लिटरेचर फेस्टिभलमा नेपालका फिल्म समीक्षकमाथि समीक्षा

-



     सफल आवाज    
     पौष ११ गते २०७९ मा प्रकाशित



पोखरा, ११ पुस । पोखरामा जारी १०औं नेपाल लिटरेचर फेस्टिभलको सेसन ‘फिल्म समीक्षकको समीक्षक’ सेसनमा फिल्म समीक्षाबारे बहस भएको छ । बहसमा अभिनेत्री स्वस्तिमा खड्का, फिल्म समीक्षक अनुप सुवेदी र फिल्म निर्देशक दीपेन्द्र लामा थिए। समीक्षक सुरज सुवेदी कार्यक्रमका सहजकर्ता थिए ।

फिल्म समीक्षा नेपालमा किन सुध्रेन र विश्वसनीय भएन भन्नेबारे छलफल भएको थियो। मिडिया हाउसले समीक्षामाथि लगानी नगर्नुले समीक्षामा सुधार नआएको वक्ताहरूले बताए ।

छलफलमा नायिका खड्काले फिल्ममेकरहरूले समीक्षालाई नस्विकार्ने बताइन् । तर उनी आफूले रोज्ने फिल्म, निर्देशकको छनोट र टिममा गर्ने कामलाई समीक्षाले योगदान गरेको बताउँछिन् । ‘तर समीक्षकले रुचाएको फिल्म आममासले रुचाउँदैन, फिल्म लिट्रेसी भएका दर्शकले रुचाएका कतिपय फिल्म आममासले रुचाउँदैन,’ उनको बुझाइ छ ।

अनुप सुवेदी फिल्म समीक्षक आम दर्शक भन्दा बढी बुझेको हुनुपर्ने विचार व्यक्त गरे । उनले दर्शकलाई ‘कन्भिन्स्ड’ गर्नसक्ने तर्क समीक्षकमा हुनुपर्ने बताए । तर समीक्षकको विश्वसनीयतामाथि दर्शकमा प्रश्न उठिरहने गर्छ । कारण के त? ‘एउटा समीक्षकेले पत्रकारिता गर्नुपर्छ, अन्तर्वार्ता गर्नुपर्छ । अनि समीक्षा पनि गर्नुपर्छ । यदि पाठकले त्यो समीक्षकलाई विश्वास गर्छ भने घात पनि गर्नुभएन नि,’ दीपेन्द्रले भने ।

नायिका खड्‍काले समीक्षामा विश्वसनीयता कम भएको भाव प्रकट गरिन् । ‘एउटा पत्रकारले शनिबार गसिप र आइतबार समीक्षा गरिरहेको हुन्छ भने समीक्षा कस्तो लेखिरहेको हुन्छ त? मैले यसको अनुभूत गरेको छु,’ खड्काले भनिन् ।

सुबेदीले समीक्षक पाठकप्रति उत्तरदायी हुनुपर्ने बताए । उनले नेपालका समीक्षकले समीक्षामा फिल्म निर्देशकलाई सिकाइरहेको पाएको बताए । ‘समीक्षकले त पाठकलाई सचेत गराउने हो नि । तर मेकरलाई सिकाइरहेको पाइन्छ,’ उनले भने ।

सुबेदीले अहिलेको समीक्षा कथासारजस्ता मात्र भएको बताए । ‘कथासार लेख्यो, यसले राम्रो गर्यो, यसले गरेन भन्नेमात्र छ । किन राम्रो गर्यो किन गरेन भन्ने तर्क आउन्नन् । त्यसको डिटेलिङ छैन । हाम्रो समीक्षकले फिल्म भनेको कथामात्र हैन, अरु कुरा पनि हो भनेर नबुझेको हो कि,’ उनले थपे ।

लामाले नेपालमा फिल्म समीक्षा एकदमै न्यून भएको पाएको बताए । ‘संख्यात्मक रुपमा समीक्षा दयनीय अवस्थामा रहेको उनको भनाइ थियो । सम्पादकले प्राथमिकतामा नराखेर हो कि,’ उनले संशय प्रकट गरे । समीक्षकको स्तर बढिदिए हुन्थ्यो भन्ने अपेक्षा थियो उनको । ‘कमजोरी एकातिर छ, नचाहिने कुरामा समीक्षा घुमिरहेको छ,’ उनले भने ।

नेपालमा ‘पेइड रिभ्यू’को ‘ट्रेन्ड’बारे पनि दीपेन्द्रले बताए । ‘नेपालमा पेड रिभ्युको चलन छ । विज्ञापन राम्रो छ भने त्यो अनलाइनले राम्रो लेखिदिन्छ । यदि विज्ञापन दिएन भने उसले आफ्नो अनलाइनलाई समीक्षा त लेख्छ लेख्छ । फिल्म नै पूरा नहेरी लेख्छ,’ उनले गुनासो गरे ।