मेगा बैंकले पायो इन्भेष्टमेन्टसँग गाभिने अन्तिम स्वीकृति

-



     सफल आवाज    
     पौष २० गते २०७९ मा प्रकाशित



काठमाडौं,  २० पुस । नेपाल इन्भेष्टमेन्ट बैंकसँग गाभिने सम्झौता गरेको मेगा बैंकलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । गएको जेठ मसान्तमा नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्झौता गरेको बैंकले पुसभित्रै एकीकृत कारोबारको तयारी गरेकोमा मंगलबार राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको हो ।

यी दुई बैंक एक आपसमा गाभिएपछि इन्भेष्टमेन्ट मेगा बैंक बन्ने र स्वाप रेसियो भने नेपाल इन्भेष्टमेन्टको १ बराबर ०.९ रहने सहमतिसहितको सम्झौता भएको हो । एक आपसमा गाभिएपछि नयाँ बन्ने इन्भेष्टमेन्ट मेगा बैंकको चुक्ता पुँजी ३२ अर्बभन्दा बढी हुने बताइको छ । गाभिनुपूर्व अहिलेसम्म नेपाल इन्भेष्टमेन्टको चुक्ता पुँजी १८ अर्ब ३० करोड र मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकले पुसभित्र एकीकृत कारोबार गरिसक्ने बैंकलाई सहुलियत सुविधा प्रदान गर्ने व्यवस्था गरेको छ । यसै हिसाबले पनि मर्जरका लागि सम्झौता गरेका बैंकहरुलाई तोकिएको समयमै एकीकृत कारोबार शुरु गरिसक्नुपर्ने दबाब छ । मौद्रिक नीति अनुसार पुसभित्र कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुले छुट सुविधाहरु पाउने र नसक्नेले यस्ता सुविधा नपाउने उल्लेख छ ।

नेपाल इन्भेष्टमेन्ट र मेगाबाहेक प्रभु र सेन्चुरी बैंकले पनि मर्जरका लागि अन्तिम स्वीकृति पाइसकेका छन् । यसैगरी सिभिल र हिमालयन बैंक पनि एकीकृत कारोबारको तयारीमा जुटेका छन् । साथै  ग्लोबल आइएमई र बीओकेले एकीकृत कारोबारको मिति तोकिसकेका छन । मर्जरमा गएका कुमारी र एनसीसीले भने गत पुस १७ गतेदेखि एकीकृत कारोबार शुरु गरिसकेका छन् ।