
काठमाडौं, ३ मंसिर । नेपाल दूरसञ्चार प्राधिकरणले लामो समयदेखि रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) बापतको बक्यौता रकम नबुझाउने २० वटा इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायकलाई १५ दिनभित्र रकम चुक्ता गर्न अन्तिम अल्टिमेटम दिएको छ।
प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले सोमबार (२०८१ मंसिर ३ गते) एक सार्वजनिक सूचना जारी गर्दै तोकिएको म्यादभित्र बक्यौता रकम दाखिला नगरे अनुमतिपत्र (लाइसेन्स) खारेजीको प्रक्रिया अघि बढाउने चेतावनी दिएको हो।
प्राधिकरणका अनुसार ती सेवा प्रदायकहरूले नेपाल सरकार तथा प्राधिकरणलाई नियमानुसार बुझाउनुपर्ने रोयल्टी, आरटीडीएफ रकम र त्यसमा लाग्ने थप दस्तुर तथा जरिवाना लामो समयदेखि तिरेका छैनन्। बक्यौता रकम बाँकी रहेकै कारण ती कम्पनीहरूको अनुमतिपत्रसमेत नवीकरण हुन सकेको छैन।
“तोकिएको समयावधिभित्र तिर्नु/बुझाउनुपर्ने बक्यौता रकम चुक्ता नगरेमा निज सेवा प्रदायकहरूको अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम खारेजी प्रक्रिया अगाडि बढाइनेछ,” प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ, “साथै, बाँकी बक्यौता रकम प्रचलित कानुन बमोजिम असुल उपर गरिनेछ।”
यसैबीच, प्राधिकरणले आम उपभोक्तालाई समेत सचेत गराउँदै अनुमतिपत्र नवीकरण भएका वैध सेवा प्रदायकहरूबाट मात्र दूरसञ्चार तथा इन्टरनेट सेवा खरिद गरी प्रयोग गर्न आग्रह गरेको छ।
कारबाही सूचीमा परेका २० सेवा प्रदायकहरू: प्राधिकरणको चेतावनी सूचीमा देशका ठूला तथा पुराना इन्टरनेट सेवा प्रदायक कम्पनीहरूसमेत परेका छन्। बक्यौता नबुझाउने कम्पनीहरूको विवरण यसप्रकार छ:
१. क्लासिक टेक प्रा.लि. (नयाँ बानेश्वर, काठमाडौँ) २. वेब सर्फर नेपाल कम्युनिकेसन्स सिस्टम प्रा.लि. (धुम्बाराही, काठमाडौँ) ३. ब्रोडलिङ्क नेटवर्क एन्ड कम्युनिकेसन लिमिटेड (सानेपा, ललितपुर) ४. मर्कन्टाइल कम्युनिकेसन प्रा.लि. (दरबारमार्ग, काठमाडौँ) ५. टेकमाइन्ड्स नेटवर्क लिमिटेड (भरतपुर, चितवन) ६. एरोनेट प्रा.लि. (त्रिपुरेश्वर, काठमाडौँ) ७. पोखरा इन्टरनेट प्रा.लि. (गैरापाटन, पोखरा) ८. एलिशा कम्युनिकेसन लिंक प्रा.लि. (बछौली, चितवन) ९. कम्युनिकेसन एन्ड कम्युनिकेट नेपाल प्रा.लि. (जावलाखेल, ललितपुर) १०. एभरेष्ट वायरलेस नेटवर्क प्रा.लि. (नारायण नगरपालिका, दैलेख) ११. जी.आर.एस. लिङ्क इन्टरनेट सर्भिस प्रा.लि. (व्यास नगरपालिका, तनहुँ) १२. आई. जोन प्रा.लि. (उर्लाबारी, मोरङ) १३. कालिका नेट प्रा.लि. (चापाकोट, स्याङ्जा) १४. खप्तड नेट प्रा.लि. (मंगलसेन, अछाम) १५. कनेक्ट नेपाल नेटवर्क्स प्रा.लि. (थसिखेल, ललितपुर) १६. नेक्स्ट गिकर्स प्रा.लि. (काठमाडौँ-२९) १७. नुम्बुर नेटवर्क प्रा.लि. (काठमाडौँ-७) १८. सांग्रिला इन्फर्मेटिक्स प्रा.लि. (अनामनगर, काठमाडौँ) १९. सुपर सीतापाइला केबल नेट प्रा.लि. (नागार्जुन, काठमाडौँ) २०. अल्ट्रानेट कम्युनिकेसन प्रा.लि. (बनेपा, काभ्रेपलाञ्चोक)








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




