नाडाले गर्यो नगद मार्जिन हटाउने सरकारको निर्णयको स्वागत

-



     सफल आवाज    
     माघ ८ गते २०७९ मा प्रकाशित



काठमाडौं, ८ माघ । राष्ट्र बैंकले गरेको आयातमा अनिवार्य नगद मार्जिन हटाउने निर्णयलाई नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले स्वागत गरेको छ । नाडाले एक विज्ञप्ति प्रकाशित गरी नेपाल राष्ट्र बैंकले गरेको उक्त निर्णय स्वागतयोग्य रहेको जनाएको हो ।

विगत १३ महिनादेखि लागू हुँदै आएको सवारी साधन तथा विभिन्न अटोमोबाइलसम्बन्धी वस्तुहरूको आयातमा एलसी खोल्दा अनिवार्य नगद मार्जिन राख्नु पर्ने व्यवस्थालाई केन्द्रिय बैंकले गत बिहीबार हटाउने निर्णय गरेको थियो । यसअघि सरकारले निजी प्रयोजनका डिजेल र पेट्रोलबाट चल्ने कार जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध पनि फुकुवा गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकले गरेको यो निर्णयले अटोमोबाइल लगायतका व्यवसायहरूमा धेरै हदसम्म सकारात्मक प्रभाव पार्ने देखिएको नाडाका अध्यक्ष ध्रुब थापाले बताए ।

तर नाडाले राखेको अटो लोन, हायर पर्चेज कर्जामा जोखिम भारलाई ७५ प्रतिशत नै कायम गर्ने, बैंकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रक्रिया, लोन टु भ्यालु रेसियोको हालको सीमाबाट वृद्धि गरिनु पर्ने लगायतका महत्वपूर्ण विषयहरूमा सम्बोधन नभएसम्म नेपालको अटोमोबाइल व्यवसाय चलायमान हुन नसक्ने अध्यक्ष थापाको भनाइ छ ।

यसैगरी नाडा अध्यक्ष थापाले चालु पुँजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यवहारिक बुँदाहरूलाई समेत तत्कालै संशोधन गर्न राष्ट्र बैंकसँग आग्रह गरिएको जनाएका छन् ।