वर्षौंदेखि रोकिएका योजना तत्काल अगाडि बढाउन मेयर सिंहको निर्देशन

-



     सफल आवाज    
     मंसिर २७ गते २०७९ मा प्रकाशित



वीरगञ्ज, २७ मंसिर । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले आफ्नो क्षेत्रभित्र विभिन्न निकाय र कार्यालयद्वारा लगाइएका ठेक्काहरुको योजनाको निर्माण कार्य तत्काल सुचारु गर्न निर्देशन दिएका छन् । सोमबार महानगरमा सघन शहरी विकास आयोजना, सिँचाई विकास डिभिजन, नारायणी सिँचाई व्यवस्थापन कार्यालय, स्वच्छन्द, युनाइटेड, विकास एण्ड ब्रदर्स र पप्पु कन्सट्रक्सनका प्रतिनिधि, वडा अध्यक्षहरु तथा महानगरका प्राविधिकहरु सहभागी भएको बैठकमा प्रमुख सिंहले यस्तो निर्देशन दिएका हुन् ।

ठेक्का सकार गरेर वर्षौंसम्म काम नगर्ने परिपाटी महानगरमा अब नचल्ने भन्दै सिंहले काम शुरु गरेपछि समयमै सम्पन्न हुनुपर्ने बताए । ठेकेदारले ठेक्का सकार गर्ने र मोबिलाइजेशन बापतको रकम भुक्तानी लिएपछि वर्षौंसम्म काम नगर्ने परिपाटीले नागरिकले दुख पाउँदै आएका भन्दै एक महिना भित्रमा ठेकेदारले सन्तोषजनक कार्य प्रगति नदेखाएमा कानुन बमोजिम कारबाही गरिने उनले चेतावनी दिए । खासगरी पप्पु कन्सट्रक्सनले धेरै ठेक्काहरुमा जनतालाई दुख दिएको भन्दै प्रमुख सिंहले अब पनि पप्पुले आफ्नो जिम्मेवारी पुरा नगरे नगरवासीलाई लिएर उनको घर घेर्ने चेतावनीसमेत दिए ।

महानगर क्षेत्रभित्र भौतिक योजना निर्माणको काम गर्नुपर्दा महानगरसँग समन्वय र पूर्व स्वीकृति लिएर मात्र योजना अगाडि बढाउन सिंहले निर्देशन दिए । बैठकमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, सघन शहरी विकास आयोजनाका प्रमुख झपट बहादुर थापा, सिँचाई विकास डिभिजन वीरगञ्जका प्रमुख श्याम किशोर साफी, नारायणी सिँचाई व्यवस्थापन कार्यालय वीरगञ्जका प्रतिनिधि अखलाक सिद्दिकी, पप्पु कन्सट्रक्सनका प्रतिनिधि बिजसवा अब्राहम, वडाध्यक्ष रामकिशोर सिंह पराग, पूर्वाधार महाशाखा प्रमुख राजेश चौरसिया र भरत थापा लगायतको सहभागिता रहेको थियो ।