भारतमा किन घट्यो टाटा नेक्सन ईभीको मूल्य ?

-



     सफल आवाज    
     माघ ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ माघ । टाटा नेक्सन ईभीको मूल्य भारतमा घटेको छ । कम्पनीले यो मोडेलका गाडीमा एकै पटक ८५ हजार भारतीय रुपैयाँसम्मले कटौती गरेको पाइएको छ । यो मोडलका विभिन्न भेरियन्टमा कम्तीमा ३१ हजारदेखि बढीमा ८५ हजार भारुसम्म मूल्य कटौती गरिएको हो ।

यसरी एकैपटकमा यति धेरै रकम घटाउनुमा यस अघि महिन्द्राले एक्सयूभी ४०० सार्वजनिक गर्नुसँग जोडेर हेरिएको छ । टाटाको म्याक्स मोडलको प्रतिस्पर्धी एक्स्यूभी ४०० को मूल्य अझै पनि नेक्सनको भन्दा कम छ । प्रतिस्पर्धामा टिकिराख्न कम्पनीले यस्तो रणनीति अपनाएको बुझिएको छ ।

गत वर्ष टाटाले ५० हजार यूनिट नेक्सन ईभी बिक्री गरेको थियो । कम्पनीले यो आँकडा सन् २०२३ मा दोब्बर बनाउने लक्ष्य लिएको छ । सोही योजना अनुसार अन्य प्रतिस्पर्धीले आफ्नो लक्ष्यमा असर नपारोस् भन्ने उद्देश्यले कम्पनीले मूल्यमा कटौती गरेको हो ।

पहिलेको मूल्य अनुसार नेक्सन ईभी प्राइम मोडल र एक्सयूभी ४०० बीच १ लाख भारुको मात्रै अन्तर थियो । अहिले भने प्राइम मोडल कम्तीमा १ लाख ५० हजार भारतीय रुपैयाँको अन्तर कायम भएको छ । यसबाट नेक्सन ईभीको बिक्रीलाई बढ्ने कम्पनीको विश्वास छ ।

स्टायडर्ड ९प्राइम० मोडलको एक्सएम भेरियन्टको मूल्य १४ लाख ९९ हजारबाट घटेर १४ लाख ४९ हजार कायम भएको छ । एक्स्जेड प्लस भेरियन्टको मूल्य १६ लाख ३० हजारबाट घटाएर १५ लाख ९९ हजार र एक्सजेड प्लस लग्जरीको मूल्य १७ लाख ३० हजारबाट घटेर १६ लाख ९९ हजार भरतीय रुपैयाँ तोकिएको छ ।

यस्तै म्याक्स मोडलको एक्सएमको मूल्य १६ लाख ४९ हजार यथावत छ भने एक्सजेड प्लस ३.३ किलोवाट अनबोर्ड चार्जर भेरियन्टमा ८५ हजार घटेर १८ लाख ३४ भारुमा आएको छ । अनबोर्ड चार्जरयुक्त एक्स्जेड प्लस लग्जरी भेरियन्टमा पनि ८५ हजारले मूल्य घटेर १८ लाख ४९ हजारमा झारिएको छ ।

यसबाहेक कम्पनीले अनबोर्ड चार्जर ७.२ किलोवाट रहेको म्याक्स मोडलको एक्सएम भेरियन्टको मूल्य १६ लाख ९९ हजारमा घटबढ गरेको छैन । एक्सजेड प्लस भेरियन्टको मूल्य ८५ हजार रुपैयाँले घटाएर १७ लाख ९९ हजार र एक्सजेड प्लस लग्जरी भेरियन्टको मूल्य पनि समान ८५ हजारले घटाएर १८ लाख ९९ हजार रुपैयाँमा झारिएको छ ।