
काठमाडौं, ३ मंसिर। आशुतोष इनर्जी लिमिटेडले आगामी मङ्सिर १४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि सेयर निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको २० प्रतिशत अर्थात् १२ करोड रुपैयाँबराबरको १२ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये ६ करोड रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका ६ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
स्थानीय बासिन्दाका लागि छुट्याइएको सेयरमध्ये ३ लाख कित्ता सेयर अति प्रभावित क्षेत्र लमजुङको दूधपोखरी गाउँपालिका वडा नं. १ र २ तथा गोरखाको अजिरकोट गाउँपालिका वडा नं. २ र ३ का बासिन्दामा बाँडफाँट गरिनेछ। बाँकी ३ लाख कित्ता सेयर अति प्रभावित क्षेत्रबाहेक दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र अजिरकोट गाउँपालिकाका स्थायी बासिन्दाका लागि बाँडफाँट हुनेछ।
त्यसैगरी, सर्वसाधारणमा निष्कासन गरिने सेयरको १० प्रतिशत अर्थात् ६० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ।
आवेदकहरूले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन छिटोमा मङ्सिर २८ गते र ढिलोमा पुस १४ गते बन्द हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने मङ्सिर १७ गतेभित्र आवेदन दिनुपर्नेछ; उक्त अवधिभित्र पर्याप्त आवेदन नपरे निष्कासन मङ्सिर २८ गतेसम्म लम्बिनेछ।
आईपीओ रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ ट्रिपल बी माइनस’ (ICRANP Issuer Rating BBB-) प्रदान गरेको छ, जसले दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको सङ्केत गर्छ।
कम्पनीले प्रवर्द्धन गरेको ८.३ मेगावाट क्षमताको चेपे खोला साना जलविद्युत् आयोजनाको कुल लागत १ अर्ब ४५ करोड ९ लाख ५९ हजार १५६ रुपैयाँ र प्रतिमेगावाट लागत १६ करोड ८१ लाख २९ हजार ६८२ रुपैयाँ रहेको छ। २०७६ मङ्सिर १६ गते विद्युत् उत्पादन अनुमति पाएको यो आयोजनाबाट २०७९ असोज १६ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन भइरहेको छ। यसको विद्युत् उत्पादन अनुमति २८.२२ वर्ष बाँकी रहेको जनाइएको छ भने साधारण लगानी फिर्ता अवधि ४.६६ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता अवधि ५.८६ वर्ष छ।
त्यस्तै, निर्माणधीन अवस्थामा रहेको २ मेगावाट क्षमताको चेपे खोला क्यास्केड जलविद्युत् आयोजनाको कुल लागत ४३ करोड ४० लाख रुपैयाँ र प्रतिमेगावाट लागत २१ करोड ७० लाख रुपैयाँ छ। २०८१ कात्तिक १४ गते विद्युत् अनुमति प्राप्त गरेको यो आयोजनाको अनुमति अवधि ३३.१२ वर्ष बाँकी छ। यसको साधारण लगानी फिर्ता अवधि ७.९० वर्ष र डिस्काउन्टमा लगानी फिर्ता अवधि १२.४७ वर्ष रहेको छ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा स्वीकृति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय, आयोजना कार्यालय, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, हिमालयन बैंकको गौँडा शाखा, राष्ट्रिय वाणिज्य बैंकको भच्चेक शाखा तथा एनएमबि बैंकको बेँसीसहर शाखाबाट आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाका साथै ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




