
काठमाडौं, २५ मंसिर । ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइ ओभरको काम शुरु भएको छ । काम शुरु गर्ने पक्का भएपछि केही दिन अघिबाटै त्यहाँको सवारी रुट व्यवस्थापन गर्दा ट्राफिक जाम बढ्न थालेको छ । चक्रपथको व्यस्त भागमध्ये एउटा पर्ने भएकाले पनि सडकमा हुने ट्राफिक जामले यात्रुलाई हैरानी दिइरहेको छ । छिटोमा १४ महिनामा निर्माणकार्य सकिने भनिएकाले यो जाम कम्तीमा १४ महिना रहने आकलन गर्न सकिन्छ ।
१४ महिनाभित्र सक्ने लक्ष्यका साथ आयोजनाको ठेक्का पाएको आरसी, समानान्तर र रेलिग्रेले गत शुक्रबारदेखि फ्लाइओभर निर्माणको काम शुरू गरेका हुन् । ठेकेदार कम्पनीका अनुसार फ्लाइ ओभर निर्माणका लागि डिजाइन लगायतका अन्य आवश्यक पूर्वतयारी भइसकेको छ । चक्रपथ बिस्तार आयोजनाअन्तर्गत विस्तारित सडक खण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने तीन क्षेत्रमा फ्लाइओभर निर्माण गरिने र हाल पहिलो चरणमा ग्वार्को चोकमा फ्लाइओभर निर्माण गरिन लागेको हो ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिने फ्लाइओभरको उचाई ६ मिटर हुनेछ । कुल ४५५ मिटरको लम्बाइ हुने फ्लाइओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाइओभरमा सवारी साधन चढ्नका लागि १८० मिटर दायाँतर्फ र ११० मिटर बायाँतर्फ र्याम्प निर्माण गरिने बताइएको छ ।
काठमाडौंको धेरै सवारी जाम हुने क्षेत्रमध्ये ग्वार्को पनि एक भएकाले फ्लाइ ओभर निर्माण शुरु भएसँगै यातायात सञ्चालनका लागि वैकल्पिक व्यवस्था गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही मंसिर २३ गते बिहान ६ बजेदेखि निर्माण कार्य सम्पन्न नभएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, माहलबाहक तथा दुईपाङ्ग्रे सवारी साधनहरूलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनहरूलाई फास्ट ट्रयाकबाट चलाइने व्यवस्था गरेको छ ।
यसैगरी कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारी साधनलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाइने व्यवस्था मिलाइएको छ । बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने यात्रुबाहक, माहलबाहक तथा दुईपाँग्रे सवारी साधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनलाई फास्ट ट्रयाकबाट सञ्चालन गरिने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




