यसबाट डिजिटल प्रमाणमा छेडछाड गरिएको आरोप लगाइएको छ । जाहेरीमा उल्लेख भएअनुसार सन् २०२६ अक्टोबर २ अर्थात् २०८३ असोज १६ गते राति सवा ९ बजेको समयमा सापकोटाको मोबाइल फोन कुमार बेनको घरमा रहेको पुष्टि भएको दाबी गरिएको छ ।
जाहेरीमा असोज १५ गते सापकोटा पक्राउ परेको भोलिपल्ट कुमार बेनको मोबाइल नम्बरबाट सापकोटाको नम्बरमा ‘हेलो’ सन्देश पठाइएको र करिब दुई घण्टापछि सापकोटाको नम्बरबाट जवाफ आएको विवरण उल्लेख छ । उक्त संवादमा सापकोटालाई चिनेजानेको, उमेश श्रेष्ठसँगको सम्बन्ध र प्रधानमन्त्री बालेन्द्र शाहलाई व्यक्तिगत रूपमा चिने–नचिनेको विषयमा प्रश्न गरिएको दाबी छ ।
त्यस्तै, अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यममा सापकोटाको मोबाइल कुमार बेनको नियन्त्रणमा रहेको र उक्त संवाद बेन आफैँले लेखेको दाबी सार्वजनिक भएको जाहेरीमा उल्लेख गरिएको छ । असोज १६ गते प्रधानमन्त्री सचिवालय तथा गृह मन्त्रालयसँग सम्बन्धित सल्लाहकार र प्राविधिक अधिकारीहरू जिल्ला प्रहरी परिसर पुगेको विवरणसमेत जाहेरीमा समेटिएको छ ।
जाहेरीमा सेतोपाटीमा प्रकाशित समाचारलाई उद्धृत गर्दै सापकोटाबाट बरामद गरिएका दुई मोबाइल फोन फरेन्सिक परीक्षणका लागि पठाउनुअघि दुई दिनसम्म कुमार बेनको निजी निवास क्षेत्रमा रहेको लोकेसन देखिएको दाबी गरिएको छ । प्रहरीको लोकेसन ट्र्याकिङबाट उक्त तथ्य पुष्टि भएको जाहेरीकर्ताको भनाइ छ ।
मोबाइल फिर्ता आएपछि गरिएको फरेन्सिक परीक्षणबाट दुई दिनको अवधिमा मोबाइलमा रहेका ह्वाट्सएप, फेसबुकलगायत सामाजिक सञ्जाल अनधिकृत रूपमा सञ्चालन गरिएको, विभिन्न सामग्रीको स्क्रिनसट लिइएको तथा सापकोटा र बेनबीचका केही महत्त्वपूर्ण सन्देश मेटाइएको दाबी पनि जाहेरीमा गरिएको छ ।
उक्त घटनाले डिजिटल प्रमाणको विश्वसनीयता र अनुसन्धान प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको भन्दै जाहेरीकर्ताले निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन् ।










नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




