सुपर मादी हाइड्रोले माघ ९ देखि आईपीओ जारी गर्ने

-



     सफल आवाज    
     पौष २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ पुस । सुपर मादी हाइड्रोले माघ ९ गतेदेखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ । अब भने सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिने भएको हो ।

कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात् २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न छुट्याएकोमा २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि र १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिएको छ । यसबाहेक ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी १७ लाख ४३ हजार कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

सो आईपीओमा लगानीकर्ताले माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि माघ २३ गतेसम्म बढाइनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता तथा अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सकिनेछ ।

कम्पनीले कास्कीको मादी गाउँपालिकाको सिमाना भएर बग्ने मादी नदीको बहाव सदुपयोग हुने गरी ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको अनुमानित लागत ८ अर्ब ३५ करोड रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत १८ करोड ९७ लाख ७२ हजार रुपैयाँ रहेको छ ।