याडियाले सार्वजनिक गर्यो विद्युतीय मोटरसाइकल

-



     सफल आवाज    
     पौष ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ पुस । विद्युतीय स्कुटर निर्माता कम्पनी याडियाले अब विद्युतीय मोटरसाइकल पनि उपलब्ध गराउने भएको छ । कम्पनीले हालै इटलीको मिलानमा भइरहेको ९इआईसीएमए० अटो शोमा आफ्नो पहिलो विद्युतीय मोटरसाइकल प्रदर्शन गरेको छ । याडियाले प्रदर्शन गरेको यो मोटरसाइकल नेकेड स्पोर्टस डिजाइनमा रहेको छ ।

कम्पनीले ‘याडिया भीएफडी’ नाम दिएको यो विद्युतीय मोटरिसाइकलमा ५.५ किलोवाट रेटेड र १० किलोवाट पिक पावर क्षमताको मोटर दिएको जनाएको छ । यो मोटरले २८० एनएम टर्क जेनेरेट गर्ने र मोटरसाइकलको टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघण्टा रहेको कम्पनीको दावी छ । यसले शून्यदेखि ५० को गति ४ सेकेन्डमा पूरा गर्ने बताइएको छ ।

याडियाले यो मोटरसाइकलमा ७२ भोल्ट ३२ एम्पीयर आवरको दुई लिथियम आयन ब्याट्री प्याक जडान गरेको छ । यसलाई एकपटक फुलचार्ज गरेर १४० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको भनाइ छ ।

यो मोटरसाइकलको अगाडिपट्टि इन्भर्टेड र रियरमा मोनेशक सस्पेन्सन दिइएको छ । यसैगरी अगाडि रर पछाडिको दुवै चक्कामा डिस्क ब्रेकका साथ एबीएस तथा सीबीएस दुवै सुरक्षा फिचर दिएको छ ।